सर्वप्रथम आफ्नो मातृभूमि बचाउन अङ्ग्रेजसँग युद्ध गर्दा आफ्नो ज्यानको आहुति दिएर सहादत प्राप्त गर्नु हुने देशभक्त अमर सहिदप्रति सलाम गर्दछौँ । त्यसका साथै साथै राणाशासन विरुद्ध आफ्नो फौज खडा गरी विद्रोह गर्न तयार हुनुभएका प्रथम सहिद लखन थापा तथा पञ्चायती शासन विरुद्ध जीवन आहुति दिने, जेलनेल खाने सम्पूर्ण सहिदप्रति सलाम गर्दछौँ । एवम् प्रकारले राष्ट्र, राष्ट्रियताको लागि जीउज्यानको आहुति दिने महान सहिदलाई स्मरण गर्दै उहाँहरूले देखाएको बाटोमा अघि बढ्ने प्रण गर्दै सलाम गर्दछौ ।
पृथ्वनारायण शाहले वि.सं. १८०१ देखि १८२७ सम्म ससाना राज्यमा विभाजित राज्यलाई जित्दै एकीकृत नेपाल बनाए । १८३१ मा उहाँको निधन भयो । त्यसपछि अरू राजाहरूले बाइसे÷चौबिसे राज्यलाई एकीकृत नेपाल राज्यमा मिलाउँदै गए ।
पृथ्वीनारायण शाहको पालामा नेपाल राज्य ८०० माइल लामो थियो । पूर्वमा सिक्किम, पश्चिममा सतलज, उत्तरमा हिमालय दक्षिणमा गोरखपुरसम्म नेपाल मानिन्थ्यो । यो विशाल नेपालको एकीकरण देखेर भारतमा शासन गरिरहेको साम्राज्यवादी शक्ति इस्ट इन्डिया कम्पनीको चिन्ता बढेर गयो । इस्ट इन्डिया कम्पनीका जनरल हेस्टिङ्सले नेपालमाथि सन् १८१४, वि.सं.१८७१ मा विधिवत युद्धको घोषणा गरेर पूर्वमा सिक्किम, पश्चिममा सतलज, दक्षिण गोरखपुरमा अत्याधुनिक हतियारसहित अङ्ग्रेज फौज तयार गरे ।
नेपालको तर्फबाट नालापानी किल्लामा बलभद्र कुँवर, देउथलमा भक्ति थापा, पश्चिम क्षेत्रमा अमरसिंह थापा, साथै अन्य क्षेत्रमा पनि फौज तयार गरिएको थियो । नेपाली फौजसँग कुनै अत्याधुनिक हतियार थिएनन् । टोप, खुकुरी, भाला, धनुषवाणबाहेक केही थिएन । अङ्ग्रेजसँग नालापानीमा घमासान युद्ध भयो ।
नेपाली सेनाका कमान्डर बलभद्र कुँवरसँग ६०० सेना रहेका थिए । युद्धमा नेपाली फौजले अङ्ग्रेज कमान्डर जेलेस्पी एलिसलाई बाण हानेर मारिदिए । त्यतिखेर ६५० सिपाही मारिए । अङ्ग्रेज फौजले नेपाली फौजसँग लड्न नसक्ने देखेर कूटनीतिक तरिकाबाट नालापानी किल्लाको पानीको मुहान काटिदिए । पानी खान नपाएर गोर्खाली फौजका ५३० जनाको मृत्यु भयो । छ दिनसम्म लगातार युद्ध चलेको थियो त्यतिखेर । अङ्ग्रेजले वीर सत्रु बलभद्र कुँवर र गोर्खालीको स्मृतिमा शिलालेख स्थापना गरे । यो युद्ध नेपालीका लागि अविश्मरणीय रहेको छ ।
त्यसैगरी, देउठल किल्लाको सुरक्षाका लागि खटिएका भक्ति थापाले चौतर्फी अङ्ग्रेजी फौजले घेराबन्दी गरेकाले घेरा तोड्न आक्रमण गरे । अङ्ग्रेजको गोली लागेर भक्ति थापाको मृत्यु भयो । अङ्ग्रेजले भक्ति थापाको मृत शरीरमा दोसल्ला ओढाएर नेपाली फौजलाई नै सुम्पियो ।
यसरी अङ्ग्रेजले विजय प्राप्त गर्दै काठमाडौँ कब्जा उद्देश्यले पर्सासम्म आइपुगेका थिए । पर्सामा शमशेर राणा र सर्वजीत राणाको नेतृत्वमा रहेको गोर्खाली फौजले अङ्ग्रेज सेनाका कप्तान सी.बी. रहापेलाई मारिदिएका थिए । अङ्ग्रेज सेनाहरू हतियार फालेर भागेका थिए । बुटवल खस्यौलीको जीतगढीमा अङ्ग्रेज सेना उडले आक्रमण गर्न आएका थिए । बुटवल क्षेत्रको रक्षामा खटिएका कर्णेल उजीर सिंहको नेतृत्वमा रहेको फौजले परास्त गरी भगाएको थियो ।
पूर्वी क्षेत्र सिक्किमलाई अङ्ग्रेज सेना मेजर लेटरले पैसाको बलले आफ्नो अधीनमा पार्नुका साथै सिक्किमका राजाकै सहयोगमा मोरङमाथि हमला गरी कब्जा जमाएका थिए । उता, कुमाउ गढवालमा पनि अङ्ग्रेज सरकारका व्यापारी प्रतिनिधि डा. रुथ र फोर्डले त्यहाँको फौजलाई पैसाको प्रभोलनमा पारी राज्यलाई सन्धि गर्न बाध्य बनाएका थिए । यसरी गढवाल, अल्मोडा अङ्ग्रेजको कब्जामा गएको थियो ।
यसरी नेपाली गोर्खाली फौजसँग अङ्ग्रेजजस्तो कूटनीति नजान्ने, न अत्याधुनिक हतियार, न प्रशिक्षण तालिम, न छिमेकी राष्ट्रबाट सहयोग—यस्तो अवस्थामा पनि आफ्नो मातृभूमिका लागि वीरता प्रदर्शन गरेर राष्ट्रप्रति समर्पण जिउज्यान अर्पण गरे । धेरै भूभाग गुमाए पनि नेपाललाई गुलाम हुनबाट बचाए । उहाँहरूले देखाएको बाटोमा हिँड्नु नै सच्चा सहिदमाथिको सम्मान हुने छ ।

