प्रस्तुति रमेशबाबु तिवारी ।।
१८०९ जनवरी ४ तारिख विश्वका लागि उज्यालो दिन वा ऐतिहासिक दिन हो । त्यसमा पनि दृष्टिविहीनले उज्यालो प्राप्त गरेको दिन हो ।
हामी, जो जहाँ जन्मे पनि उसको बाटो र गुण सबैका लागि मार्गदर्शक बन्छ । महान् प्रतिभाहरू कुनै देशमा जन्मे पनि ती अन्तर्राष्ट्रिय व्यक्तित्व हुन् । ती मानवता वादसँग सम्वन्धित हुन्छन् । तिनीहरूले विश्वका मानवलाई जीवन प्रदान गर्नमा उच्च प्रकारको भूमिका खेल्छन् । त्यस्तै फ्रान्समा १८०९ जनवरी ४ का दिनमा पेरिसनजिकै कोउपभ्रेमा लुइज ब्रेजको जन्म भयो ।
उनी जन्मदा राम्रै अवस्थामा जन्मेका थिए; तर ३ वर्षको उमेरमा धारिलो चिजले उनको आँखामा घाउ भयो; र, ५ वर्षको उमेरमा पूर्ण दृष्टिविहीन हुन पुगे । त्यति बेला फ्रान्समा वा अन्य देशमा पनि दृष्टिविहीनलाई शिक्षा हासिल गर्ने कुनै कुराको पनि आविष्कार भएको थिएन । तर उनका परिवार उनलाई शिक्षित वनाउन चाहन्थे । १० वर्षको उमेरसम्म उनलाई नजिकै गाउँको स्कुलमा भर्ना गरी सुनेरै पढ्ने व्यवस्था मिलाइयो ।
१८१९ मा नेसनल इन्स्टिच्युट फर ब्लाइन्ड चिल्ड्रेन पेरिसमा छात्रवृत्तिमा अध्यन गर्न थाले । त्यति बेलासम्म पनि सुनेकै भरमा अध्ययन गरेर ५ वर्षपछि उक्त इन्स्टिच्युटमा १८२४ मा लुइज ब्रेलले दृष्टिविहीनलाई पढाउन थाले । १८२४ मा नै उनले ब्रेललिपिको आविष्कार गरे ।
ब्रेललिपिको आविष्कार हुनुभन्दा अघि दृष्टिविहीनले सुनेरै शिक्षा प्राप्त गर्थे भन्ने कुरा उनको जीवनीवाट प्रष्ट हुन्छ । उक्त समयलाई वस्तुवादी रूपबाट हेर्दा र सत्य तथ्यको खोजी गर्दा तिनीको शिक्षा भर्खरै मात्र बामे सर्ने प्रयत्न गरेको थियो भन्ने कुरा निम्न आधारबाट विश्लेषण गर्न सकिन्छ । पहिलो आधार किनोट सिस्टम भन्नुको अर्थ डोरी गाँठो पारेर गन्न वा छाम्न लगाउने दोस्रो आधार लुकास सिस्टम काठका साना साना टुक्रा बनाएर छाम्न वा गन्न लगाउने तेस्रो आधार मोन्ड सिस्टम छाम्ने अक्षरको विकास मैनबत्तिका थोपावाट बनेका आकृतिलाई छाम्न लगाउने गर्दै सुरुमा १२ थोप्लाको ब्रेललिपिको विकास भयो ।
उक्त लिपि व्यावहारिक र वैज्ञानिक ठहरिन सकेन; र, पुनः नौ थोप्लाको लिपि प्रयोगमा ल्याइयो । समयक्रमसँगै यो लिपि पनि त्यति उपयुक्त देखिएन । फेरि पाँच थोप्लाको लिपिको विकास गरियो । यो पनि सफल हुन सकेन । अभ्यासको क्रममा छ थोप्लाको लिपि उपयुक्त भएकाले विश्वले छ थोप्लालाई हालसम्म प्रचलनमा ल्याएको छ । यसबाट यो स्पष्ट हुन्छ कि अन्य देशमा दृष्टिविहीनका शिक्षाका चेष्टाहरू निकै अघि देखा परिरहेका थिए । समाज खोजमूलक कार्यमा उद्यत थियो ।
माथि प्रस्तुत गरिएका आधारहरू छाम्ने अक्षर ब्रेललिपिकै सामिप्यवाट टाढा नरहेको स्थिति देखिन्छ ।
१८५२ जनवरी ६ मा उनको देहावसान पेरिसमा भयो ।
आजका विकसित मुलुकदेखि विकासोन्मुख देशका दृष्टिविहीनलाई समेत उनको आविष्कार ब्रेललिपिको माध्यमवाट सशक्तीकरण एवम् स्वाबलम्वन बन्नमा विशिष्ट कार्य भएको छ ।
