काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार तथा हत्याकाण्डमा बर्खास्त भएका एसपी डिल्लीराज विष्टको पुनर्वहाली भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले एसपी विष्टलाई पुनर्वहाली गरेको हो ।
विष्टसँगै निलम्बनमा परेका अन्य प्रहरी अधिकारीहरु भने यसअघि नै काममा फर्किसकेका छन् । एसपीको हकमा मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने भएकाले उनको पुनर्वहाली ढिलो भएको हो ।
२०७५ साउन १० गते भएको कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । सो घटनाको छानविनमा लापरवाही गरेको आरोपमा सरकारले एसपी डिल्लीराज विष्टलगायत प्रहरी अधिकारीहरुलाई निलम्बन गरेको थियो ।
भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गरिएका प्रहरी अधिकारीहरुलाई पछि अदालतले निर्दोष सावित गरेको थियो ।
जिल्ला अदालत कञ्चनपुरले बर्खास्तमा परेका विष्टसहित निलम्बन गरिएका सबै प्रहरीहरूलाई गत साउन १५ गते सफाइ दिने फैसला गरेको थियो।
विष्टसहित मुद्दा खेप्ने प्रहरीहरूमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदिशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउद थिए।
अन्य निलम्बनमा परे पनि विष्ट र प्रहरी निरीक्षक भट्टलाई प्रधान कार्यालयको सिफारिसमा गृहले बर्खास्त गरेको थियो। भट्टलाई पनि पुनर्वहाली गर्न मन्त्रिपरिषदले निर्णय गरेको एक मन्त्रीले बताए।