केरसिंह अदै
नेपालमा यही वैशाख र जेठमा बाह्रौं राष्ट्रिय जनगणना हुँदै छ । राष्ट्रिय जनगणनाले जाति धर्म, भाषा, आदिवासी जनजाति, अल्पसंख्यक जातिबारे यकिन गर्ने हुँदा अहिले आफ्नो धर्म, जातिको विषयमा बहस सिर्जना भएको छ । किनकि धेरै पटक जनगणना भए पनि नेपालको जाती, जनजाति, आदिवासी बारेमा ठोस तथ्यांक आएको छैन ।
२०५२ सालमा जनजाति उत्थान प्रतिष्ठान कार्यदल गठन भएको थियो । यो कार्यदलले नेपालमा ६१ जनजाति छन् भनेर सरकारलाई सिफारिस गरेको थियो । २०५६ सालमा सरकारले ६१ जनजातिलाई स्वीकृत गरेको थियो । २०५८ सालमा जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, बनाउँदा ५९ वटा आदिवासी जनजातिहरूको सूची राखियो । २०५८ सालको राष्ट्रिय जनगणनाले ९२ र २०६८ सालको जनगणनाले १२३ जाति-भाषा नेपालमा रहेको देखाएको छ भने १० धर्म मान्ने मानिस रहेको देखाएको छ ।
२०६८ सालको जनगणनामा ६१ हजार ५८१ जनाको कुनै धर्म पहिचान नखुलेको देखाएको छ । नेपालमा आदिवासी जनजाति भाषा सम्बन्धी धेरै बहस भएको र अझै फरक फरक ढंगले विश्लेषण भइरहेको पाउँछौ ।
विश्वमा मानव जातिको ३० वटा जाति, नश्ल रहेको र नेपालमा ४ जाति नश्ल रहेको पाइन्छ । आर्यन जातीमा क्षत्री, बाहुन, ठकुरी, सन्यासी, कामी, दमाई, सार्की, गाइने, वादी, मधेसी बाहुन, मधेसी क्षत्री, मुस्लिम समुदाय आदि पर्दछन । मंगोल जाती नश्ल अन्तर्गत मगर, गुरुङ, राई, लिम्बु, तामाङ, थकाली, छन्त्याल, भोटे, शेर्पा लगायत पर्दछन् । द्रविड जाती नश्लमा झागड जाती पर्दछ । अस्त्रो एसियाली वा मुण्डा जाति नश्लमा सतार, सन्थाल जाती पर्दछन् । नेवार जाति किरात मंगोल र लिच्छवि आर्यन जातिको मिश्रणबाट बनेको भनिएको छ । थारु समुदायलाई मंगोलको नश्ल नै मान्दछन् भने कतिपयले विभिन्न नश्लको मिश्रण मान्दछन् ।
हिन्दू धर्मले कामको आधारमा ४ जातमा विभाजन गरेको छ– बाहुन, क्षत्री, वैश् र, सुद्र । जातजाति छुट्याउनको लागि भाषा, संस्कृति, रीतिरिवाज, कर्म काण्डबाट पहिचान गर्ने गरिन्छ ।
पहिचान नखुलेका र विवादित रहेका जातिमध्य अदै जाति पनि आउँदछ । देशभर ७५० जना जनसंख्या रहेको खासगरी बागलुङको पश्चिमी भेगमा रहेको पछि बसाई सराई गरी अरु जिल्ला गएको पाइन्छ । यो अदै जातिको आफ्नै भाषा रहे पनि विकास गर्न नसकेको र हराउँदै गएको पाइन्छ ।
अदै जाति प्रकृति पुजक जाती हो । कुल पुजा, गोठ पूजा, विस्साउनो पूजा, बरा पूजा गर्दछन् । झाँक्री धामीको पनि विश्वास गर्ने गर्दछन । मामाको छोरी विवाह गर्ने छ । बाहुन राख्ने खासै चलन छैन । मरे पछि गाड्ने, रक्सी चुरोट चढाउने, एक भाइ किरिया बस्ने, १३ दिनमा कुलमा भेडा पूजा गरेर चोख्खिने चलन छ । १३ दिन पछि दाजुभाइहरुमा विवाह, पूजाको काम हुन्छ । मरेको १-२ वर्ष पछि बिसाउनोमा मिसाउने चलन छ । विसाउनो भनेको कुनै ठाउँमा भित्तामा ढुँगामा मरेका पुर्खाहरुको नाम लेखेका हुन्छन् र त्यही ठाउँमा नयाँ मरेको मान्छेको झाँक्री राखेर दाजु भाइ, दिदी बहिनी, इस्ट मित्र जम्मा भएर भेडा पूजा गरेर झाँक्रीले पहिलेका आफ्ना दाजुभाइसँगको भित्तामा नाम लेखी नयाँ मरेकोलाई मिसाउँछन् । पुरानालाई सम्झिन्छन्, श्राद्ध गर्दैनन् । अदै जातीले दशैँ र तिहार मान्दछन् । राँगा, सुँगुर खाने चलन छैन ।
अदै जातीको इतिहास नश्ल बारेमा यकिन छैन । लिच्छवि कालमा भूपाल दामु पालको समयको, दुल्लु शिला लेखमा विष्णु अदैको भाइ साउपाल अदै उल्लेख गरिएको छ । अदै प्राचीन उच्च पदवी भनिएको छ ।
अदै जातिको पहिचानको समस्या भएको छ । अदै जातिलाई पहिचान गराउन नसक्नु हाम्रो कमजोरी भएको छ । भर्ती हुँदा, बसाई सरेर अर्को ठाउँ जाँदा अदै थर बदलेर पुन, मगर, थापा, ओली थर कायम गरी स्थापित भएका छन् । एउटै कूल भित्रका भाइहरू अलग, अलग थर कायम भएका छन् । यो मुख्य समस्या रहेको छ । बागलुङ बोवाङका अदैहरुले धनबहादुर अदैको पहलमा नेपाल अदै संघ गठन गरी जाती, भाषा, संस्कृति, पहिचान गरी पाउँ भनी आदिवासी जनजाति आयोगमा निवेदन पेस गरेको छन् ।
अहिले राष्ट्रिय जनगणना २०७८ वैशाख–जेठमा हुन गइरहेकोले अदै थरले फाराम भराउँदा धेरै ख्याल पुर्याउनु पर्ने छ । जातीमा अदै, (आदिवासी जनजाति, अल्पसंख्यक), भाषा–अदै, नेपाली, धर्म– प्रकृति पुजकमा टिक लगाई अदै जातिको जातीय पहिचान खुलाउन सबै अदैहरू एक हौँ । अन्य जात, थरमा विलय नहोँ ।

