कृष्ण प्रधान ।।
बिहेबटुल, मेलापात, पूजाआजा, सांस्कृतिक तथा साहित्यिक कार्यक्रममा, जनसभा, जुलुस, मरौपरौका घरमा राती रुङ्न जाँदाको समय भेटघाट । परिचय आदानप्रदान । मुस्कानको भाषामा प्रतीकात्मक सङ्केतको आरोहण–अवरोहण । लभको क्रिचमा ब्याटिङ–बलिङ । सामिप्यको स्कोर बढेपछि एकान्तमा मिठाइलो भेटघाट । कहिले सिनेमा, कहिले फूलबारी, कहिलेकाहिँ त सुनसान फारसभित्र भेटेर लम्बेतान कुराकानी । हात समातासमात । आरम्भमा कुरीकुरी, विस्तारै टेसिलो ठुस्काठुस्की । दुई हृदय एक भएपछि ढ्याङ, अर्थात् जीवनसाथी कन्फम्र्ड । मनपर्दो जीवनसाथी फेला परेपछि साइसुत्तै कुम्लोकुटुरो पोको पारी सुइँकुच्चा ठोकी बिहे गर्ने आधुनिक ढाँचालाई “भागी बिहे” भन्नु नै न्यानो सुनिन्छ ।
म्यारेजलाई साधारणतः तीन भागमा बाँडिएको पाइन्छ– (क) कन्ट्याक्ट म्यारेज, (ख) लभम्यारेज, अनि (ग) लन्ट्याक म्यारेज ।
भागीबिहेलाई लभम्यारेज भन्दा जिब्रोलाई स्वाद परेजस्तै ‘मागीबिहे’ लाई पनि कन्ट्याक्ट म्यारेज वा एरेन्ज म्यारेज भन्नु नै स्वादिलो वा टेसिलो लाग्छ । परम्परागत संस्कृतिकै आधारमा कन्ट्याक्ट म्यारेज वा एरेन्ज म्यारेज गरिन्छ । यस्ता खाले म्यारेजमा कर्मकाण्ड, पूजापाठ सबै नै नियमपूर्वक पालन गरिन्छ । एरेन्ज म्यारेज वा कन्ट्याक्ट म्यारेज विस्तारै आरम्भ हुन्छ भने लभम्यारेजमा प्रणयकाण्डको च्याप्टर कुम्लोकुटुरो पोको पारी सुइँकुच्चा ठोकेकै दिन क्लोज्ड हुन्छ र ठाटाकठुटुक काण्ड बामे सर्न थाल्छ ।
तेस्रो वा अन्तिम म्यारेज हो– लन्ट्याक म्यारेज । सामान्य हेराहेर वा देखादेख भएपछि सबै कुरा एक मिलिकमै ठामठिम भइहाल्ने खालको लन्ट्याक म्यारेजलाई उत्तरआधुनिक विवाहकै श्रेणीमा ढुक्कैले राख्दा हुन्छ । लन्ट्याक म्यारेजमा झ्याइँझ्याइँ बाजागाजा बजाउने, जन्तीको लावालस्कर लाने न झ्याउला हुन्छ, न कुनै कर्मकाण्डकै लन्ठा । दसैँकै दिन टीका सँगसँगै टीकाटालो पनि । एउटै ढुङ्गाले दुई वटा चरोढ्याङ । साँप पनि ठहरै लट्ठी पनि जस्ताको त्यस्तै । एक पन्थ दुइ काज ।
चितायो कि बितायो भन्ने खालको यस्तो म्यारेजमा कुनै मन्दिर गई पुरोहितलाई वकिलको रूपमा उभ्याई बरपिपलको रुखलाई साक्षी राखी सिउँदोमा सिन्दुर हालेपछि लन्ठैसाफ । बाबुआमा पनि लन्ठामुक्त । लन्ट्याक म्यारिजमा दसैँटीका पनि टीकाटालो पनि एकैखेपा ठामठिम गर्ने परम्परालाई बाटो खोलिएको भनिन्छ । घरकालाई कुनै लन्ठामा नपारी लन्ट्याक म्यारेजको उत्तरआधुनिक परम्परा सम्हाल्ने बुझेकी छोरीको निम्ति दसैँकै टीकाटालोमार्फत् मन्जुरी भएको गेटपास हो यो, लन्ट्याक म्यारेज ।
एरेन्ज होस् या कन्ट्याक्ट, लभ होस् वा लन्ट्याक म्यारेज—यीमघ्ये जुनसुकै म्यारेजको निम्ति सबैलाई केही न केही मात्रामा छुट छ । घरबाट उचित अनुमति होस् वा नहोस् पर्वाह छैन । “गधे से दिल लगी तो परी क्या चिज है ?” अब गुँदजस्तो टाँसियो–टाँसियो । दश वटा हात्तीले त्यो छुट्याउन सक्तैनन् भने मान्छे मुलाले के ताछ्ला र ?
