काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले पार्टी सदस्य कृष्णप्रसाद पोख्रेल(का. प्रदीप)को निधनप्रति गहिरो दुःख प्रकट गरेको छ।
महामन्त्री मोहनविक्रम सिंहले बुधबार शोक वक्तव्य प्रकाशित गरी शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।
प्यूठान, वाँदीकोट निवासी ६८ वर्षीय पोख्रेलको मंगलबार निधन भएको थियो ।
यस्तो छ वक्तव्य :
‘प्यूठान, वाँदीकोट निवासी कामरेड कृष्णप्रसाद पोख्रेल (का. प्रदीप) को २०७७ साल पौष २२ गते ६८ वर्षको उमेरमा मृत्यु भएको छ । उहाँ लामो समयदेखि दम रोगका कारणले उपचाररत हुनुहुन्थ्यो । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
का. पोख्रेल लामो समयदेखि हाम्रो पार्टीमा प्रतिवद्ध रहँदै आउनुभएको इमान्दार र जुझारु सदस्य हुनुहुन्थ्यो । उहाँ २०५४ सालको स्थानीय निर्वाचनमा प्यूठान वाँदीकोट गा.वि.स. वडा नं. १ बाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । राष्ट्रिय जनमोर्चाको जिल्ला समितिमा समेत रहेर राजनीतिक तथा सांगठनिक भूमिका निर्वाह गर्नुभएका का. पोख्रेल पछिल्लो समयमा हाम्रो पार्टीको झिमरुक गाउँपालिका सल्लाहकार तथा अखिल नेपाल किसान महासंघ झिमरुक गापा अध्यक्ष हुनुहुन्थ्यो । उहाँ इमान्दार, अनुशासित तथा कर्मठ पार्टी सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट पार्टीलाई गम्भीर क्षति पुगेको छ । अन्तमा का. पोख्रेलप्रति हामीले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।’