नेपालमा लुइज ब्रेलको मृत्यु भएको करिब ११३ वर्षपछि वि.सं. २०२१ सालमा लेबोटरी स्कुलमा ब्रेललिपिको पठनपाठन गर्नका लागी जङ्गबहादुर बोगटीले आरम्भ गरेका हुन् ।
औपचारिक रूपमा यस प्रकारको शिक्षा आरम्भ गरिएको समय लामो भइसकेको छ, तैपनि दृष्टिविहीनको शिक्षामा हालसम्म पहुँच नपुगिरहेको स्थिति छ । २०२१ सालभन्दा पूर्व २०१८ सालमा स्कुल सञ्चालन भएर बन्द भएको इतिहासले वताउँछ । एकीकृत शिक्षाको रूपमा विकास गरी दृष्टिविहीन र साङ्ग व्यक्तिको शिक्षा समान रूपमा एउटै कक्षामा हुन सक्छ भन्ने प्रयोग सिद्ध गरी नेपालले विश्वलाई सन्देश दिएको छ ।
यस प्रकारको ऐतिहासिक तथ्यलाई पनि मनन गरी सबैजसो विद्यालयमा दृष्टिविहीनलाई सहज प्रवेशको अवसर दिऊँ । यसले ५६औँ वर्ष पार गरिसक्दा पनि हाम्रो समाज र विद्यालय पुरातन मानसिकतावाट मुक्त हुन नसक्नुको परिणाम कुनै पनि शिक्षाले उच्च प्रकारको स्वावलम्बन प्रकृतिको गति लिन सकेको छैन । यसैको परिणामस्वरूप दृष्टिविहीनमैत्री पुस्तकालय हुन नसक्नु, खोजमूलक कार्यमा सहज रूपमा पहुँच नहुनु समयकै दुर्भाग्यको स्थिति देखा पर्छ । उक्त कार्य अब यस पुस्तकालयले दु्रत गतिमा सिङ्गो समाजलाई सञ्चालन गरी अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्छ । यस क्षेत्रमा ब्रेललिपिले अद्वितीय योगदान दिएको छ । यसलाई अविछिन्न रूपमा विकास गर्दै अगाडि बढाउनुपर्ने आवश्यकता छ ।
नेपालमा दृष्टिविहीनका लागि जे जति विद्यालय स्थापना भएका छन्, ती सबै लुइज ब्रेलकै विशिष्ट कार्यानुरूप हुन् । विश्वका विकसित भाषाले आफ्नो भाषामा ब्रेललिपि वनाएका छन् । यस अर्थमा सबैलाई ब्रेललिपिको अनिवार्य आवश्यकता छ । तसर्थ यी अद्वितीय पुरुषको जन्मजयन्ती सबै देशले मनाउनु पर्ने हो । तर यस विषयमा खासै कसैको चासो गएको पाइन्न । त्यसमा पनि नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शिक्षा मन्त्रालय, शिक्षाविद, पाठ्यक्रम विकास केन्द्र, विश्वविद्यालय, अपाङ्गता भएका व्यक्तिका लागी सञ्चालित सङ्घसंस्थाले यस विषयमा प्रमुख भूमिका खेल्नुपर्छ ।
उनले आविष्कार गरेको लिपि वैज्ञानिक एवम् प्रभावकारी देखिएकाले जनवरी ४ को दिनलाई संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय ब्रेलदिवसको घोषणा गरेको छ । यसै स्मरणमा वा प्रावधानमा हिँड्डुलको सहजीकरण गर्ने उद्देश्यले अक्टोबर १५ का दिनलाई सेतोछडी दिवस मान्दै आएको छ ।
उनी दृष्टिविहीनका मात्र व्यक्तित्व होइनन्, उनी समस्त विश्वका व्यक्तित्व हुन् । उनको ज्ञानबाट नै विश्वले दृष्टिविहीनलाई विकासको मूलप्रवाहमा ल्याउन सहज वनेको छ । दृष्टिविहीनहरूले आन्तरिक वा वाहय रूपवाट संसार चिन्ने अवसर पाएका छन् । यो विश्वका लागी खुसीको कुरा हो । अन्धकारवाट उज्यालोमा ल्याउने जो कोही व्यक्तित्वलाई पनि राष्ट्रको सङ्कुचित घेराभित्र नराखी यसको र उसको भनेर छुट्याउन हुँदैन ।