आदिकवि भानुभक्त आचार्यले त्यसै भनेका छैनन्–
“जब खारेको प्रेमको गुँदले
एक बनी दुई टाँसिन्छन् ।
तब मृत्यु त के
मृत्युञ्जयले पनि त्यो छुट्याउन सक्तैनन् ।”
आरम्भमा सामान्य गन्जागोल भए पनि सबै ठामठिम भइहाल्ने कुरा हुन् । सबै कुरा ठामठिम भइसकेपछि ग्रान्डपार्टी गरिनुपर्ने परम्परा हामी सबै गोर्खेले मात्र जानेका छौँ ।
लन्ट्याक म्यारेज पार्टीको नालीबेला पनि केलाइराखुँ क्यारे !
भाडामा लिएको विशाल बन्क्वेट हल वा गाउँकै कम्युनिटी हल अथवा समाजघरमा वा घरकै आँगनमा मानिसहरू ग्वारग्वार्ती आएर घुइँचो बनाएकाले एउटा तोरीको गेडो पस्ने ठाउँ छैन । बारीको छेउमा बनाइएको बारको छेउमा गाउँका ठुलाबडाहरू ठेलमठेल, भुरालाई कुनै चान्स छैन । कसैले फोल्डिङ छाता, कसैले सलवार कुर्ताको पिस, कसैले प्रेसर कुकर, कसैले ननस्टिक प्यान त कसैले चारानीभरिको फुली नववधुको सुकोमल हातमा आशीर्वादसहित प्रदान गरेको दृश्य इष्र्यापूर्ण देखिन्छ । कानको जाली फुटाउले आवाजमा बक्स आफ्नै धुनमा एक्लै फलाकिरहेछ । क्याटररहरू टाइसुटमा आमन्त्रित अतिथिको माझबाट स्वेटर बुन्ने धागोको काँटाजस्तै छिरेर वल्लो छेउ र पल्लो छेउ पेट्रोलिङ गरिरहेछन् । आवश्यकतानुसार हातको ट्रे टाउको माथि माथिबाट पास गर्दै छन्; मानौँ, स्कुलको वार्षिक खेलकुद प्रतियोगितामा अभिभावक र आमन्त्रित अतिथिले पासिङ द पार्सल खेलेजस्तो ।
तरुणीहरू इत्रिँदै, मस्किँदै, लच्किँदै ग्वारग्वार्ती आइरहेछन् । सबैको ओठ रङ्गिएका छन् । मैनबत्तीले पालिस गरेजस्तो चिल्लो काठजस्तो मुहार । स्टाइल स्टाइलको साडी पहिरिएका एक हुल आइमाई मानिसको आगमन । ब्लाउज उस्तै, रुमाललाई पनि जिताउने खालको । कतिको त अदृश्य ब्लाउज । कुनै कुनै ब्लाउजको अघिल्तिरका दृश्य देख्दा पुरुषको टाउको सिग्नल डाउन नभई उपाय छैन ।
नामै नसुनिएको, नदेखिएको कपडा पहिरिएकी अर्का हुल तरुणीहरूको दृश्य फेरि अर्कै छ नाराण ! कसैले हिप हरिङ त कसैले ब्रेस्ट प्रोमोटिङ । एउटी युवतीले पाइजामाजस्तै कपडा पहिरिएकी दृश्य उदेकलाग्दो देखिँदै छ । फेदतिर र्याल्र्याल गरी काटिएको । अचानक हेर्दा कसैले छुराले चिरेकोजस्तो । यो बटम (फेद) हो, अनि टप (माथिल्लो) चाहिँ सिल्कको स्यान्डो भेस्ट ।
एक जनाले भनिहालिन्– “क्या राम्रो क्लाउन कट् लाएकी हो’ कि ‘बैंसको डिलमा पुगेका यी युवतीहरू सबै लन्ट्याक म्यारेजकै उम्मेदवार हुनका निम्ति पार्टीमा आएका हुन् भन्दा सानो मुख, ठुलो कुरा नहोला कि !”
