काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही वैशाख २७ गते विश्वासको मत लिने कार्यक्रम छ । त्यसका लागि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गरिसक्नुभएको छ ।
२७५ सदस्यीय प्रतिनिधि सभा भए पनि अहिले २७१ सांसद मात्र छन् । तीमध्ये सबैभन्दा ठूलो दल प्रधानमन्त्रीकै पार्टी एमालेका १२१ जना छन् ।
यस्तै नेपाली कांग्रेसका ६३ सांसदमध्ये दुई जना निलम्बनमा परेकाले अहिले ६१, माओवादी केन्द्रका ४९ र जनता समाजवादी पार्टीका ३४ सांसदमध्ये २ जना निलम्बनमा परेकाले ३२ जना छन् । राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका एक–एक जना सांसद छन् भने स्वतन्त्रबाट एक सांसद छन् ।
यस हिसाबले अहिले प्रतिनिधि सभामा जम्मा सांसदको संख्या २७१ भएको हो । तसर्थ प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा उहाँको पक्षमा बहुमत पुग्न १३६ सांसदको साथ आवश्यक हुन्छ । ओली पक्षका एक सांसदका अनुसार एमालेसँगै १२१ सांसद रहेकाले जसपाका सांसदले मत दिए बहुमत पुग्ने विश्वास गरिएको छ ।
जसपामा डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको खेमा ओलीविरुद्ध भए पनि अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोहरू ओलीका पक्षमा छन् । तसर्थ जसपाका सबै सांसदबाट विश्वासको मत प्राप्त नभए पनि एउटा पक्षले साथ दिनेमा प्रधानमन्त्री ओली ढुक्क देखिनुहुन्छ ।
एमालेका सबै सांसदले मत दिएका खण्डमा बहुमत पुर्याउन ओलीलाई केवल १५ मत आवश्यक पर्छ । जुन जसापका ३२ सांसदमध्ये ठाकुर–महतो पक्षबाट आउने मतले परिपूर्ति हुनेमा ओली आशावादी देखिनुभएको छ ।
तर एमालेका १२१ सांसदमध्ये माधव नेपाल पक्षका सांसदले कर्णालीमा जस्तै फ्लोरक्रस गरे भने प्रधानमन्त्री ओलीलाई बहुमत नपुग्ने निश्चित छ । प्रधानमन्त्री ओलीले नेपालसहित उहाँ पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधिसक्नुभएको छ ।
कतिपयले विश्वासको मत लिनु अघि नै नेपाल पक्षका सांसदलाई ओलीले कारबाही गर्ने बताउँछन् । त्यसो भएमा ओलीको पक्षमा बहुमत पुग्नेछैन । र ओलीले देशलाई पुनः मध्यावधी निर्वाचनमा लैजाने विश्लेषकहरु बताउँछन् ।
गण्डकी सरकारको भाग्यको फैसला पनि २७ गते
यता, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा वैशाख २७ गते नै मतदान हुने भएको छ । सभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव विचाराधीन छ । २७ गते बस्ने प्रदेश सभा बैठकमै सो प्रस्तावमाथि मतदान हुने छ ।
वैशाख १५ गतेदेखि रोकिएको प्रदेश सभा बैठक सुरु हुन सकेको छैन । १५ गते उक्त अविश्वास प्रस्तावउपर मतदान गर्ने कार्यसूची थियो । तर, मतदानकै दिन राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।
मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी दलले अविस्वासको प्रस्ताव दर्ता गराएका थिए । राष्ट्रिय जनमोर्चाले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।६० सांसद रहेको गण्डकीमा सत्ता पक्षका २७, विपक्षी कांग्रेस १५, माओवादी १२, राष्ट्रिय जनमोर्चा ३ तथा जसपाका २ र स्वतन्त्र एक जना सांसद छन् ।
यो पनि : पार्टी निर्णयप्रति प्रतिबद्ध छु : खिमविक्रम शाही