लोकेन्द्र पौडेल ##
अराजकतावाद एउटा राजनैतिक दर्शन हो भने राजनीतिक विज्ञानको एउटा विचारधारा पनि । राज्य, कानुन, नीतिर नियमदेखि बाहिर रहेर पूर्ण रूपमा स्वतन्त्र समाजको परिकल्पना गर्ने विचारलाई नै अराजकतावाद भनिन्छ ।
यो त्यस्तो अवधारणा हो, जसले कुनै पनि सरकारी, व्यापारिक, औद्योगिक–वाणिज्यिक, धार्मिक, शैक्षिक अथवा पारिवारिक नियन्त्रणको पूरै अस्वीकार गर्दछ । अराजकतावादीको तर्क छ, मानिस स्वतन्त्र प्राणी हो र स्वतन्त्र नै रहनुपर्छ । मानव समाज कुनै बाह्य हस्तक्षेपबिना नै शान्ति, समृद्वि र उत्पादनको साथमा बाँच्न सक्षम छ र मानिस आफ्नो शासन स्वयम् सञ्चालन गर्न सक्छ ।
अराजकतावादीका अनुसार एउटा यस्तो समाज बनाउन सकिन्छ, जहाँ व्यक्तिगत स्वतन्त्रता प्रचूर मात्रामा हुन्छ र भौतिक वस्तुहरूको विभाजन पनि समान रूपबाट गरिन्छ । एकापसमा सल्लाह र सुझावको आधारमा व्यक्तिगत र सामाजिक दायित्वलाई पूरा गर्न सकिन्छ ।
प्राचीन कालमा स्टोइक विचारक जेनोले नै यसको व्याख्या गरेका थिए भने यसको श्रेय गाडविनको सन् १७९३ मा प्रकाशित कृति “राजनीतिक न्याय, सद्गुण र खुुसीमा यसको निष्कर्षको बारेमा परीक्षण” लाई नै जान्छ । आफूलाई अराजकतावादी भन्ने दार्शनिक उन्नाइसौँ शताब्दीको पूवार्धमा सक्रिय रहेको पाइन्छ; जस्तै– पियर जोसेफ, प्रुधोँ । लक्ष्य र उद्देश्यका बारेमा अराजकतावादीमा पनि मतभिन्नता रहेको पाइन्छ ।
अराजकतावादीको विचारधारालाई चार भागमा विभाजन गरिएको छ ।
अराजकतावादी व्यक्तिवाद
जर्मनीका निहिलिस्ट दार्शनिक म्याक्स स्टर्नरको भनाइअनुसार मानिसले ईश्वर वा राज्य कुनै पनि नैतिकताको पर्वाह नगरिकन आफ्नोे मनोमानीले चल्न र बाच्नसक्ने अधिकार दिनु अनिवार्य छ ।
सामूहिकतावादी अराजकतावाद
यस विचारधाराका प्रमुख चिन्तक बकुनिन हुन् । उनी न त पु्रधोँको विचारलाई मान्दथे, न त कार्ल माक्र्सद्वारा प्रवर्तित समाजवादी व्यवस्थालाई नै मान्दथे । कार्ल माक्र्सद्वारा प्रतिपादित कम्युनिज्म सिद्धान्तलाई अधिनायकवादी सङ्ज्ञा दिने बकुनिन एउटा यस्तो भविष्यको कल्पना गर्दथे, जसमा मजदुरहरू सङ्गठित भएर पुँजीलाई आफ्नो हातमा लिन्छन् र सङ्गठित मजदुरको हातमा उत्पादनका सामान रहनुपर्छ । सामूहिक फैसलाले नै व्यक्तिको विवरण पुष्टि गर्ने छ, जसले जति श्रम गर्छ, उसले त्यति नै भाग पाउनुपर्छ भन्ने उनको राय रहेको थियो ।
परम्परतावादी अराजकतावाद
