काठमाडौं । संसद सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा थप पाँच दिन थुनामा बस्ने भएका छन् । काठमाडौं जिल्ला अदालतले महरालाई आइतबार थप पाँच दिन थुनामा राख्ने अनुमति दिएको हो ।
जिल्ला न्यायाधीश बाबुराम सुवेदीको इजलासले महरालाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको हो । यसअघि महरालाई तेह्रा दिन हिरासतमा राख्ने अनुमति दिएको थियो ।
तत्कालिन सभामुख महराले गत असोज १२ गते संघीय संसदमै कार्यरत कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि उनले सभामुख पदबाट राजीनामा दिएका थिए । पीडित भनिएकी रोशनी शाहीले प्रहरीमा किटानी जाहेरी दिएसँगै उनलाई असोज १९ गते प्रहरीले पक्राउ गरेको हो ।
यता, बलात्कार प्रयासका आरोप लगाउने रोशनी शाहीले महराले आफूलाई बलात्कार प्रयास नगरेको भन्दै अदालत समक्ष निवेदन दिएकी छिन् । शुरुमा तत्कालीन सभामुख महराले आफ्नै कोठामा आएर बलात्कार गरेको आरोप लगाएकी रोशनीले पछि त्यसलाई अस्वीकार गरेकी थिइन् ।
शाहीले बलात्कार प्रयास गरेको भन्दै फेरि प्रहरीमा निवेदन दिएकी थिइन् । महरा पक्राउ परेपछि उनले आफूमाथि हिंसा भएको अस्विकार मात्रै गरेकी छैनन् । महरा आफ्नो कोठामै नआएको दाबी गर्दै आएकी छन् ।