काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापना भएसँगै सरकार गठनका लागि नेकपा प्रचण्ड–नेपाल समूहले मधेशवादी दल जनता समाजवादी पार्टीसँग सहकार्यको आग्रह गरेको छ । बुधबार नेपाली कांग्रेससँग मिलेर जान आग्रह गरेको प्रचण्ड–नेपाल समूहले आज (मंगलबार) जसपासँग छलफल गरेको हो ।
नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलमा नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठसँग छलफल गरेका नेकपा स्रोतले जनाएको छ ।
छलफलमा जसपा नेपालका नेताहरुले सरकारमा सहभागी हुनका लागि केही सर्त अगाडि सारेका छन् । जसपा नेताहरुले संविधान संशोधन, रेशम चौधरीलगायतका नेता कार्यकर्ताको रिहाइ भएपछि मात्र सरकारमा सहभागी हुनका लागि छलफल गर्न सकिने धारणा राखेको स्रोतले जनाएको छ । विगतमा पनि सहकार्यको नाममा उधारो सहमति गरेर सरकारमा सहभागी गराइएको तर ती सम्झौताहरु कुनै कार्यान्वयन नभएको उनीहरुको गुनासो थियो ।
छलफलका क्रममा नेकपाका अध्यक्षद्वय प्रचण्ड–नेपाल ले संविधान संशोधन गर्न आफूहरु सकारात्कम रहेको भन्दै रेशम चौधरीको मुद्दा फिर्ता लिने वचनसमेत दिएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको संसद् विघटनको निर्णय सर्वाेच्च अदालतले बदर गरिदिएपछि प्रचण्ड र नेपालले अन्य दलसँगको छलफललाई तीव्र पारेका छन् ।
बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई उहाँकै निवास बूढानीलकण्ठमा भेटेर प्रचण्ड र नेपालले नयाँ सरकार गठनमा सहकार्यको प्रस्ताव राखेका थिए । जवाफमा देउवाले ‘पार्टीमा छलफल गरेर निर्णय लिने’ बताएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
स्रोतका अनुसार सत्ताको जोडघटाउमा खप्पिस देउवा आफैँ प्रधानमन्त्री बन्ने दाउमा देखिनुभएको छ । विभाजित नेकपाको कुनै पनि पक्षले कांग्रेसको साथ नलिइकन सरकार बनाउन सक्ने अवस्था छैन । त्यो अवस्थामा आफूलाई प्रधानमन्त्रीको ‘अफर’ आउनेमा देउवा ढुक्क देखिनुभएको छ ।