काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभाको पुनर्स्थापना गर्न माग गर्दै देशब्यापी आन्दोलन घोषणा गरेको छ । संसद विघटन भएको अर्को दिन (पुस ६ गते) देखि नै संघर्षका कार्यक्रम संचालन गर्दै आएको राजमोले देशब्यापी थप कार्यक्रमको घोषणा गरिएको छ ।
आगामी माघ महिना भरीका लागि घोषित कार्यक्रम अनुसार यही पुस २१ देखि पुस मसान्तसम्म विभिन्न जिल्लाहमा कार्यकर्ता भेलाको आयोजना गरिनेछ । ती जिल्ला जाने केन्द्रीय प्रतिनिधिको समेत राजमोले चयन गरिसकेको छ ।
शुक्रबार अध्यक्ष चित्रबहादुर केसीले एक वक्तव्य प्रकाशित गरी माघ महिनाको संघर्षको कार्यक्रममा ‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा तथा संघीयता र भ्रष्टाचारको विरोधका लागि यसअघि नै तय भएका संघर्षलाई पनि निरन्तरता दिइने स्पष्ट पार्नुभएको छ ।
यस्तो छ, वक्तव्य
आज २०७७ पौष १७ गते बसेको राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको बैठकले ओली सरकारद्वारा संसदको विघटन गरेपछि उत्पन्न राष्ट्रिय संकटको विषयलाई लिएर थप कार्यक्रमको घोषणा गरेको छ । त्यसबारे जानकारी दिन यो वक्तव्य जारी गरिएको छ ।
ओली सरकारको संसद विघटन गर्ने कार्यबाट देशको लोकतन्त्र र संविधानमाथि गम्भीर प्रकारको कुठाराघात भएको छ । त्यसबाट गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षतामा समेत गम्भिर आँच पुग्ने सम्भावना देखापरेको छ । त्यसैले हाम्रो पार्टीले संसदको विघटनको कडा शब्दमा विरोध र भत्र्सना गर्दै संसदको पुनस्र्थापनाको लागि देशव्यापी रुपमा संघर्ष गर्ने निर्णय गरेको छ ।
आज एकातिर कोरोना भाइरसका कारणले देश गम्भिर संकटको मुखमा उभिएको छ भने, अर्कोतिर प्रतिगामीले गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गर्दै राजतन्त्रको पुनस्र्थापना र नेपाललाई हिन्दुराष्ट्र बनाउनका लागि सडकमा देखा परिरहेका छन् । देशको राष्ट्रियतामा पनि गम्भिर प्रकारको आँच पुगेको छ । त्यो स्थितिमा गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता समेतका पक्षका सबै राजनीतिक शक्तिहरु र जनतामा समेत व्यापक ऐक्यबद्धता तथा राजनीतिक स्थिरताको गम्भिर आवश्यकता छ । त्यो बेलामा ओली सरकारको कदम गम्भीर प्रकारको गैरजिम्मेवार कदम हो । यो कुरा स्पष्ट छ कि त्यस प्रकारको कारबाहीको संवैधानिक वा राजनीतिक प्रकारले कुनै औचित्यता छैन । त्यसैले त्यो कारबाहीका विरुद्ध व्यापक आन्दोलन अहिलेको राष्ट्रिय आवश्यकता भएको छ ।
उक्त विषयमा संसदको विघटन भएको अर्को दिन, अर्थात पुष ६ गते देखि नै हामीले संघर्षको कार्यक्रम संचालन गर्दै आएका थियौँ । त्यसका लागि अब थप कार्यक्रमको घोषणा गरिएको छ । त्यो कार्यक्रम तल लेखिएअनुसार हुनेछः
१) यही पौष १९ गतेसम्म आन्दोलनको प्रचारात्मक कार्य गर्ने । त्यसका लागि मुख्य रुपले प्रदेश स्तरमा अनलाईनका कार्यशालाहरुको आयोजना गर्ने । यो अवधिमा विभिन्न स्तरका बैठकहरु गरेर आन्दोलनको तैयारी गर्ने । त्यो कार्यक्रमलाई अब बाँकी रहेको २ दिनमा पनि निरन्तरता दिईनेछ ।