लुइज ब्रेलको ज्ञान यति प्रबल छ कि छ वटा थोप्लालाई विश्वका विकसित सवै भाषाले अपनाएर ब्रेललिपिको निर्माण गरेका छन् ।
आजको प्रविधिसँग नेत्रहीनहरू जोडिन पाउनुको पृष्ठभूमि लुइज ब्रेलको योगदान हो भनेर सहज रूपमा भन्न सकिन्छ । ज्ञानको विकसित रूप यसको व्यापक र विस्तारमा देखा पर्दै जान्छ । यसैअनुरूप ब्रेलको अवधारणालाई साक्षात्कार गर्न र ज्ञान फराकिलो पार्न समयको मागअनुसार दृष्टिविहीनको क्षमता वृद्धि गर्न तिनीहरूलाई रोजगारको क्षेत्रमा सहजीकरण गर्न बौद्धिक व्यक्तित्व बन्न अनुसन्धानका क्षेत्रमा अघि बढ्न वा आन्तरिक प्रतिभालाई सशक्तीकरण गरी उजागर गर्न, मानवीय संसार निर्माण गर्न श्रव्य पुस्तकालयको आवश्यकतालाई राष्ट्रले र दृष्टिविहीनले महसुस गर्नुपर्ने कुरा हो । यस्ता विषयलाई मध्यनजर गरी यस पुस्तकालयको स्थापना भएको हो ।
श्रव्य पुस्तक र ब्रेल आवश्यकता छैन भनी छरिएको भ्रम मिथ्या सावित गर्नुपर्छ; किनकि, नेपाली पुस्तक ब्रेललिपि तथा श्रव्यबाहेक अन्य प्रविधिसँग जोड्न सकिएको छैन । तसर्थ, जुन देशमा समस्या पर्छ, त्यही देशको अनुकूलतामा प्रविधिको निर्माण हुनुपर्ने हो । तर हाम्रो परिवेशमा तत्काल सम्भव देखिएको छैन । मिथ्या कल्पनाका पछि कोही नलागेर हाम्रो वास्तविक स्थितिसँग सरोकार राख्ने एक मात्र विकल्प श्रव्य पुस्तक, श्रव्य पुस्तकालय र ब्रेललिपि हो ।
१८०९ जनवरी ४ मा फ्रान्समा ऐतिहासिक व्यक्तित्व ज्ञानलाई फराकिलो र व्यापक वनाउने लुइज ब्रेलको जन्मजयन्ती पर्छ । उनले दृष्टिविहीनका क्षेत्रमा अद्वितीय कार्य गरी अमर प्रतिभा बनेका छन् । उनी यस अर्थमा अमर प्रतिभा रहे कि मानवजातिको विकास भएदेखि एकाध व्यक्तित्व वा प्रतिभा बाहेक अरू दृष्टिविहीनले जीवनमा अन्धकारवरण गर्नुबाहेक अन्य विकल्प थिएन । यस्तो जटिल अवस्थालाई उनको आविष्कार ब्रेललिपिले उज्जल नक्षत्रको काम गरेको छ । विश्वका समस्त दृष्टिविहीनलाई ज्ञानको उज्यालोबाट आन्तरिक प्रतिभा उजागर गर्नका साथै विकासको मूलप्रवाहमा आउन सहज माध्यम बनेको छ ।
आजको विकसित प्रविधि उनकै ज्ञानको वृक्षमा लागेको फल हो; र, ब्रेललिपिको विकास समाज र विश्वको निकास हो । तसर्थ, यस्ता अद्वितीय प्रतिभाको जन्म दिन सबै राष्ट्रले मनाउनुपर्ने हो । तर यस विषयमा राष्ट्रको र विश्वको ध्यानाकर्षण गर्न यी महामानवको जन्मजयन्ती दृष्टिविहीनले अनिवार्य रूपमा मनाउनुपर्छ । यस पुस्तकालय पनि उनकै विचारलाई विकसित गराउने उद्देश्यवाट प्रेरित भएकाले पुस्तकालयले उनको जन्मजयन्तीमा चेतनामूलक कार्यक्रम गर्न चाहन्छ । एकदिने अन्तरक्रियात्मक कार्यक्रम यस वर्षका लागि तय गरिएको छ भने आगामी दिनमा विस्तृत र व्यापक रूपमा उनको स्मरण गरिने छ ।
