काठमाडौं । खानेपानी मन्त्रालयले अब एक साताभित्र काठमाडौंका घर घरमा मेलम्चीको पानी आउने दावी गरेको छ ।
लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उपत्यकाबासीको धारामा एक साताभित्रै मेलम्चीको पानी आउने मन्त्रालयले दाबी गरेको हो । यही चैत १५ गतेदेखि नै मेलम्चीको पानी उपभोक्ताको धारामा ल्याउने गरी तयारी पूरा भएको मन्त्रालयले जनाएको छ ।
मेलम्ची खानेपानी आयोजनाका अनुसार चैत १५ गते परीक्षणको क्रममा पानी उपभोक्ताको धारामा पठाइनेछ । चैत १५ गते उपभोक्ताको धारामा मेलम्चीको पानी आउने भएपनि सबैमा पूरै पानी भने आउने छैन ।
बागमतीमा पठाउने भनिएको पानी उपभोक्ताको धारामा पठाएर उपभोक्ताले मेलम्चीको पानी उपभोग गर्न पाउने गरी तयारी थालिएको आयोजनाको भनाई छ । नयाँ पाइपलाइन र पुरानै वितरण प्रणालीबाट तत्कालका लागि मेलम्चीको पानी वितरण गरिनेछ ।
चक्रपथ भित्रको वितरण प्रणाली पहिलो चरणमा सम्पन्न गरिएको छ । दोस्रो चरणको वितरण प्रणाली चक्रपथ बाहिरको क्षेत्रमा हुनेछ । चक्रपथ बाहिरको क्षेत्रलाई याङ्री र लार्के खोलाको पानी थप हुँदासम्म पाइपलाइन विस्तार गरिनेछ ।
एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा करिब रु ३३ अर्ब लागतमा आयोजना बनिरहेको छ । आयोजनाको सबैभन्दा जटिल मानिने २७ किलोमिटर सुरुङ तीन वर्षअघि सम्पन्न भइसकेको छ ।
दैनिक १७ करोड लिटर पानी राजधानी पु¥याईने उक्त आयोजना पटकपटक पछि धकेलिँदै र विभिन्न व्यवधान पार गरी अन्तिम चरणमा पुगेको हो ।
मेलम्ची खानेपानी आयोजना प्रारम्भ भएदेखि २० वर्षमा २७ अर्ब ६५ करोड २३ लाख रुपैयाँ खर्च भएको छ। अघिल्लो आर्थिक वर्षसम्म यसको खर्च २५ अर्ब २० करोड रुपैयाँ थियो। यस वर्ष ५ अर्ब ९१ करोड ९९ लाख बजेट विनियोजन भएकोमा २ अर्ब ४५ करोड १८ लाख खर्च भएको छ।





