जनतामा राजनैतिक नेता वा राजनीतिक पार्टीप्रतिको वितृष्णा धेरै नै पाइन्छ । तर त्यसका आधारमा राजनीतिक पार्टी गलत भइसके वा तिनीहरूको अब कुनै उपयोगिता छैन भन्ने निष्कर्षमा पुग्नु के सही हुने छ ?
यो सत्य हो कि राजनीतिक नेता वा राजनैतिक पार्टीहरू धेरै नै भ्रष्ट वा पतित भएर गएका छन् । उनीहरूमाथि दोष दिनका लागि थुप्रै आधार छन् । तर त्यस आधारमा उनीहरूको आवश्यकता वा औचित्यता समाप्त भयो भनेर निष्कर्ष निकाल्न सही हुने छैन ।
विभिन्न प्रकारका दुर्गुणहरू सामाजिक जीवन वा प्रकृतिका सबै क्षेत्रमा पाइन्छन् । उदाहरणका लागि आगो, पानी वा बतास जीवनका लागि परम् आवश्यक कुरा हुन्, तर आगलागीका कारणले कैयौँ बस्ती वा जङ्गल सखाप हुन्छन् । अत्यधिक वर्षा, बाढी वा सुनामीले कति धेरै नोक्सानी पुर्याउने गर्दछन् । त्यो थाहा भएकै कुरा हो, आधीबतासले पनि कैयौँ प्रकारका क्षति पु¥याउँछन् । के त्यो कारणले ती सबैको उपयोग बन्द गर्नु सही हुने छ ? वा त्यसो गर्नु सम्भव हुने छ ? परिवार, विवाह, पतिपत्नी, छोराछोरी आदिमा सक्दैन्, तर पनि कैयौँ प्रकारका बिग्रह वा समस्या हुन्छन् ।
विद्यालयको उपयोगिता सबैलाई थाहा भएको कुरा हो । तर शिक्षाका कारणले पनि समाजमा कैयौँ विकृति वा अपराध पैदा हुने गर्दछन् । बिजुली हाम्रा लागि धेरै आवश्यक छ, तर त्यही कारणले केयौँ दुर्घटना हुन्छन् वा मानिसको मृत्यु हुन्छ । रेल, बस, हवाइमार्ग आदि सबैको जति सही उपयोगिता भएता पनि तिनीहरूमा हुने दुर्घटना र पुग्ने क्षति सबैलाई थाहा भएका कुरा हुन् ।
डाक्टर, शिक्षक आदिको समाजमा ठुलो आवश्यकता र महत्त्व हुन्छ, तर उनीहरूले नै समाज विरोधी काम गरेका थुप्रै उदाहरण पाइन्छन् । उद्योग, व्यापार आदिको पनि समाजमा ठुलो उपयोगिता हुन्छ, तर तिनीहरूमा पनि कैयौँ गलत कुरा जोडिएका हुन्छन् ।
माथि उल्लेखित विभिन्न कारणले तिनीहरूलाई परित्याग के गर्नु सम्भव र उचित हुने छ ? निश्चित रूपले त्यसो गर्नु सम्भव हुने छैन । तिनीहरूमा भएका खराब पक्षबाट बच्दै तिनीहरूलाई उपयोग गर्ने हाम्रो प्रयत्न हुँदै आएको छ; र, हुनु पनि पर्दछ ।
माथि हामीले केही उदाहरणको मात्र चर्चा ग¥यौँ । त्यस प्रकारका सयकडौँ, हजारौँ कुरा हुन सक्दछन् । त्यही प्रकारले राजनीतिक पार्टीमा भएका कैयौँ कमजोरीलाई हटाउँदै उनीहरूलाई आवश्यकताअनुसार उपयोग वा संरक्षण गर्ने हाम्रो नीति हुनुपर्दछ ।
इतिहास यो कुराको साक्षी छ, विश्वभरमा नै समाजमा राजनीतिक पार्टीको ठुलो योगदान रहँदै आएको छ । विश्वको आज जुन प्रकारको चित्र छ, त्यसका पछाडि राजनीतिक पार्टीको ठुलो भूमिका रहेको छ । बेलायतमा निरङ्कुश राजतन्त्रको अन्त्य गर्न, फ्रान्समा राजतन्त्रलाई समाप्त गर्न वा रुस वा चीनमा समाजवादी व्यवस्था ल्याउने, अमेरिकालाई स्वाधीन बनाउन, भारतमा ब्रिटिस समाप्त गर्न आदि राजनीतिक पार्टीको ऐतिहासिक भूमिका रहेको कुरा सबैलाई थाहा छ । संसारका अन्य देशमा भएका राजनैतिक परिवर्तन वा क्रान्तिका लागि पनि राजनैतिक पार्टीको ठुलो भूमिका रहने गरेको छ ।
