काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशसभा सांसद कृष्ण थापाले गण्डकी प्रदेशमा वामपन्थीकै सरकार कायम रहोस् भन्ने चाहना व्यक्त गर्नुभएको छ ।
राजमो गण्डकी प्रदेश संसदीय दलको नेतासमेत रहनुभएका थापाले भन्नुभयो– ‘हामी गण्डकी प्रदेशसभामा राजनीतिक अस्थिरता कायम नहोस् भन्ने चाहन्छौँ ।’
कतिपय मिडियाले राजनीतिक स्थिरताको अर्थ वर्तमान पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारप्रतिको समर्थन कायम रहनु हो भनी अर्थ लगाइरहेका बेला सांसद थापाले युगदर्शनसित भन्नुभयो– ‘राजनीतिक अस्थिरता नहोस् भन्नुको हाम्रो अर्थ यही पृथ्वीसुब्बा गुरुङ नेतृत्वकै सरकार टिकिरहनुपर्दछ भन्ने होइन ।’
थापाले भन्नुभयो– ‘हाम्रो आसय पूर्व नेकपाका दुवै घटक मिलेर गण्डकी प्रदेशमा स्थिर सरकार कायम होस् भन्ने हो ।’
उहाँले गण्डकी प्रदेशमा राजनीतिक स्थिरता कायम रहोस् भनेर नै आफूहरूले बहालवाला सरकारका विरुद्ध अविश्वासको प्रस्ताव नल्याएको बताउनुभयो ।
‘तर त्यसको अर्थ यो होइन कि हामीले सधैँभरि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको नेकपा (एमाले) सरकारलाई समर्थन गरिरहने छौँ’ सांसद थापाले भन्नुभयो– ‘पृथ्वीसुब्बा गुरुङ सरकार ओली सरकारकै अङ्ग हो । त्यसकारण हामीले राष्ट्रिय जनमोर्चाको घोषित नीतिअनुसार यदि प्रदेशमा अविश्वासको प्रस्ताव आउँछ भने त्यसको पक्षमा उभिने छौँ ।’
उहाँले अविश्वास प्रस्ताव नआउँदासम्म भने पृथ्वीसुब्बा सरकारप्रतिको समर्थन यथावतै रहने जानकारी दिनुभयो । ‘अविश्वास प्रस्ताव नआउञ्जेल त बहालवाला सरकारलाई समर्थन रहने नै भयो’ सांसद थापाले भन्नुभयो– ‘त्यसको अर्थ यो लगाउनुभएन, पृथ्वीसुब्बा सरकारप्रतिको समर्थन सधैँका लागि र जुनसुकै अवस्थामा पनि कायम रहने छ ।’
उहाँले कतिपय सञ्चार माध्यमले आफ्नो यस खालको प्रष्टोक्तिको गलत अर्थ लगाएको बताउनुभयो । गण्डकी प्रदेशसभामा कुल ६० सिट छन् । त्यसमध्ये नेकपा (एमाले) का २७, नेपाली काङ्ग्रेसका १५, नेकपा (माओवादी–केन्द्र) का १२, राष्ट्रिय जनमोर्चाका ३, जनता–समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद १ जना रहेका छन् ।
राष्ट्रिय जनमोर्चाको तर्फबाट गण्डकी प्रदेशसभामा कृष्ण थापा, खिमविक्रम शाही र पियारी थापा सांसद रहनुभएको छ । अहिलेको नयाँ समीकरणमा स्वतन्त्र सांसद १ जनासहित नेकपा (एमाले) को २७ गरी कुल २८ सांसद रहेकोमा राजमोका ३ सांसदको समर्थन मिल्नासाथ पृथ्वीसुब्बा गुरुङको सरकार ३१ सिट प्राप्त गरेर यथावत रहने छ ।
उता, नेपाली काङ्ग्रेस १५, नेकपा (माओवादी–केन्द्र) १२, जनता–समाजवादी २ गरी कुल २९ सिट भएकोमा नेकपा (माओवादी–केन्द्र) का एक सांसद सभामुख भएकाले मत बराबरी भएकोमा बाहेक भोट दिन नमिल्ने प्रावधानअनुसार यस गठबन्धनमा कुल २८ सिट हुन जान्छ । यसरी दुवै गठबन्धनका लागि राष्ट्रिय जनमोर्चाको ३ सिट निर्णायक हुन पुगेको छ ।
राजमो गण्डकी प्रदेश अर्का सांसद पियारी थापाका अनुसार यही विशिष्ट समीकरणका माझ कतिपय सञ्चार माध्यमले गण्डकी प्रदेशमा राजमो सांसदबारे गलत भ्रम फैलाइएको छ ।
‘राजमोको नीति प्रष्ट छ’ उहाँले भन्नुभयो– राजमो केन्द्रको नीतिअनुसार नै हामी अविश्वासको प्रस्ताव आएमा प्रतिगमनको विरुद्धमा प्रस्तुत हुने छौँ ।’