काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी अनुशासन उल्लंघन गर्ने १९ जना पार्टी सदस्यहरुलाई कारबाही गरेको छ । कारबाहीमा परेका मध्ये २ जनालाई पार्टी सदस्यताबाट अनिश्चितकालका लागि निस्काशन गरिएको र बाँकी १७ जनालाई विभिन्न स्तरको कारबाही गरिएको नेकपा (मसाल) ले जनाएको छ ।
पार्टी प्रवक्ता रामप्रकाश पुरीले मंगलबार एक वक्तव्य प्रकासित गरी पार्टीको सम्पत्तिको रुपमा रहेको ‘हाँक साप्ताहिक’ अनधिकृत ढंगले कब्जा गर्ने कार्यमा सहयोग गर्नेहरुमाथि कारबाही गरिएको स्पष्ट पार्नुभएको छ । यस्तै, वक्तव्यमा कतिपय सञ्चारमाध्यमले पार्टीमा फरकमत राखेका आधारमा ३०० कार्यकर्तालाई कारबाही गरेको भन्ने जस्ता भ्रमपुर्ण समाचार सम्प्रेसित गरेको भन्दै भ्रममा नपर्न आग्रह पनि गरिएको छ । पार्टीमा फरक मत राखेकै आधारमा कुनै पनि पार्टी सदस्यलाई कारबाही गर्ने नीति नरहेको पनि प्रवक्ता पुरीद्वारा जारी वक्तब्यमा उल्लेख छ ।
यस्तो छ, वक्तव्यः
“हाँक साप्ताहिकलाई अनाधिकृत प्रकारले कब्जा गरिएको कार्यमा विभिन्न प्रकारले सहयोग गरेको अभियोगमा पार्टीमा विभिन्न सदस्यहरूलाई विभिन्न स्तरका कारवाही गरिएको छ । त्यस सन्दर्भमा कतिपय अनलाइन, पत्रपत्रिकाहरूले भ्रामक समाचार प्रकाशित गरेको हुनाले त्यसबारे प्रकाश हाल्नको लागि यो वक्तव्य जारी गरिएको छ ।
कतिपय अनलाइनहरूले ३०० जनालाई कारवाही गरेको भनि समाचार दिएका छन् । त्यो समाचार असत्य भएको कुरा हामीले स्पष्ट गर्न चाहन्छौँ । हाँकलाई विभिन्न प्रकारले सहयोग गरेकोमा हालै बसेको केन्द्रीय समितिको बैठकले खाली १९ जनालाई मात्र कारवाही गरेको छ, जसमध्ये दुईजनालाई अनिश्चित कालको लागि पार्टीको सदस्यताबाट निस्कासन गर्ने र अन्य १७ जनालाई विभिन्न प्रकारका आन्तरिक कारवाही गरिएको छ ।
उक्त कारवाहीलाई पार्टीमा भिन्न मत भएका पार्टी सदस्यहरूलाई सफाया गर्नको लागि नै गरिएको भनिएको छ । त्यो सत्यको तोडमोड हो । भिन्न मतका कारणले अहिलेसम्म एकजनालाई पनि कारवाही गरिएको छैन । पहिले महाधिवेशनको बेलामा मतभेद राख्ने पार्टी सदस्यहरू मध्ये कैयौँजना अहिले पनि केन्द्रीय समितिदेखि विभिन्न तहका समिति र जिम्मेवारीमा हुनुहुन्छ । त्यो अवस्थामा भिन्नमत भएकाले कारवाही गरिएको भन्ने हल्ला आफ्ना गल्तीहरूमाथि पर्दाहाल्ने तरिका मात्र हो ।
पार्टीमा अनुशासन कायम राख्नका लागि विधान र सङ्गठनात्मक नियमहरू बनेका छन् । तिनीहरूको उल्लङ्घन गरेमा अनुशासनको कारवाही पार्टीमा पहिलेदेखि चल्दै आएको अभ्यास वा प्रचलन हो । त्यसकारण पार्टीको विधान र नियमको उल्लङ्घन गर्ने वा पार्टीको सम्पत्तीलाई हिनामिना गर्ने पार्टी सदस्यहरूमाथि सधैँ नै कारवाही हुँदै आएको छ । त्यो पार्टीको एउटा नियमित प्रक्रिया हो । पार्टी बाहिरका कैयौँ तत्वहरूले त्यसप्रकारको पार्टीको विधान र नियमहरूका आधारमा गरिने नियमित प्रक्रियाबारे अनावश्यक र असत्य भ्रम फैलाउने गरेका छन् । त्यो कुनै नयाँ र अस्वभाविक कुरा होइन ।”