काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई थप एक लाख कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप उपहारस्वरुप प्रदान गरेको छ । गत जनवरीमा ‘खोप मैत्री’ कार्यक्रम अन्तर्गत नेपाललाई दश लाख कोभिड–१९ विरुद्धको खोप प्रदान गरे पश्चात भारतले फेरि एक लाख डोज सहयोग गरेको हो ।
भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले आफ्ना नेपाली समकक्षी जनरल पूर्णचन्द्र थापालाई टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित एक समारोहकाबीच भिडियो कन्फरेन्स मार्फत उक्त खोप प्रदान गर्नुभयो ।
भारतको पुणेस्थित सिरम इन्टिच्यूटबाट एयर इण्डिया विमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बेलुकी ल्याइएको उक्त खोप नेपालका लागि भारतका राजदूत श्री विनय मोहन क्वात्राले नेपाली सेनालाई हस्तान्तरण गर्नुभयो ।
जनरल नरवणे नेपाली सेनाका मानार्थ महारथी पनि हुन् । गत नोभेम्बरमा भएको नेपाल भ्रमणका क्रममा उहाँलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरिएको थियो ।