काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलले प्रधानमन्त्रीसित प्रश्न गर्नुभएको छ– ‘के यो सदनको अन्तिम बैठक हो ?’
प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्नका लागि २०७८ वैशाख २७ गते आह्वान गरेको विशेष अधिवेशनमा मन्तव्य राख्दै उहाँले यस्तो प्रश्न राख्नुभएको हो ।
‘जनताले जताततै प्रश्न गरिरहेका छन्’ सांसद पौडेलले भन्नुभयो– ‘के यो सदनको अन्तिम अधिवेशन हो ? सम्माननीय प्रधानमन्त्रीले जवाफ दिनुपर्दछ ।’
उहाँले अगाडि भन्नुभयो– ‘यदि त्यस्तो भयो भने त्यो धेरै ठुलो राजनीतिक विडम्बना हुने छ† त्यसबाट ठुलो राजनीतिक क्षति हुने छ र जनताको राजनीतिक दलप्रतिको विश्वास उठ्ने छ ।’
सांसद पौडेलले राष्ट्रिय जनमोर्चाले पहिलेदेखि नै प्रधानमन्त्री ओलीले राजीनामा गरी तात्कालिक सङ्कट समाधानका लागि मार्गप्रशस्त गर्नुपर्ने माग राखेको स्मरण गर्नुभयो ।
‘हामीले भनिरहेका छौँ, सम्भव भएसम्म नेकपाका घटकमाझ पार्टीएकता होस्’ उहाँले भन्नुभयो– त्यस्तो गर्न सम्भव नभए मोर्चाबन्दी गरेर भए पनि वामपन्थी नेतृत्वको बनोस् ।’
उहाँले त्यस खालको सरकारको सम्भावना अहिले पनि यथावतै रहेको बताउनुभयो ।
यतिखेर देशमा १० मिनटअघि मात्र अक्सिजन पाए जिउज्यान जोगिने अवस्थामा जनता रहेका बेला देशमा सरकार परिवर्तनको खेल चल्नुलाई उहाँले विडम्बनापूर्ण परिघटना बताउनुभयो ।
‘यस्तो अवस्थामा सरकारले कोभिडको नियन्त्रणका लागि एकजुट हुनुपर्दथ्यो’ उहाँले भन्नुभयो– ‘सरकारले आम जनता र सबै पक्षसित कोभिडका विरुद्ध जुध्न आह्वान गर्नुपर्दथ्यो, तर त्यसो हुन सकेन ।’
राजमो सांसद पौडेलले राजनीतिक नेतृत्वले दूरदर्शी भएर काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले व्यक्तिगत वा गुटगट स्वार्थलाई भन्दा देश र जनताको हितलाई ध्यानमा राखेर सर्वोपरी ढङ्गले काम गर्नुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो ।
सम्बोधनको पूर्णपाठ
संसद विघटनपछि सर्वोच्च अदालतको फैसला अनुसार विघटित संसद पुनर्स्थापित भयो र संसद सुचारु भयो । तर धेरै सुचारु किसिमले सञ्चालन हुन सकेन । संसदलाई त्यो प्रकारको बिजनेस पनि आउन सकेन र जसरी यो संसदलाई गति दिनुपर्ने हो, सरकारले यतातिर ध्यान दिएको पनि देखिँदैन । सबैभन्दा जटिल कुरा अहिले पनि देशको अवस्था, अहिले संसदको अवस्था हेर्ने हो पनि सर्वोच्च अदालतले नै भन्यो यो असंवैधानिक हो भनेर ।
प्रधानमन्त्रीले आफ्नो आन्तरिक कलहलाई लिएर संसदको घाँटी निमोठ्ने काम गर्नुभयो । यस्तो दुर्घटना गराइयो । त्यो दुर्घटना पछि चौतर्फी आन्दोलन पनि भयो । यो असंवैधानिक कदम हो यो प्रजातान्त्रिक कदम हो । यो अलोकतान्त्रिक कदम हो । यसलाई हामीले चिरेरै जानुपर्छ भनेर जनमतको आवाज रह्यो । जसले गर्दा आज फेरि पनि दोस्रोपटक हामी संसदमा उपस्थित भएका छौं । अहिले स्थिति हेर्दै जाँदा कुनै एउटा पार्टीको बहुमत छैन जसले यो सरकारलाई बहुमत को आधारमा सरकार बनाउन सकुन् ।
