काठमाडौं । नेकपा (एमाले) को पुनर्बहाली भएपछि सो दलले काठमाडौंस्थित धुम्बाराही केन्द्रीय कार्यालयमा रहेको नेकपाको बोर्ड हटाएको छ । मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको बोर्ड हटाएर नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको बोर्ड टाँगिएको हो ।
निर्वाचन आयोगमा पहिले दर्ता ऋषि कट्टेलको नेकपालाई मान्यता दिँदै सर्वोच्चले आइतबार सत्तारूढ नेकपाको कानुनी मान्यता बदर गरिदिएपछि यसमा एकीकृत एमाले र माओवादी केन्द्र सोमबारबाट अलग्गिइसकेका छन् । लगत्तै देशभर रहेका एमाले कार्यालयमा ‘नेकपा’ को बोर्ड हटाएर ‘एमाले’ को बोर्ड राखिएको छ ।
सर्वोच्चले एमाले र माओवादी केन्द्र एकता गरी बनेको नेकपाको वैधानिकता खारेज गरिदिएको पर्सिपल्ट आज केन्द्रीय कार्यालयमा बोर्ड परिवर्तन गरिएको हो ।
पहिले एमालेको केन्द्रीय कार्यालय रहेको धुम्बाराहीलाई नै माओवादी केन्द्रसँग एकता गरी बनेको नेकपाको पनि केन्द्रीय कार्यालय बनाइएको थियो । साविक माओवादी केन्द्रको पार्टी कार्यालय भने कोटेश्वरमा रहेको छ ।