नेपालको संविधानको धारा ३१ मा शिक्षासम्बन्धी हक उल्लेखित छ । उक्त धाराले प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने, प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने, अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्च शिक्षा पाउने, नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था स्थापना र सञ्चालन गर्न पाउने हक हुनेजस्ता शिक्षासम्बन्धी मौलिक हकको प्रत्याभूत गरेको छ । यो संवैधानिक प्रावधानलाई कार्यान्वयन गर्न सुदृढ राष्ट्रिय शिक्षा प्रणालीको विकास जरुरी भएको छ । त्यस्तै नेपालको संविधान २०७२ ले शिक्षाको माध्यम ब्रेललिपि हुने छ भनी संविधानको मौलिक हकअन्तर्गत धारा ३१ को बुँदा नम्बर ४ मा स्पष्ट किटान गरेको छ ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट २०७६ कार्तिक १८ मा स्वीकृत राष्ट्रिय शिक्षा नीति–२०७६ को नीति १०.२६.१ मा देशभरि सञ्चालित सामुदायिक तथा सार्वजनिक पुस्तकालय तथा वाचनालयलाई राष्ट्रिय प्रणालीमा आबद्ध गरी तिनीहरूको संरक्षण, सुदृढीकरण एवम् विकास गर्ने र पुस्तकालय तथा वाचनालयको पहुँच नपुगेका स्थानमा योजनाबद्ध रूपमा विस्तार गर्दै लगिने छ भन्ने उल्लेख भएको छ ।
नीतिको १०.२८.७ मा अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूको शिक्षा पाउने अधिकारलाई सुनिश्चित गर्न आवश्यक पाठ्यक्रम, पाठ्यपुस्तक तथा श्रव्य दृश्य र सहयोग सामग्रीमा विविधीकरण गरिने छ भन्ने उल्लेख भएको छ ।
नीतिको १०.२८.८ मा सुस्तश्रवण भएका बालबालिकालाई साङ्केतिक भाषा तथा दृष्टिविहीन र न्यूनदृष्टि भएका बालबालिकालाई ब्रेललिपिमा मात्र सीमित नगराई अन्य उपकरणको प्रयोगबाट सिक्न सक्ने सम्भाव्य विकल्पको खोजी गरी उपयुक्त अवसर प्रदान गरिने छ भन्ने उल्लेख भएको छ । तर विद्यालयले सरकारको निर्देशन नपाएर हो या रूढीवादी सोचबाट बाहिर निस्कन नसकेर हो, सबै विद्यालय मानवीकरण र सामाजिकीकरण हुनुपर्छ ।
समाज विकासका लागि विद्यालयको अहम् भूमिका हुन्छ । यसकारण विद्यालयले कुनै पनि वर्ग, जाति, लिङ्गको आधारमा भेदभाव गर्दैनन् । यहाँ सानो तितो सत्य उजागर गर्नुपर्ने स्थिति देखिन्छ ।
पीडा कसैले गुम्स्याएर राख्नुहुन्न भन्ने मान्यता लोकतान्त्रिक पद्धति हो । तर सेतो छडी टेकेर विद्यालय वा विश्वविद्यालयभित्र प्रवेस गर्ने दृष्टिविहीनलाई देख्दा नाक खुम्च्याउने र मनलाई अमिलो खुवाएर कुड्याउनुपर्ने परिस्थति कसैका लागि प्रिय र श्रेय हुन्न । दृष्टिविहीन शिक्षकहरू शिक्षा सेवा आयोग पास गरी योग्य ठहरिएर विद्यालयमा प्रवेश गर्दा वा अन्य सरकारी, निजी कार्यालयमा प्रवेश गर्दा तिनीहरूलाई दृष्टिविहीन भएका आधारमा अनुमति नदिने, सरकारबाट दबाब दिनुपर्ने, सङ्घसंस्थाले आवाज उठाउनुपर्ने परिस्थिति कसरी निर्माण भयो ? यो ज्यादै सोचनीय कुरा छ । हामी यस्तै परम्परामा बाच्ने हो भने समाजले विकासको गति कहिले लिने ? के हामी समयसँग म र मेरो सन्तानलाई यस्तो पीडा पर्दैन भनी ग्यारेन्टी माग्न सक्छौँ ?
