हिमलाल पुरी ।।
१. यस विचार गोष्ठिको कार्यक्रमका अध्यक्ष, आयोजक, राजनीतिक दल तथा संगठनहरुका अतिथि कामरेडहरु एवं कार्यक्रममा सहभागी मित्रहरु, सबैलाई हार्दिक अभिनन्दन गर्दछु । आज २६ डिसेम्बर विश्व सर्वहारा वर्गका महान नेता का. माओत्सेतुङको १२८ औं जन्म जयन्तीको अवसरमा उहाँ र विश्व सर्वहारा वर्गका महान नेताहरु– कार्ल माक्र्स, फ्रेडरिक एंगेल्स, भ्ला.ई. लेनिन तथा स्टालिनप्रति हार्दिक श्रद्धा व्यक्त गर्दछु ।
२. “माओवाद” र “माओ विचारधारा”माथि हुने बहस सैद्धान्तिक बहस हो । यस्तो बहसमा सम्बन्धित विषय र स्थितिलाई स्पष्ट गर्दा तथा गलत कुरालाई औल्याउँदा वा मैत्रिपूर्ण आलोचनागर्दा त्यसले कम्युनिस्ट आन्दोलनलाई मद्दत पुग्दछ । अहिले हामी देशको राष्ट्रियता, गणतन्त्र तथा जनहितको पक्षमा संयुक्त कार्यक्रमहरु गर्दैआएका छौँ । कतिपय घटकहरुका बीचमा संगठनात्मक एकताको आवश्यकताबारे छलफल पनि हुने गरेका छन् । यस्ता बहस, छलफल वा अध्ययनले उक्त कुराहरुलाई मद्दत नै पुग्दछ ।
३. सामान्यतः “वाद” सार्वभौम वा विश्वव्यापी प्रकृतिका सुसंगत सिद्धान्तहरुको एउटा विश्वदृष्टिकोण हो । त्यसप्रकारको विश्वदृष्टिकोण एउटा युगको दर्शन हुन सक्दछ । “विचारधारा” त्यस्ता सिद्धान्तहरुलाई खास सन्दर्भमा वा आमरुपमा गरिएको व्याख्या÷विश्लेषण वा थप सिद्धान्त हो, जुन त्यो विश्व दृष्टिकोणको अंग बनेको हुन्छ । प्राकृतिक नियमका सिद्धान्त बाहेक सामाजिक, आर्थिक तथा राजनीतिक आदि विषयका सिद्धान्तहरु समय सापेक्ष हुन्छन् र त्यो बेलाको लागि सत्य हुन्छन् । त्यो बेलाको परिस्थिति बदलिएमा तिनीहरु पनि बदल्नुपर्ने अवाश्यकता हुन्छ । कार्ल माक्र्स र फ्रेडरिक ऐंगेल्सले द्वन्दात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, समाजवाद, साम्यवादका सिद्धान्तहरुको निरुपण गरे, जसलाई हामीले “माक्र्सवाद” भन्दछौँ । लेनिनले यो “माक्र्सवाद”लाई रुसी क्रान्तिमा सफल प्रयोग गरे । त्यसक्रममा उनले आजको विश्व व्यवस्थालाई “साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग” को संज्ञा दिए । यस युगमा हुने क्रान्तिको मार्गदर्शन गरे । माओत्सेतुङले यसै युगमा सामन्तवादी एवं साम्राज्यवादी उत्पीडनमा परेका तथा विकास वा औद्योगिक रुपले पछाडि परेका देशमा नयाँ जनवादी क्रान्तिको आवश्यकतको पहिचान र त्यसको विष्लेषण गरे । त्यस अनुसार चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो र समाजवादको लागि मार्ग प्रसस्त भयो ।
४. आजको विश्व र नेपालको कम्युनिस्ट आन्दोलनमा समेत “माओवाद” र “माओ विचारधारा”का बारेमा सैद्धान्तिक विवाद चलिरहेको छ । यो विवाद आजको सन्दर्भमा माओका “विचार” वा उनका योगदानहरुलाई “माओवाद”को रुपमा ग्रहण गर्ने कि “माओ विचारधारा”को रुपमा ग्रहण गर्ने भन्ने हो । उपरी रुपबाट हेर्दा वा शब्दावलीमाथि विचारगर्दा “माओवाद” र “माओ विचारधारा” मा त्यति तात्विक फरक जस्तो नलाग्न सक्छ । “माओवाद” मान्दा माओत्सेतुङको सम्मान हुने वा चाडै क्रान्ति हुने भ्रम पनि हुन सक्छ । तर, यथार्थ त्यस्तो छैन र हुँदैन । माओत्सेतुङ कै पालामा, उनले नेतृत्व गरेको चीनको कम्युनिस्ट पार्टीमा माओत्सेतुङका विचार वा योगदानहरुलाई “माओवाद” मान्ने विचार लिन पियाओले उठाएका थिए । उनले त्यतिबेलै “संसारले माओत्सेतुङ विचारको नयाँ युगमा प्रवेश गरेको” बताएका थिए । चीनको नयाँ जनवादी क्रान्ति र विश्व कम्युनिस्ट आन्दोलनको लागी तथा माक्र्सवाद, लेनिनवादको विकाशमा माओत्सेतुङका ऐतिहासिक योगदानको महत्वलाई विश्वभरीका कम्युनिस्टहरुले स्वीकार गर्दछन् । तर, चीनको कम्युनिस्ट पार्टीले माओत्सेतुङको विचार वा योगदानहरुलाई “माओवाद” मान्न स्वीकार गरेन । सुरुमा रिम र त्यसको एउटा घटक आर.