हरि आचार्य
आज वैशाख १८ गते । अर्थात सहिद मित्रमणी आचार्य स्मृति दिवस । मित्रमणीको २०४२ वैशाख १८ गते चितवनमा हत्या भएको थियो । कृषि तथा पशुविज्ञान अध्ययन संस्थान रामपुरका स्ववियु सभापति तथा अखिल (छैठौं) का केन्द्रीय सदस्य मित्रमणी आचार्यलाई कांग्रेस तथा पञ्च समर्थित गुण्डाहरुले आक्रमण गरी हत्या गरेका थिए ।
पारिवारिक रुपमा दाजुभाइ भएपनि हामी राजनीतिक रुपमा सहकर्मी, सहयोद्धा थियौं । मित्रमणीलाई मैले एक असल मानिस र दृढ आत्म विश्वास भएको कार्यकर्ताका रुपमा स्मरण गरिरहेको छु । उनीसँग धेरै सहकार्य भयो । उनका बारेमा धेरै संस्मरणहरु छन् । विद्यार्थी आन्दोलन र कम्युनिष्ट आन्दोलनमा उनको योगदान महत्वपूर्ण छ । उनको भूमिका वा गतिविधिबारे अहिले चर्चा गर्नपट्टि म लाग्दिन । यो सानो आलेखमा मित्रमणीले अस्पतालको शय्यामा अन्तिम स्वास फेरिरहँदा मरिन्छ भन्ने जान्दाजान्दै पनि आत्मविश्वास नगुमाएको र अन्तिम समयमा समेत पार्टीको गोपनियता भंग नगरेको त्यो क्षणको स्मरण गर्न चाहन्छु ।
म त्यतिबेला प्युठानको भुवनेश्वरी माविमा अध्यापन गर्थें । चितवनबाट मेम आचार्यको नाममा मित्रमणीका पत्रहरु आउने गर्दथे । त्यही क्रममा एउटा पत्र आयो । त्यसमा लेखेको थियो- ‘अहिलेसम्म बाँचेकै छु दाइ तर बाँच्न देलान् जस्तो छैन ।’
त्यतिबेला अहिले जस्तो सञ्चारको सुविधा थिएन । पत्र वा आकाशवाणीमार्फत खबर पठाउनु पर्थ्यो । मित्रमणीले पत्र वा आवा पठाउँदा ‘मेम आचार्य’ कै नामबाट पठाउने गर्दथे । किनभने वास्तविक नामबाट पठाउँदा खबर गायब पारिदिने सम्भावना हुन्थ्यो ।
मित्रमणीको यो समाचारले उनलाई कुनै पनि बेला गुण्डाहरुले आक्रमण गर्छन् र ज्यान जोखिममा पर्न सक्छ भन्ने पूर्वाभास भएको स्पष्ट बुझिन्थ्यो । उनले आफूलाई जोखिम छ भनेर चितवन पार्टीमा आफ्ना कुरा राखेका थिए । तर, मध्यपन्थीको बाहुल्यता रहेको पार्टी कमिटीले खासै वास्ता गरेन । बरु चितवनमा भएको एउटा घटनामा स्ववियु सभापतिको हैसियतले मित्रमणी जाने भन्ने निर्णय गरियो । जुन घटनामा नै उनीमाथि आक्रमण भएको थियो ।
पश्चिम चितवनको मेघौलीमा तत्कालिन पञ्चहरुले आस्थाका आधारमा विद्यार्थीहरुमाथि ज्यादती तथा निष्कासन लगायतका कारबाही गरेका थिए । सोही सन्दर्भमा चितवन पार्टीले मित्रमणीलाई त्यहाँ जान निर्देशन दिएको थियो । यद्यपी मित्रमणी आफै सभापति रहेको रामपुर क्याम्पस स्ववियुले त्यहाँ नजाने निर्णय गरेको थियो । तर, मित्रमणी दृढ अठोट भएका विद्यार्थी नेता थिए । उनी पार्टी निर्णयलाई कार्यान्वयन गर्नुपर्छ भन्ने अठोटका साथ मेघौली गए । मूल बाटोबाट जाँदा कुनै पनि ठाउँमा आक्रमण हुनसक्ने आशंकाका कारण उनी लगायत अरु केही साथीहरु कुलैकुलो मेघौली पुगेका थिए ।
