काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का अपदस्थ उपाध्यक्ष वामदेव गौतमले आफ्नो समूहको छुट्टै भेला बोलाउनुभएको छ । भेला भोलि (चैत ३ गते) लाई डाकिएको छ ।
सर्वोच्च अदालतले एमाले पुनर्स्थापित गरिदिएपछि ओली र नेपाल–खनाल समूहले समानान्तर गतिविधि गरिरहेका बेला गौतमले पनि छुट्टै भेलाको आयोजना गर्नुभएको हो । भेलामा पार्टी एकतालाई नै जोडदार ढंगले उठाइने गौतम निकटस्थहरूले बताएका छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार गर्नुभएको निर्णय र २३ जनाको मनोनयनलाई गौतमले कडा शव्दमा गलत भन्नुभएको छ ।
यता, नेपाल–खनाल समूहले पनि चैत ४ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । गौतमले दुवै समूहको समानान्तर गतिविधि रोक्नुपर्ने माग गर्दै आउनुभएको छ ।
तत्कालिन नेकपा विभाजनको अवस्थामा पनि गौतमले पार्टी एकीकरण भन्दै कुनै पनि समूहमा नलागी आफ्नो छुटै ‘नेकपा एकता राष्ट्रिय अभियान’ बनाउनुभएको थियो । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानको १ सय ७५ सदस्यीय कार्यसमिति छ ।
यो पनि : नेपाल पक्षले विद्रोह गर्ने तयारी गरेपछि ओलीले बोलाए वार्तामा