काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देशकै जेठो र स्तरीय अस्पताल वीर अस्पतालप्रति राज्यले उपेक्षा गरेको बताउनुभएको छ । ट्युमरको सफल सल्यक्रिया गरेर डिस्चार्ज भएपछि डा. भट्टराईले वीर अस्पतालप्रति उपेक्षाभाव गरिएको बताउनुभएको हो ।
डा. भट्टराई न्युरो–इन्डोक्राइनको ट्युमर शल्यक्रिया (अपरेसन) का लागि ९ दिनअघि वीर अस्पताल भर्ना हुनुभएको थियो । उहाँको डा. सुबोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले सफल अप्रेशन गरेको थियो ।
अस्पतालबाट डिस्चार्ज भएपछि डा. भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै वीरमा यति सस्तो र स्तरीय सुविधा हुँदाहुँदै कथित भीआईपीहरु किन महंगा निजी अस्पतालमा जान्छन् भनी प्रश्न गर्नुभएको छ । उहाँले वीरलाई थप सुविधा सम्पन्न बनाउनुपर्नेमा पनि जोड दिनुभएको छ ।
डा. भट्टराईले लेख्नुभएको छः
‘देशको जेठो र अग्रणी अस्पताल वीर अस्पतालबाट नवौं दिनमा मेरो शल्यक्रियामा महत्वपूर्ण योगदान गर्नुहुने सबैसँग विदा भएर निवास फर्कदा मनमा उठेका केही तरंगः
आफ्नै देशको सरकारी अस्पतालमा यति स्तरीय र कम खर्चिलो सेवासुविधा हुँदाहुँदै कथित भीआईपीहरू किन निजी मुनाफामुखी अस्पताल वा विदेशी अस्पताल धाउॅछन् ? देशको नेतृत्व गर्नेहरूले नै स्वास्थ्यसेवालाई निजी मुनाफाको क्षेत्र बनाउन प्रोत्साहन गरेपछि स्वास्थ्यसेवामा सबैको मौलिक अधिकार र राज्यको दायित्व हुनेछ भन्ने हाम्रो संविधानको प्रतिबद्धता कसरी पूरा हुन्छ ?
इसं १८८९ (विसं १९४७) मा संघीय राजधानीको केन्द्रमा स्थापित वीर अस्पतालसँग कुनै न कुनै बेला र रूपमा नजोडिएको कुनै ठूलो नेपाली राजनीतिक नेता/चिकित्सक/वौद्धिक/उद्यमी-व्यवसायी पाउन कठीन हुॅदाहुॅदै पनि यो अस्पतालप्रति किन प्रायः सबैको यत्रो उपेक्षाभाव ? वीर अस्पताललाई आधुनिक युग र देशको आवश्यकता अनुरूप राज्यले पूर्ण दायित्व लिएर देशको प्रमुख स्वास्थ्यसेवा रअध्ययन-अनुसन्धान केन्द्र किन नबनाउने ?
तत्काल वीर अस्पताल संघीय स्वास्थ्य मन्त्रालय कि राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान (नाम्स) मातहत भन्ने प्राविधिक/आर्थिक/व्यवहारिक अस्पष्टता र झमेला तथा चिकित्सक/स्वास्थ्यकर्मी/कर्मचारीबीचमा अन्योल/असमझदारी/चलखेलले आक्रान्त बनेको देखिएकाले यसको तत्काल वस्तुसंगत निरूपण गर्न किन ढिलाइ ?’