काठमाडौं । राष्ट्रिय जनमोर्चाले जनताको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ । तीब्र ढंगबाट फैलिरहेको कोरोना महामारीको अनुपातमा सरकारको तयारी एकदमै अपर्याप्त देखिएको राजमोले जनाएको छ ।
सरकारको तयारी र निजी अस्पतालले बिरामीको उपचार गर्न अस्वीकार गरिरहेको सन्दर्भमा नेपालमा पनि भारतको जस्तो अवस्था सिर्जना हुनसक्ने राजमोले चेतावनी दिएको छ ।
महामारी हाम्रो नियन्त्रणभन्दा बाहिर जान नदिन सरकारले कोरोना विरुद्धको खोप, स्वास्थ्य सामग्री, उपकरण खरिद गर्न वा ल्याउनका लागि विभिन्न मुलुकसँग अविलम्ब कुटनीतिक पहल गर्न पनि आग्रह गरेको छ ।
अध्यक्ष चित्रबहादुर केसीले मंगलबार प्रेशित गर्नुभएको वक्तव्यमा सरकारलाई चुनावभन्दा कोरोना नियन्त्रणमा ध्यान दिन, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार छानबिन गर्न तथा स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहित गरेर काममा खटाउन आग्रह गरिएको छ ।
यस्तो छ वक्तव्यः
‘नेपालमा कोरोना महामारीको दोस्रो लहर तीब्र ढंगबाट फैलिइरहेको छ । सर्वसाधारण तथा स्वयं स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु पनि ठूलो संख्यामा संक्रमित भएका छन् र संक्रमित स्वास्थ्यकर्मीहरुलाई पनि उपचारको व्यवस्थापन समेत सरकारले गर्न सकिरहको छैन । तीब्र ढंगबाट फैलिदो महामारीको अनुपातमा त्यसको रोकथामका लागि सरकारको तयारी एकदमै अप्रयाप्त देखिएको छ । खोप, स्वास्थ्य उपकरण, स्वास्थ्य सामग्री, अस्पताल तथा जनशक्ति अप्रयाप्त छन् । निजी अस्पतालहरुले कोरोनाका विरामीलाई उपचार गर्न अस्वीकार गरिरहेका समाचारहरु आइरहेका छन् । यी सबै अवस्थामाथि ध्यान दिंदा यही स्थिति कायम रहिरहेमा भारतको जस्तो अवस्था नेपालमा पनि सृजना हुनेछ । महामारी हाम्रो नियन्त्रणभन्दा बाहिर जानेछ । त्यसैले सरकारले कोरोना विरुद्धको खोप, स्वास्थ्य सामाग्री, उपकरण खरिद गर्न वा ल्याउनका लागि विभिन्न मुलुकसँग अविलम्ब कुटनीतिक पहल गर्नुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ ।
गतसाल कोरोना महामारीको नियन्त्रणका लागि सरकारले अपनाएका गलत नीतिको परिणाम अहिले समस्या झन बिकराल हुँदै गैरहेकोे छ । आ।व। २०७७र७८ मा कोरोना महामारीका लागि अप्रयाप्त बजेट छुट्याइएको थियो । गतसाल स्वास्थ्य उपकरण र सामाग्रीमा ठूलो पैमानामा भ्रष्टाचार भयो । जसको परिणाम खरिद गरिएका सामाग्री र उपकरण गुणस्तर विहीन छन् । जुन प्रयोग विहीन अवस्थामा रहेका छन् । गत साल कोरोना महामारीका विरुद्ध अग्रमोर्चामा खटेका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक तथा सरसफाईकर्मीलाई सरकारी प्रतिबद्धता अनुरुपको तलब, भत्ता र स्वास्थ्य विमाको रकम सरकारले समयमा उपलब्ध नगराएको, सरकारी प्रतिबद्धताको तुलनामा कम प्राप्त गरेका वा प्राप्त नै नगराएको वा नदिएका कारण पनि स्वास्थ्यकर्मीले अग्रमोर्चामा जोखिम लिएर खट्ने समस्या पैदा हुने देखिएको छ । त्यसैले स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, तथा सरसफाईकर्मीहरुको मनोबल बढाउनका लागि सरकारले थप सेवा सुविधाको व्यवस्था गर्नु पर्ने आवश्यकतामा जोड दिन्छौं ।
एकतर्फ कोरोना महामारीले देशमा विकराल समस्या निम्त्याएको छ भने अर्कोतर्फ कोरोना महामारीको विरुद्ध जुध्नका लागि ठोस कार्ययोजना सहित जनताको स्वास्थ्यको रक्षाका लागि सरकार केन्द्रीत हुनभन्दा पनि ओली आफ्नो सत्ताको संरक्षणका लागि मन्त्रीको ब्यापारमा लागेर संसदीय विकृति, विसंगति भित्र्याइरहेका मात्र छैनन् कि पुनस्र्थापित संसदलाई नै भंग गरेर देशलाई मध्यावधिको खाडलमा धकेल्न चाहिरहेका छन् । यदि देशमा मध्यावधि भएमा अरबौं रुपैया खर्च हुनेछ । अहिलेको आवश्यकता चुनाव नभएर कोरोनाको उपचार नै हो । हाम्रो पार्टीले कोरोना महामारीको नियन्त्रणमा प्रभावकारी ढंगबाट लाग्नु पर्ने आवश्यकतामा जोड दिंदै महामारीको प्रभावकारी नियन्त्रणभन्दा आफ्नो सत्ता संरक्षणमा ध्यान दिने ओली सरकारको प्रतिगामी नीतिको विरोध गर्दछ ।’
२०७८ बैशाख १४
चित्रबहादुर केसी
अध्यक्ष