काठमाडौं । नेकपा (एमाले) का नेता तथा वागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
नेता चौलगाईंलाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादुर थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, एमाले वागमती प्रदेश संगठनका अध्यक्ष आनन्दप्रसाद पोखरेल, पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ, वागमती प्रदेशसभाका सदस्य रचना खड्कालगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
त्यसअघि आज बिहानै नेता चौलागाईंको पार्थिव शरीरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो भने पार्टीका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । कोरोना भाइरसको सङ्क्रमणबाट नेता चौलागाईंको मंगलबार निधन भएको थियो ।
नेकपा (एमाले) पोलिटब्यूरो सदस्य रहनुभएका चौलागाईं दोलखा (ख) बाट वागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नेता चौलागाईं २०५६ सालको निर्वाचनमा दोलखा–१ बाट निर्वाचित हुनुभएको थियो ।
त्यस्तै, २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक कोटाबाट सांसद हुनुभएको थियो । विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहनुभएका चौलागाईं निष्ठावान्, इमान्दार नेता हुनुहुन्थ्यो । उहाँको निधनले दोलखाका साथै सिङ्गो राष्ट्रले अपूरणीय क्षति व्यहोर्नु परेको एमाले वागमती प्रदेश सङ्गठनका अध्यक्ष पोखरेलले बताउनुभयो ।