काठमाडौँ । प्रगतिशील लेखक सङ्घले महिला हिंसाको बारेमा एकचालिसौँ परिसंवाद सम्पन्न गरेको छ ।
“बढ्दो महिला हिंसा र प्रगतिशील लेखकहरूको दायित्व” विषयक सो अन्तरक्रिया २०७७ फागुन ७ गते भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
कार्यक्रममा विषयवस्तु प्रस्तोता प्रलेसका केन्द्रीय सल्लाहकार डा. विन्दु शर्मा हुनुहुन्थ्यो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले महिला हिंसा मानसिक, भौतिक र यौनिक हुने बताउनुभयो । खालि यौनिक हिंसालाई मात्र महिला हिंसा मान्न नहुने उहाँको तर्क थियो ।
निजी सम्पत्तिको सुरुवातका साथै महिलालाई पनि निजी सम्पत्ति ठान्ने पितृसत्तात्मक सोचाइका कारण महिलामाथिको हिंसा बढ्दै गइरहेको उहाँको ठहर थियो ।
‘वास्तवमा पितृसत्तावादी चिन्तन नै महिला हिंसाको जड हो’ उहाँले पितृसत्तावादी चिन्तन महिलामा पनि विद्यमान रहेको बताउँदै भन्नुभयो– “सासूले बुहारीमाथि गर्ने उत्पीडन पितृसत्तावादी सोचाइको परिणाम हो ।’
बाहिर नदेखिने, तर भित्रभित्रै उत्पीडन गर्ने अन्तरङ्ग आतङ्कवादी प्रवृत्तिले गर्दा महिलामाथि उत्पीडन र हिंसा बढ्दै गइरहेको बताउँदै उहाँले अगाडि भन्नुभयो– ‘अब महिलाहरू सचेत भएका छन् । तर उनीहरू सचेत भए भने अहिलेसम्म पुरुषले गरे झैँ महिलामाथि पनि बदलाको भावनाले उत्पीडन गर्ने छन् भन्ने भयले गर्दा अन्तरङ्ग आतङ्कवाद फैलिइरहेको छ ।’
आर्थिक परनिर्भरता, वंशाधिकार, पौराणिक साहित्यको महिला विरोधी चरित्र, पितृसत्तात्मक मनोविज्ञानजस्ता प्रतिकूलता, नीतिनिर्माणमा समस्याजस्ता समस्याले गर्दा महिलामाथिको उत्पीडन बढ्दै गइरहेको उहाँको भनाइ थियो ।
प्रगतिशील लेखकहरूले महिला हिंसाको विरुद्ध तर महिला समानताको पक्षमा कलम चलाउनुपर्ने आवश्यकतामा जोड दिँदै डा. शर्माले आजको आवश्यकता जनचेतनामूलक साहित्य रहेको बताउनुभयो ।
‘तर जति पनि जनचेतनामूलक साहित्य लेखिएका छन्, ती लक्षितवर्गसम्म पुगेका छ्रैनन्’ उहाँले भन्नुभयो– ‘लक्षितवर्गसम्म जनेचतनामूलक साहित्य पुर्याउन प्रगतिशील लेखक सङ्घले योजनाबद्ध प्रयास गर्नुपर्दछ ।’
कार्यक्रम प्रलेसका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको थियो ।
सो अवसरमा डा. सावित्री श्रेष्ठ, गिरीप्रसाद बुढा, गोपीरमण उपाध्याय, बिजुला रायमाझी, बाबुराम आचार्य र समीर सिंहले स्पष्टीकरण दिनुभएको थियो ।