काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनले पछिल्ला वर्षमा आपसी सम्बन्धलाई बलियो बनाउँदै विभिन्न क्षेत्रमा सम्बन्धलाई नयाँ उचाइमा लान पु-याउन सक्षम भएको बताउनुभएको छ ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको प्रमण्डलसँगको गए राति भएको शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले नजीकको छिमेकी र नेपालको मित्रका नाताले चीनले गर्दै आएको सहयोग र सहकार्य यथावत् रहने विश्वास पनि व्यक्त गर्नुभयो ।
सो अवसरमा उपमन्त्री क्वोले चिनियाँ राष्ट्रपति सि चीनफिङले नयाँ वर्ष २०२१ का लागि पठाउनुभएको शुभकामना सन्देश प्रधानमन्त्री ओलीलाई सुनाउँदै चीन र नेपालबीचको आपसी सम्बन्ध तथा दुई कम्युनिष्ट पार्टीबीचको भाइचारा सम्बन्ध गाढा हुँदै गएकामा खुशी व्यक्त गर्नुभएको थियो । उक्त प्रमण्डलले गए राति राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गरेको थियो ।
नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचका विविध आयामबारे विचारविमर्श
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौले भेटवार्ता गर्नुभएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा आपसी हित, दुई देशबीचको सम्बन्ध र दुई दलबीचका विविध आयामबारे विचारविमर्श भएको भएको थियो ।
अध्यक्ष दाहालको सचिवालयका अनुसार उहाँहरुबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो । चिनियाँ कम्युनिष्ट पार्टी, अन्तरराष्ट्रिय विभागका उपमन्त्रीसहितको प्रतिनिधिमण्डल आइतबार नेपाल भ्रमणमा आएको हो । यस्तै आजै सो समूहका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसँग पनि चिनियाँ कम्युनिष्ट पार्टीकोे प्रतिनिधिमण्डलले भेटवार्ता गर्ने कार्यक्रम छ । (रासस)