काठमाडौं । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ । यही चैत २४ देखि २६ सम्म बुटवलमा हुने सम्मेलनको व्यवस्थापनसम्बन्धी तयारी सकिएको राजमोले जनाएको छ ।
सम्मेलनको मूल नारा ‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं ! संघीयता खारेज गरौं, भ्रष्टाचारको विरुद्ध संघर्ष गरौं !!’ तय गरिएको छ ।
सम्मेलन बुटवलको मिलनचोकस्थित आम्रपाली कटेजको सभाहलमा हुनेछ । बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर राजमोले सम्मेलनको उद्घाटन सभाहलभित्रै गर्ने भएको छ ।
सम्मेलनको उद्घाटन अध्यक्ष चित्रबहादुर केसीले गर्नुहुनेछ भने विभिन्न राजनीतिक दल तथा जनवर्गीय संगठनहरुले शुभकामना दिनेछन् । कार्यक्रममा नेकपा (एमाले), नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका राजनीतिक दलका नेताहरुले शुभकामना दिने राजमो केन्द्रीय सदस्य मनोज भट्टले जानकारी दिनुभयो । यस्तै, पार्टी निकट सबै भाइचारा संगठनका प्रतिनिधिहरुले उद्घाटनका क्रममा शुभकामना दिनेछन् ।
दोस्रो दिनमा बन्द सत्र हुनेछ । त्यसक्रममा पार्टीको राजनीतिक प्रतिवेदन, विधान संशोधनलगायतका विषयमा छलफल हुनेछ भने सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । चैत २६ गते घोषणा सभा गर्ने कार्यक्रम रहेको छ ।
राजमो महासचिव जनकराज शर्माका अनुसार यो सम्मेलनपछि राजमोका प्रदेश समितिहरु कार्यकारी भूमिकामा रहनेछन् । अहिलसम्म ती समितिहरुले समन्वयकारी भूमिका खेल्दै आएका थिए । त्यसका लागि विधानमा संशोधनको तयारी गरिएको महासचिव शर्माले जानकारी दिनुभयो ।
सम्मेलनको सम्पूर्ण व्यवस्थापकीय तयारी पुरा भएको छ भने जिल्लाहरुबाट प्रतिनिधि पर्यवेक्षक आउने क्रम सुरु भएको छ । केही जिल्लाबाहेक देशभरका सबै जिल्लाहरुबाट राष्ट्रिय सम्मेलनमा प्रतिनिधित्व रहने राजमोले जनाएको छ ।
राजमोको राष्ट्रिय सम्मेलन हरेक चार चार वर्षमा हुने गर्दछ । तर यसपटक कोरोना संक्रमणका कारण सम्मेलन एक वर्ष ढिला गरी हुन लागेको हो । तेस्रो सम्मेलन २०७२ सालमा बुटवलमै सम्पन्न भएको थियो ।