काठमाडौं । अफगानिस्तानको नंगहार प्रान्तमा शुक्रबार शक्तिशाली बम विस्फोट हुँदा ६२ जनाको मृत्यु भएको छ । उक्त विस्फोटमा परी ३६ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।
त्यहाँस्थित एक मस्जिदमा शुक्रबार नमाजको समयमा विस्फोट भएको थियो । विस्फोटपछि मस्जिदको छत खसेको थियो । यस क्षेत्रमा इस्लामिक स्टेट तथा तालिबान दुवै समूह सक्रिय रहेका छन् । तर, हालसम्म कसैले पनि घटनाको जिम्मेवारी लिएका छैनन् ।
अधिकारीहरुले दिउँसो करिब २ बजेको समयमा उक्त घटना भएको बताएका छन् । स्थानीय प्रशासनका प्रवक्ता अताउल्लाह खोगयानीले मस्जिदमा आत्मघाती आक्रमण भएको या अन्य रुपको विस्फोट भएको खुल्न नसकेको बताएका छन् ।
यो विस्फोट संयुक्त राष्ट्रसंघको एक रिपोर्ट आए लगत्तै भएको छ । उक्त रिपोर्टमा अफगानिस्तानमा सर्वसाधारणहरुको मृत्युको संख्या बढेको उल्लेख छ । रिपोर्टमा जुलाईदेखि सेप्टेम्बरसम्म १,१७४ नागरिक मारिएको बताइएको छ । जसमा पनि जुलाई महिना सन् २०१९ को सबैभन्दा बढी हत्या भएको महिनाका रुपमा उल्लेख गरिएको छ ।
उक्त रिपोर्टमा सन् २०१९ मा मात्र अफगानिस्तानमा २,५६३ जनाको मृत्यु भइसकेको र ५,६७६ घाइते भएको जनाइएको छ । सन् २०१८ को तुलनामा सन् २०१९ को यस अवधिमा अफगानिस्तानमा हिंशाद्वारा प्रभावित हुने नागरिकको संख्या २६ प्रतिशतले बढेको देखिएको छ । एजेन्सी