वीरेन्द्रनगर । राष्ट्रिय जनमोर्चाको कर्णाली प्रदेश समितिले प्रतिनिधि सभा विघटनका विरुद्ध कार्यक्रम तय गर्ने योजनाका साथ प्रदेशस्तरीय कार्यशाला सम्पन्न गरेको छ ।
राजमो अध्यक्ष चित्रबहादुर केसी, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र राजमो महासचिव जनकराज शर्माको विशेष उपस्थितिमा २०७७ पुस १९ गते भर्चुअल प्रविधिबाट सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सुरुमै तात्कालिक राजनीतिक परिस्थति, आन्दोलन र सङ्गठन निर्माणसित विषयमा सम्बन्धित रहेर राजमो अध्यक्ष चित्रबहादुर केसी, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र राजमो महासचिव जनकराज शर्माले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा राजमोका केन्द्रीय, प्रदेश र जिल्लास्तरका नेताहरूको सहभागिता रहेको थियो ।
कार्यशालाले आगामी माघ मसान्तसम्म प्रतिनिधि सभा विघटन विरुद्ध विरोधसभा, कोणसभा, सङ्गठन निर्माण तथा परिचालनलगायतका कार्यक्रम सम्पन्न गर्ने योजना बनाएको राजमो कर्णाली प्रदेश समितिका उपाध्यक्ष कमलविक्रम शाहीले बताउनुभयो ।
उहाँका अनुसार राजमो केन्द्रको आयोजना पुस २० गते देशव्यापी रूपमा आयोजित विरोधसभा कर्णाली प्रदेशका जिल्लाहरूमा पनि सम्पन्न हुने भएको छ ।
त्यस्तै, स्थानीयस्तरको कार्यक्रम निश्चित गर्नका लागि पुस २१ देखि २६ गतेसम्म जिल्लास्तरीय भेला आयोजना गरिने भएको छ । उक्त कार्यक्रममा राजमो केन्द्रले निश्चित गरेका केन्द्रीय प्रतिनिधि, राष्ट्रिय परिषद सदस्य, सङ्गठनकर्ता र राजमो तथा जनवर्गीय सङ्गठनका अध्यक्ष र सचिवहरूको उपस्थिति रहने बताइएको छ ।