व्यक्ति र सामूहिकतावादको बिचको बाटो थियो, जसको सूत्रीकरणको श्रेय प्रुधोँलाई जान्छ । पु्रधोँले सम्पत्ति र कम्युनिज्मको बिचमा तालमेल गरी एउटा यस्तो आर्थिक प्रणालीको वकालत गरे, जसका अनुसार मानिसको निजी वा सामूहिक आधारमा उत्पादनका साधनको मालिकको अधिकार हुन सक्छ । तर आवश्यकतालाई श्रमको आधारमा नै मिल्ने छ, जसका कारण समाजमा समानता राख्न सकियोस् । प्रुधोँले उत्पादकलाई न्यूनतम ब्याजदरको आधारमा ऋण दिने बैङ्कको स्थापना गर्ने प्रस्ताव पनि अघि सारेका थिए ।
साम्यवादी अराजकतावाद
प्रिन्स क्रोपाटकिन यस विचारका प्रमुख दार्शनिक थिए । उनका अनुसार मानिस परस्पर एकता र सहयोगको नैसर्गिक गुणसम्पन्न छ, जसको प्रभावले सम्पत्तिसम्बन्धी विभेद आफै हराएर जाने छ । समाजका प्रत्येक व्यक्तिले आवश्यक साधनको उपयोग गर्ने छ । मजदुरको सङ्गठनद्वारा आवश्यकताका आधारमा खरिददारी र विनियोजन गर्ने छ । कम्युनको आपसी महासङ्घ हुने छ, जसले सडक बनाउने, रेलवे प्रणाली र सञ्चारका माध्यमका बारेमा सोच्ने छन । निजी सम्पत्ति भन्ने हुनुका कारण समाजमा चोरी, गुण्डागर्दीजस्ता समस्या नआउने हुँदा शान्ति र अमनचयन कायम राख्नका लागि सुरक्षाकर्मीको आवश्यकता पनि रहने छैन ।
जब १८४६ मा कार्ल माक्र्सले आफ्नो कृति “दर्शनको दरिद्रता” द्वारा प्रुधोँको कडा भत्र्सना गर्नुभयो । प्रथम कम्युनिस्ट इन्टरनेसनलमा बकुनिनपन्थीद्वारा पु्रधोँका अनुयायी पराजित भए । तर उनीहरूले माक्र्सका अनुयायीसँग सङ्घर्ष गर्न सकेनन्, जसको फलस्वरूप १८७२ मा इन्टरनेसनल विघटन भयो ।
राज्यमा विद्यमान संस्थाको आमनेसामने भएका कारण अराजकतावादी कुनै पनि संसदीय विचारका विरुद्व रहन्थे । चुनाव वहिष्कार गर्ने, आर्थिक संस्थाका विरुद्व जनविद्रोह गर्ने र उन्नाइसौँ शताब्दीको अन्त्यमा आएर उनिहरूले आतङ्कवादी काबाही पनि चलाए । केही राजनेता र उद्योगपतिको हत्यासमेत गरे ।
बिसौँ शताब्धीको ६०–७० को दशकमा पाल गुडमेन र डेनियल गुइरिनजस्ता अराजकतावादीले छिटफुट रूपमा शिक्षा र समुदायमा हस्तक्षेप गरेता पनि अहिले अराजकतावादी सिद्धान्तको प्रभाव देखिँदैन । सर्वसत्तावाद, अधिनायकवाद र निरङ्कुशताका आलोचकमा यस सिद्धान्तको गन्ध भेटिने गर्दछ । समाजवादी विचारभित्र कुनै न कुनै प्रकारले यो मौजुद रहेको हुन्छ ।
उदारवादीका अभिव्यक्ति स्वतन्त्रतासँग आफ्नो ढुलमूलपनबाट मुक्त गर्नका लागि अराजकतावादको भूमिकालाई नकार्न सकिँदैन । सङ्गठन चाहिने, सङ्गठनका नीतिनियम बनाउने ठाउँमा उपस्थित हुने, अनि संसारमा प्रचलित बहुमतीय प्रणालीद्वारा मान्य भएको स्वीकृत लाइन र सिद्धान्तलाई नमान्ने—यो नै वर्तमान समयको अराजकतावादको रूपमा देखा परेको समस्या हो ।
अनुशासन, साङ्गठनिक पद्धति र विश्वदृष्टिकोणको अभावमा यस्ता समस्या आउने गर्दछन । एक्काइसौँ शताब्दीमा हावी हुँदै गएको निम्न पुँजीवादी चरित्र, कुण्ठा, पदलोलुपता नै अराजकतावादका जननी हुन् ।