पार्टीमा आएका बुढाबुढीदेखि भुराभुरीसमेतका आँखा ती युवतीमाथि नै विचरण गरे तापनि बुढीहरू लाजले टाउको निहुराउँछन् । युग बदलिसकेको छ ।
एक जनाको जिज्ञासा “यो केटी कसकी छोरी हुन् ?”
“फलानुकी छोरी ।”
“केटीहरू गतिलो स्पिडले बढ्छन् ।”
“कता ?”
“त्यो म भन्दिनँ, भन्न सक्तिनँ ।”
“ऊ त्यो रातो भेस्ट लाउने केटोचाहिँ को हुन् फेरि ? बाँदरजस्तो निक्कै पो उफ्रिँदैछन् त, हँ मोरो !”
भिडियोग्राफर उस्तै व्यस्त । तरुणीहरूकै भिडमा मात्र क्यामेरा विचरण गरिरहेछ । भन्नु केही छैन, लन्ट्याक म्यारेजकै उम्मेदवारलाई आफ्नो क्यामेरामा बन्दी बनाउने प्रयास गरेका हुन् कि ? ठेगान छैन ।
लन्ट्याक म्यारेजको सफल उम्मेदवार अर्थात् नववधु डेकोरेटेड चेयरमा फूलैफूलले सिँगारिएर गजधम्म बसेकी छन् । शरीरका चारैतिर झिँगा र मौरी निष्फिक्री घुमिरहेछन् । बेहुली सजाउने कम्पनीले पाँच घण्टासम्म समयका साथै परिश्रम फुर्मास गरेको स्पष्टै देखिँदै छ । केशराशीमा पाँच पल्टसम्म स्याम्पु, दुई बोतल पफ्र्युम, ओठमा एउटा सिङ्गै लिपिस्टिक खर्च गरेकोजस्तो छ्याङ्ङै देखिँदै छ । आँखाका चारैतिर कुनाकाप्चामा आइलिनर, आइसेडो, आइब्रो, गाजलले पनि नपुगेर फेभरिक कलर मिहिनृत गरेर खर्च गरेजस्तो देखिन्छ ।
उपर्युक्त सिँगार सामग्रीको गठबन्धनले हो वा केले हो कुन्नि ! नववधु बेलाबखत उल्टी गर्लिन् गर्लिन्जस्तो वाक्वाक् गर्छिन् ।
यो दृश्य देखेर एक जना अनुभवी बुजुर्ग व्यक्तिले उनको मुख मेरो कानैमा अडेसाएर भने– “देख्नुभो ज्यू… देख्नुभो ? यो एड्भान्स्ड बुकिङको साइन हो ।”
मेरो मुख स्याउँस्याउँती चिलाइहाल्यो । प्वाक्कै बिचैमा बोलिदिएँ– “टू इन वान । एउटामा एउटा फ्री ।”
मेरो फिलामा हत्केला बजार्दै उनी बोले– “कुनै लन्ठाबेगरै साउँसुद एकै चोटि पाए के खोज्नु ? कुनै लन्ठा नहुने यस्तो म्यारेजलाई के भन्छ थाहा छ ज्यू ?”
“मलाई थाहा छैन” सुस्तरी बोलेँ म ।
ती बुजुर्ग व्यक्ति स्वर ठुलो पारी एकै सासमा बोलिपठाए– “लन्ट्याक म्यारेज…. !”
सिलगढी, उत्तर बङ्गाल (भारत)