नेपालकै कुरा गरौँ । राणाशासन वा निरङ्कुश पञ्चायती तानाशाहीको अन्त्यको पछाडि राजनैतिक पार्टीको नै मुख्य भूमिका रहने गरेको छ । त्यसरी यो कुरामा कुनै शङ्का रहन्न, समाजको विकास प्रवाहमा राजनैतिक पार्टीको महत्त्वपूर्ण र समाजको सकारात्मक भूमिका रहँदै आएको छ । त्यो कुरा जति गत कालका लागि सत्य हो, त्यति भविष्यका लागि पनि सत्य हो ।
हामीले जीवन, समाज वा प्रकृतिका क्षेत्रसित सम्बन्धित सबै कुरा राम्रा हुँदैनन् । हामीले उनीहरूका बिचमा छानबिन वा चुनाव गर्नुपर्दछ । वनमा कैयौँ प्रकारका वनस्पति हुन्छन् । ती सबै हाम्रा लागि उपयोगी हुँदैनन् । हामीले तिनीहरूलाई छानेर नै उपयोग गर्नुपर्दछ । मेडिकल पसलमा पाइने औषधि वा दुकानमा पाइने सबै सामान हाम्रा लागि उपयोगी हुँदैनन् । हामीले तिनीहरूका बिचमा चुनाव गरेर नै आफ्ना लागि उपयोगी चिज छान्नुपर्दछ । सबै डाक्डर, होटेलमा उपलब्ध खाना सबै हाम्रा लागि उपयोगी हुँदैनन् । हामीहरूले तिनीहरूका बिचमा चुनाव गर्नुपर्दछ ।
निश्चय नै सबै आन्दोलनमा जनताको ठुलो भूमिका रहने गरेको छ । तर त्यसका पछाडि राजनीतिक दर्शन, सिद्धान्त वा राजनीतिक पार्टीहरूको नेतृत्वको पनि महत्त्वपूर्ण भूमिका रहेको हुन्छ ।
चुनावका लागि सामान्य ज्ञान वा विवेकको आवश्यकता पर्दछ । जीवनको जुन क्षेत्रमा पनि सामान्य ज्ञान वा वुद्धिको प्रयोग नगरिकन कुनै चिजको उपयोग गर्ने हो वा काम गर्ने हो भने कैयौँ प्रकारको क्षति वा धोका हुन सक्दछन् । त्यही कुरा राजनीतिक पार्टीबारे पनि सत्य हो । राजनीतिक नेता वा राजनैतिक पार्टीमा राम्रा र नराम्रा दुबै कुरा हुन सक्दछन् । सामान्य ज्ञान वा वुद्धिको प्रयोग गरेर नै उनीहरूका बिचमा चुनाव गर्नुपर्दछ; नत्र क्षति वा धोका हुन सक्दछन । त्यो कुरा बढी जनतामा लागु हुन्छ । देशमा गलत प्रकारका नेता सत्तामा जान्छन् वा गलत प्रकारका सरकार बन्दछन् भने त्यसका लागि राजनैतिक पार्टी मात्र होइन, जनताले पनि जिम्मेवारी लिनुपर्दछ । चुनावमा भोट दिँदा पनि जनताले सामान्य ज्ञान वा बुद्धिको प्रयोग गर्नुपर्दछ; अन्यथा बारम्बार धोका भइरहन्छ ।
हाम्रो समाजमा राजनैतिक पार्टीको विरोध गर्ने जुन प्रवृत्ति पाइन्छ, ती सबैका पछाडि सधैँ सही वा अभिप्रायले काम गरेको हुँदैनन् । राजनैतिक पार्टीका भूमिकाका कारणले, जसका स्वार्थमा नोक्सान पुगेको छ, उनीहरूले पूरै नै पार्टीको विरोध गर्दछन् । राजनीतिक पार्टीको भूमिकाका कारणले राणाशासन, पञ्चायती व्यवस्था वा राजतन्त्रको अन्त्य भयो । ती परिवर्तनबाट जसका स्वार्थमा बाधा पुगे, उनीहरूले राजनीतिक पार्टीको विरोध गर्दछन् । उनीहरूका लागि लोकतन्त्र, गणतन्त्र आदिभन्दा राजाको एक व्यक्तिको शासन नै उपयुक्त हुन्छ । त्यसै गरेर समाजका भ्रष्ट असामाजिक तत्त्व आदिले पनि राजनीतिक पार्टीको भूमिकाको विरोध गर्दछन् । त्यसकारण राजनीतिक पार्टीको विरोध गर्ने सबै विचारलाई समान रूपमा राखेर हेर्न सही हुन्न् ।
अन्त्यमा, विश्व र नेपालको इतिहासले समेत स्पष्ट गरेको कुरा हो कि समाजमा राजनीतिक पार्टीको ठुलो आवश्यकता, महत्त्व वा उपयोग विकाससित जोडिएको छ ।

