नारायण जिसी
जन्मसँगै मृत्यु मानिस र प्राणी जगतको वास्तविकता हो । जन्मसित मृत्युु जोडिएकै तितो यथार्थ मृत्युबाट कुनै पनि प्राणी जति टाढा रहन खोजे पनि अलग रहन सक्दैन । मानिसले प्रकृति र मानव सभ्यताबारे जे जति ज्ञान र विज्ञता हासिल गरेको छ त्यो आवश्यकता भन्दा कति न्यून छ भन्ने तथ्य बेलाबेलामा प्रकट हुने गरेको पाइन्छ । त्यसैको एउटा गतिलो प्रमाण हो अल्पआयु मै भएको का० योगेश रानाको मृत्यु । योगेश जस्तै हजारौं युवाहरूले मानव जीवनबारे भएका खोज अनुसन्धानले पूर्णता नपाएकै कारण समयपूर्व ज्यान गुमाउनु परेका प्रसस्त उदाहरणहरू पाइन्छन्।
जिवनकालमा सबैको महत्त्व आ–आफ्नै प्रकारले रहेको हुन्छ । तैपनि जसले मानव सभ्यता र समाजको लागि केही न केही योगदान गरेको हुन्छ त्यस्ता व्यक्तिहरू सदैव सम्झनाको तरेलीमा रहि रहने गर्दछन्, ती मध्ये एक हुनुहुन्थ्यो का० योगेश राना ।
योगेश रानासित मेरो पहिलो भेट भारत राजस्थानको निमरानामा संगठनकै कामको दौरानमा भएको थियोे । उहाँ त्यो बेला झण्डै १७/१८ वर्षको कलिलो र जोशिलो युवा हुनुहुन्थ्यो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सांगठनिक हिसावले अहिलेको पश्चिम उत्तर र मध्य पश्चिम उत्तर एउटै क्षेत्र थियोे र म त्यो वेला युवक मोर्चाको जिम्मामा थिएँ । त्यसै शिलशिलामा निमराना जाँदा खेल ग्राउन्डमा दर्जनौं युवाहरूको जमघट थियोे । त्यही बगालमा देख्दा हातले बनाए जस्तो पार्टी र क्रान्ति प्रति भरपुर आत्मविश्वासको झलक देखिने युवा हुनुहुन्थ्यो योगेश ।
संगठन कार्यमा दुवै जना निरन्तर लागि रहे पनि हाम्रो भेट लामो समयसम्म भएन । हर कार्यक्रममा मैले त्यो उत्साही पार्टी र क्रान्तिप्रति आस्थावान युवाको अनुहार खोजिरहन्थेँ तर भेटको अवसर जुरेको थिएन । तैपनि मेरो मानस पटलमा त्यो अनुहार सधैँ ताजा थियोे ।
पूर्व पश्चिम जता र जति टाढा रहे पनि एउटै उदेश्य र लक्ष लिएर हिँडेका सहयात्रीहरूको भेट जीवनको कुनै न कुनै घुम्तीमा अवश्य हुन्छ भन्ने गरिन्छ । त्यहि भनाइ सत्य सावित भयो, गत वर्ष प्युठानको जलुके भृंग्रीमा । संगठनकै कार्यक्रमको दौरान हामी उहाँको होटलमा पुग्यौं । झण्डै २०–२२ वर्षपछि उहाँसित भेट भएको थियोे । पहिले देखेको युवा योगेश र अहिले देखेको योगेशमा जमिन आसमानको शारीरिक अन्तर त थियो तर उत्साह र संगठन कार्यमा अझ शशक्त र पाकोपन थियोे ।
सयौं साथीहरूको ब्यवस्थापनमा उहाँ ब्यस्त हुनुहुन्थ्यो । तै पनि समय निकालेर कार्यक्रमको अन्तिम मै भए पनि एउटै टेवलमा भलाकुसारी गर्दै चिया पियौँ जुन भर्खर भर्खर जस्तो लाग्छ ।
रातिको ९ बजिरहेको थियोे, सँगै जाने साथीहरू अगाडि गै सक्नुभएको थियोे । हतार हतारमा हामी पनि बाटो लाग्यौं र फेरि भेटेर विस्तारमा बस्ने प्रतिबद्धता सहित उहाँसित विदा भयौं । झण्डै रात्री ११ बजे हामी आफ्नो घर पुग्यौं । अघि हिँडेका साथीहरूलाई जति प्रयास गर्दा पनि भेटाउन सकेनौं । अप्ठ्यारो र जंगल समेत रहेको बाटो साथीहरूलाई नछाडे भए पनि हुन्थ्यो भन्ने लाग्यो । त्यही दोस्रो भेट नै हाम्रो स्मरणीय र अन्तिम भेट सावित भयो ।
पार्टी र क्रान्तिप्रति सधैँ आस्थावान राना परिवारको छोटो समय भित्र एउटा अर्को उदाउँदो तारा अस्ताएको छ जुन क्षति परिवार, समाज र पार्टीको लागि अपूरणीय छ । का० योगेशले देखाएको बाटो र लक्षको अनुसरण गर्दै उहाँको सपना साकार पार्न निरन्तर अघि बढौं । यहि नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।
अलविदा का० योगेश राना !
यो पनि :
रहेनन् अन्टुक प्युठानका उपाध्यक्ष योगेश राना

