पुष्कर भट्ट, कञ्चनपुर ।
गत स्थानीय चुनाव अघि राष्ट्रिय जनमोर्चा परित्याग गरी तत्कालिन नेकपा (एमाले) प्रवेश गरेका युवा नेता वीरबहादुर विष्ट मूलघरमै फर्किनुभएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकाका विष्ट गत स्थानीय निर्वाचन अघि एमाले प्रवेश गर्नुभएको थियो ।
विष्ट हालको नेकपामा विभिन्न जिम्मेवारीमा कार्यरत हुनुहुन्थ्यो । तर, नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चा जस्तो अनुशासित र विचारमा स्पष्ट क्रान्तिकारी पार्टी अरु कुनै नरहेको ठहर गर्दै आफू पुनः मूलघरमै फर्केको विष्टले बताउनुभयो ।
उहाँलाई अखिल (छैठौं) का महासचिव महेशराज जोशीसहितको टिमले स्वागत गर्नुभएको थियो । त्यसक्रममा महासचिव जोशीले सबै क्रान्तिकारीहरुलाई राष्ट्रिय जनमोर्चाको झण्डामुनी गोलबद्ध हुन आह्वान पनि गर्नुभयो ।
पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रवेश गर्नेहरु बढ्दै गइरहेका छन् भने राष्ट्रिय जनमोर्चा परित्याग गरेर अन्य पार्टीमा गएका कार्यकर्ताहरुसमेत धमाधम मूलघरमै फर्किरहेका छन् । राजमोको स्पष्ट नीति, जनतपक्षीय राजनीति र अनुशासनका कारण सर्वसाधारणको पनि आकर्षण बढ्दै गइरहेको छ ।