दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले एक वडा : एक पोखरी र एक वडा : एक चौतारी अभियान सुरु गरेको छ ।
पर्यावरण प्रवद्र्धन गर्ने उद्देश्यसहित गाउँपालिकाले प्रत्येक वडामा पोखरी र चौतारी निर्माण गर्न लागेको हो ।
चालु आर्थिक वर्षभित्रै छ वटै वडामा पोखरी र चौतारी निर्माण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।
‘वातावरण प्रवद्र्धन गर्ने उद्देश्यसहित यो अभियान सुरु गर्न लागेका हौँ, यसका लागि बजेट पनि विनियोजन भइसकेको छ’ पोखरेलले भने ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको रु. २१ लाख बजेट पोखरी र चौतारी निर्माणमा खर्च गरिने छ । सोमबार सम्पन्न आठाँै गाउँसभाले यसको निर्णय गरिसकेको छ ।
‘प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार सूचीमा सूचीकृत भएकालाई पोखरी र चौतारा निर्माणमा रोजगारी प्रदान गर्छौं’ पोखरेलले भने ।