त्यस्तै अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन–२०७४ पनि बनिसकेको छ । यस ऐनको परिच्छेद–५ को उपदफा–६ मा नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिलाई शिक्षा हासिल गर्न सहज बनाउन उनीहरूको आवश्यकताबमोजिम ब्रेल वा वैकल्पिक लिपि साङ्केतिक भाषा, सूचना प्रविधिको साधन र दौतरीवाट सिक्नेजस्ता एकभन्दा बढी माध्यमवाट शिक्षा दिने व्यवस्था मिलाउनुपर्ने छ भन्ने उल्लेख छ भने यसैको उपदफा–७ मा नेपाल सरकारले दृष्टिविहीन, बहिरा, सुस्तश्रवण, श्रवण दृष्टिविहीन भएका अपाङ्गता भएका व्यक्तिलाई उपयुक्त भाषा तरिका, लिपि, पाठ्यक्रम, पाठ्यपुस्तकलगायतका पहुँचयुक्त सूचना प्रविधिको माध्यमबाट तोकिएबमोजिम शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउन सकिने छ भन्ने उल्लेख छ ।
अपाङ्गता भएका व्याक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (कन्भेन्सन अन द राइट्स अफ पर्सन विथ डिसेबिलिटिज एन्ड अप्सनल प्रोटोकल–यू.एन.सी.आर.पी.डी.–२००६) को अनुमोदनसमेत भइसकेको र नेपाल त्यसको पक्षराष्ट्र भएको छ ।
यसको धारा २४ को दफा ३ क मा ब्रेल वैकल्पिक लिपि सम्बद्र्धनात्मक तथा वैकल्पिक तरिका साधन र ढाँचा तथा पूर्वाभास र गमनशील सिप सिक्न सहज तुल्याउने साथै दौतरीबाट सिक्ने कला र परामर्स सहज बनाउने उल्लेख छ भने यसै धाराको दफा ३ ग मा दृष्टिविहीन, बहिरा वा श्रवण दृष्टिविहीन व्यक्ति, खासगरी बालबालिकालाई सबैभन्दा उपयुक्त भाषा र तरिका तथा सञ्चार माध्यमवाट एवम् प्राज्ञिक र सामाजिक विकासलाई अधिकतम बनाउने वातावरणमा शिक्षा प्रदान गरिएको सुनिश्चित गर्ने उल्लेख छ ।
यी माथि दिएका कानुनी प्रावधानले यस पुस्तकालयको उद्देश्यसँग प्रत्यक्ष सम्बन्ध राखी संस्थाका उद्देश्य र कार्यक्रमले पनि माथिका उद्देश्यलाई सफल पार्न चाहन्छ । तसर्थ वर्तमान सन्दर्भमा यस पुस्तकालयको स्थापना र विकास हुनु सकारात्मक र समयको सन्दर्भलाई महसुस गरेको ठहर्छ ।
अन्त्यमा, महामानव लुइज ब्रेल जन्मेका दिन उनको स्मरणमा अन्तरक्रिया कार्यक्रम गर्न पाउँदा हामी हर्षित छौँ । आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्न सबैको प्रेरणा र सहयोगवाट हामी उत्साहित हुने छौँ ।
नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिको विषयमा लिएको शिक्षानीति प्रभावकारी छ । उक्त नीतिलाई सफल पार्न श्रव्य पुस्तकालयको कार्य विशिष्ट प्रकारको रहने छ । यसमा नेपाल सरकारले उचित बजेटको व्यवस्था गर्नुपर्छ । यो पुस्तकालय राष्ट्रियस्तरको भएको हुनाले सबै क्षेत्रमा श्रव्यपुस्तक पुर्याउने र यसका शाखा विस्तार गर्ने रहेको छ । तिनै प्रकारका सरकारले सरकारी सूचना दृष्टिविहीनका लागि ब्रेललिपिमा निर्माण गर्नुपर्छ, जसले ब्रेललिपिको संरक्षण र विकास दृष्टिविहीनलाई रोजगारको अवसर सुनिश्चित गर्दछ भन्ने व्यावहारिक वा सैद्धान्तिक अवधारणा रहेको छ ।
(२१२औँ लुइज ब्रेल दिवसको अवसरमा २०७७ पुस २० गते तदनुसार जनवरी ४, २०२१ का दिन आयोजित अन्तरक्रियामा प्रस्तुत श्रव्य पुस्तकालय तथा श्रोत केन्द्र नेपालका अध्यक्ष तिवारीद्वारा प्रस्तुत)