२) पौष २० गते देशव्यापी रुपमा जिल्ला स्तरमा सभा, जुलुश, कोण सभा, मोटरसाइकल ¥याली, मसाल जुलुश आदि जे सम्भव छ त्यो कार्यक्रम सम्पन्न गर्ने ।
३) पौष २१ गतेदेखि पौषको मसान्तसम्म जिल्ला स्तरमा कार्यकर्ताहरुको भेला गरेर आन्दोलनको ठोस कार्यक्रम बनाउने ।
४) माघ १ गतेदेखि मसान्तसम्म पालिका वा वडा स्तरमा पनि प्रचारात्मक वा सङ्घर्षका कार्यक्रमहरुको साथै अन्य सम्भव भएका कार्यक्रमहरु पनि संचालन गर्न पहल गर्ने । त्यस प्रकारका कार्यक्रमहरु प्रदेश वा जिल्लाहरुले आफ्नो स्थिति अनुसार प्रदेश वा जिल्ला स्तरमा पनि निश्चित गर्न सक्नेछन् ।
माघ महिना भरिको कार्यक्रम निश्चित गर्न पौष २१ गतेदेखि मसान्तसम्म विभिन्न जिल्लाहरुले माथि लेखिए अनुसारका भेलाहरु सम्पन्न गरिसक्नु पर्नेछ । ती भेलाहरुमा उपस्थित हुनका लागि तल लेखिए अनुसारका केन्द्रीय प्रतिनिधिहरुको ठेगान भएको छः
१ नम्बर प्रदेशमा चन्द्रबहादुर केसी, २ नम्बर प्रदेशमा हिमलाल पुरी, दाङ– रश्मीराज नेपाली, बागलुङ– जनकराज शर्मा, प्यूठान, काठमाडौँ– आनन्दराज शर्मा, अर्घाखाँची, नवलपुर र चितवन– भैरव रेग्मी, गुल्मी र रुपन्देही– सुरेश थापा, पाल्पा– शेरबहादुर विसी, परासी– कृष्ण पौडेल, रोल्पा– काशीनाथ पोख्रेल, कपिलवस्तु– दुर्गा पौडेल, बाँके– कृष्ण खड्का, बर्दिया– वासुदेव पोख्रेल, सुर्खेत– हरि आचार्य, दैलेख– तुल्सीराम सापकोटा, कालिकोट– कृष्णराज पाण्डे, रुकुमपश्चिम र सल्यान– रत्नविक्रम प्यासी, डोटी– आरसी भट्ट, कैलाली– मनोज भट्ट, कञ्चनपुर– नन्दराज भट्ट, डडेलधुरा– हरिकृष्ण पाण्डे, कास्की– कृष्ण अधिकारी, स्याङ्जा– शङ्कर बराल, पर्वत– कृष्ण थापा, म्याग्दी– अमर थापा, ललितपुर र मकवानपुर– मीना पुन, सिन्धुली– निमबहादुर बुढाथोकी, भक्तपुर– रामप्रकाश पुरी । विभिन्न जिल्लाहरुमा तोकिएका प्रतिनिधिहरुले सम्बन्धित जिल्लासित सम्पर्क गरेर भेलाको दिन र स्थान निश्चित गर्नुपर्नेछ । उपर्युक्त तोकिएका जिल्लाहरु बाहेक अन्य जिल्लाहरुमा भेलाहरुका लागि प्रतिनिधिहरु तोक्ने काम सम्बन्धित प्रदेश समितिहरुले नै गर्नेछन् ।
माघ महिनाको संघर्षको कार्यक्रममा गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा तथा संघीयता र भ्रष्टाचारको विरोधका लागि पनि पहिलेको संघर्षलाई निरन्तरता दिनुपर्नेछ ।
उपरोक्त आन्दोलनको शिलशिलामा हाम्रो मुख्य विषयहरु संसदको विघटनको विरोध र विघटित संसदको पुनस्र्थापना नै हुनेछन । उक्त दुबै मागहरुसित सहमत हुने वा त्यसो हुन नसके पनि संसदको विघटनको विरुद्ध आउने शक्तिहरुसित पनि सम्भव भएका स्थानहरुमा मिलेर वा कोर्डिनेशन गरेर संघर्षलाई अगाडि बढाउने प्रयत्न गर्नुपर्नेछ तर त्यसो गर्दा राजावादीहरुसित कुनै एकता नगर्ने हाम्रो नीति हुनेछ । उक्त संघर्षको शिलशिलामा हाम्रो मुख्य जोड आफ्नो एकल आन्दोलनमा नै हुनेछ र हुनुपर्दछ ।
अन्तमा, उक्त सङ्घर्षका कार्यक्रमलाई सफल पार्न हामीले सम्पूर्ण लोकतन्त्र र न्यायप्रेमी जनतासँग अपील गर्दछौँ ।’