तर राष्ट्रिय जनमोर्चाले धेरै पहिले एउटा सुझाव दिएको थियो स्वयं मैले सदनबाट नि भनेको थिएँ, अहिलेको अवस्थामा सबैभन्दा सहज उपाय भनेको प्रधानमन्त्रीजीले मार्गप्रशस्त गरिदिने र पुनः बाम पक्षहरूको एकतासहित सरकार बनाएर यसलाई अगाडि लैजाने । त्यो एकदम सहज प्रक्रिया थियो, सहज उपाय पनि हो ।
अहिले पनि राष्ट्रिय जनमोर्चाले भन्दै आएको छ यदि त्यो सम्भव हुन्छ भने त्यही गरेर जाँदा सबै भन्दा राम्रो हुन्छ । राष्ट्रको निम्ति र विधिको शासनको निम्ति एकदम सहज र उत्तम उपाय हो । यो उपायले व्यक्तिगतरुपमा कसैलाई क्षति हुनसक्छ । तर सामूहिकरुपमा धेरै सहज र एउटा लोकत्रान्त्रिक पद्धतिलाई जोगाउन यसले मार्ग प्रशस्त गर्छ । त्यसैले यदि सम्भव छ भने पार्टी एकता लाई पुनः कायम गर्न नसकेपनि एउटा मोर्चा बनाएर उहाँहरुले जान सक्नु भयो भने पनि र त्यसरी नै प्रधानमन्त्रीले एउटा मार्ग दिनुभयो भनेपनि उत्तम उपाय हुन्छ।
यदि हामीले लोकतान्त्रिक पद्धतिलाई जोगाउने हो भने यो असंवैधानिक कदमलाई रोक्ने हो भने अहिलेको सबैभन्दा उत्तम विकल्प भनेको राजीनामा नै हो । यतातिर किन जानु भएन भने यो कुरा प्रधानमन्त्रीलाई नै थाहा होला । हाम्रो सुझाव हाम्रो सल्ला अहिले पनि त्यही हो राष्ट्रिय जनमोर्चाले आफ्नो मत त्यही नै राखेको छ।
अहिलेको क्रमलाई हेर्दा देशको जटिल अवस्था भनेको कोरोना हो । मान्छेले अक्सिजन नपाएर धमाधम मरिरहेका छन् । यदि उसलाई ४–५ मिनेट पनि अगाडि अक्सिजन लगाएको भए उ बाँच्ने थियो होला । त्यत्रो खर्च लगाएर हेलिकप्टरमा हस्पिटल अगाडि पुर्याउने वित्तिकै मान्छेको मृत्यु भएको अवस्था छ । यति दर्दनाक अवस्था छ । हामीले ध्यान कतातिर केन्द्रित गर्ने ? अहिले वास्तवमा भन्ने हो भने हामीले एकताबद्ध भएर कोरोनातर्फ ध्यानकेन्द्रित गर्नुपर्ने हो । त्यो प्रति सरकार एकदम गम्भीर हुनुपर्ने जरुरी हो । सरकारले आह्वान गर्नुपर्ने हो जनतालाई पनि । राजनीतिक दलहरुलाई पनि आव्हान गर्नुपर्ने कोरोनालाई जित्नको लागि । सबैसँग सल्लाह सुझावसहित लाग्नुपर्ने हो र यो हाम्रो देशको लागि अहिलेको आवश्यकता र माग हो । तर बिडम्बना हामीले चाहेर पनि यस्तो हुन सकेन ।
सरकारले जनताका यी समस्या छोडेर असंवैधानिक कदम चाल्न थाल्यो । अब यो असंवैधानिक अलोकतान्त्रिक कदमको क्रम भङ्ग गर्नैपर्छ । त्यो स्वेच्छाचारी कदम तोड्नै पर्छ । त्यो कदमले कसैलाई पनि फाइदा गर्दैन । त्यसको दुरगामी कदम धेरै नराम्रो पर्न जान्छ । त्यसैले त्यो दूरगामी दुष्परिणाम कदम उठाउनु अगावैलाई त्यसलाई तोडेर जानुपर्छ भन्ने राष्ट्रिय जनमोर्चाको त्यो मत छ । एउटा लोकतान्त्रिक पद्धतिअनुसार हामी अगाडि जानुपर्छ ।