उनीहरु त्यहाँको एउटा चौतारोमा बसेका रहेछन् । त्यहीबेला रामपुर क्याम्पसमै पढ्ने एकजना पञ्च समर्थक गुण्डाको बाइक आएर फर्कियो । त्यो देखेर मित्रमणीको टिमले छिटो छिटो त्यहाँबाट पाइला चाल्न थाले तर एक सय मिटर पर नपुग्दै गुण्डाहरुको एउटा झुण्डले उनीमाथि आक्रमण गर्यो । मित्रमणीलाई खुकुरी र भाला हानेर गम्भीर घाइते बनाइयो ।
त्यसलगत्तै स्थानीय गाउँलेले राँगा गाडामा हालेर उनलाई भरतपुर अस्पताल लगे, बाटोमा गाडी भेटियो र उनलाई अस्पताल पुर्याइयो । कतिपय व्यक्तिहरुले अस्पताल लैजानासाथ मित्रमणीको मृत्यु भएको भनेर उल्लेख गर्ने गरेको पाइन्छ । तर त्यसो होइन । उनको राति सवा १ बजेतिर मृत्यु भएको हो । त्यो बिचमा उनलाई भेट्न कयौं साथीहरु अस्पताल पुगेका थिए । उनले साथीहरुलाई भनेका थिए, ‘गुण्डाहरुको आक्रमणले म कहाँ मर्छु र ? केही पनि हुँदैन ।’
तर पछि उनलाई असहज हुन थाल्यो । अस्पताल प्रशासनले समयमै उनको अवस्थाबारे जानकारी दिएको थिएन । यदी समयमै जानकारी दिएको भए सायद उनलाई काठमाडौं लगिन्थ्यो, वा अन्य उपाय अपनाइन्थ्यो । तर, अस्पतालले असहज हुन थालेपछि राति अबेर मात्रै अक्सिजनको आवश्यकता परेको बतायो । त्यतिबेला अहिलेजस्तो अक्सिजन पाउन पनि सहज थिएन ।
मित्रमणीलाई आफू अन्तिम अवस्थामा पुगेका आभाष भयो । तैपनि उनले हिम्मत हारेनन्, न त गोपनियता भंग गरे । अन्तिम क्षणमा उनले आफू जुन पार्टी कमिटिमा थिए, त्यो कमिटीका साथीहरुलाई आफ्नो नजिक बस्न भने र अरु साथीलाई बाहिर पठाइदिए । यद्यपी त्यो अन्तिम मिटिङमा उनले के कुरा गरे, त्यो बाहिर आएन । तर, यो घटनाले प्रष्ट पार्छ उनी पार्टी निर्णयप्रति कति दृढ थिए, गोपनियताको मामलामा कति स्पष्ट र पक्का थिए ।
मित्रमणीको अर्को एउटा कुरा पनि मलाई स्मरण गर्न मन लाग्छ । उनको हत्या हुनु अघिको दसैँको बेला थियो । मित्रमणीले भारतको गोरखपुरबाट साइकलमा किताबहरु लिएर आएका थिए । बोर्डरमा उनलाई प्रहरीले फेला पारेछ । त्यसपछि उनलाई निर्मम कुटपिट गरियो । उनले हामीलाई शरीरभरी घाउ भएको देखाए । एक दिन नुहाउने बेलामा बुवाले घाउ देख्नुभएछ । त्यो देखेर बुवाले ‘अब राजनीति छोड्दे बाबु । छिटो पढाइ पुरा गरेर घर आइज । तँ राजनीतिमा लागिराखिस् भने तँलाई मार्छन्’ भन्नुभयो । घरबाट हिँड्ने बेलामा मित्रमणीले भनेका थिए, ‘मरे सहिद हुन पाइन्छ ।’
यो कुरा मित्रमणीको हत्या भएकै दिन बुवाले रुँदै हामीलाई सुनाउनुभएको थियो । उहाँले भन्नुभयो, ‘उसले आफ्नो इच्छा त पुरा गर्यो । तर, हामीलाई रुवाएर गयो ।’
यसरी मित्रमणी विचारमा स्पष्ट, निडर र पार्टी निर्णयप्रति प्रतिवद्ध कार्यकर्ता थिए । जस्तोसुकै असहज परिस्थितिमा पनि उनी हतोत्साही भएनन् । मित्रमणीको स्मरण र उनको सम्मान भनेकै उनले देखाएको बाटोमा दुढतापूर्वक हिँड्नु हो । त्यसो गरेमा मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।
(सहिद मित्रमणी आचार्यका दाइ तथा राष्ट्रिय जनमोर्चाका पूर्वमहासचिव हरि आचार्यले सम्पादक विद्यानाथ अधिकारीसँग गरेको कुराकानीमा आधारित ।)