सि.पी अमेरिकाले उक्त “माओवाद” को अवधारणालाई लिन पियाओवादी धारणा बताएर अस्वीकार गरेका थिए । नेपालमा माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्दैआएको तत्कालिन नेकपा (मशाल)ले “माओवाद” को नाममा जुन राजनीतिक, सांगठनिक र संघर्षका रुपहरु अपनायो, त्यसको पाठ हाम्रो सामु छ । त्यसकारण, “माओवाद” र “माओ विचारधारा”को अर्थ, स्प्रीट र तिनको राजनीतिक कार्यदिशा स्वाभाविक रुपमा फरक छ । “माओवाद” ले आजको विश्व कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनमा सही मार्ग–दर्शन गर्दैन । त्यो कुरा व्यवहारमा नै प्रष्ट भएको छ ।
५. चीनको कम्युनिस्ट पार्टी र विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट क्रान्तिकारी पार्टीहरुले सामान्यतः “माक्र्सवाद, लेनिनवाद र माओ विचारधारा”लाई मार्ग–दर्शक सिद्धान्त मान्दै आएका थिए र छन् । पछिल्ला दिनमा कतिपय पार्टीहरुलाई माओ विचारधाराको ठाउँमा “माओवाद” मान्नु पर्ने आवश्यकता किन पर्यो ? के “माओवाद” ले आजको विश्व कम्युनिस्ट क्रान्तिको लागि सही मार्ग–दर्शन गरेको छ ? “माओवाद”का नाउँमा आज ती पार्टीहरुका गतिविधिहरु र परिणामहरु सही छन् ? विषयका समग्र पक्षहरुमाथि विचार गर्यौँ भने सैद्धान्तिक र व्यवहारिक रुपमा “माओवाद” र माओ विचारधाराको फरक कार्यदिशा र यथार्थता थाहा हुन्छ ।
६. विश्वको र नेपालको कम्युनिस्ट आन्दोलनमा माओ विचारधाराको मार्ग–दर्शन अपरिहार्य छ । “माओवाद”को खण्डन वा आलोचनागर्दा माओ विचारधाराको अवमूल्यन नहोस् भन्ने कुरामा हामी सचेत हुनु पर्छ । कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले द्वन्दात्मक भौतिकवादी सिद्धान्तहरु (माक्र्सवाद)को प्रतिपादन गरे । त्यो उनीहरुको शुद्ध प्रतिपादन होइन । हेगेलको द्वन्दवादी सिद्धान्त र फयरवाखको भौतिकवादी सिद्धान्तमाथि विकाश गरेका हुन् । माक्र्सवादलाई लेनिनले रुसी कम्युनिस्ट आन्दोलनमा प्रयोग गरे । त्यहाँ समाजवादी क्रान्ति सम्पन्न भयो । त्यसक्रममा लेनिनले माक्र्सवादको विकाश गरे र माक्र्सवाद, लेनिनवाद भयो । माओत्सेतुङले माक्र्सवाद र लेनिनवादको प्रयोग चीनको कम्युनिस्ट आन्दोलनमा गरे । त्यहाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । त्यसक्रममा माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराको विकाश भयो । यसरी विश्वभरको कम्युनिस्ट आन्दोलनको लागि माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराको विकाश भएको छ । यसको आलोक मै विश्वभर कम्युनिस्ट क्रान्तिहरु (समाजवादी र नयाँ जनवादी क्रान्तिहरु) भएका थिए र भविष्यमा पनि हुनेछन् ।
७. सन् १९२१ मा चीनमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । १९३५ देखि १९७६ सम्म माओत्सेतुङले केन्द्रीय नेतृत्वमा रहेर काम गरे । १९४९ मा त्यहाँ माओत्सेतुङको नेतृत्वमै नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो । त्यसक्रममा उनले त्यहाँको सामन्तवाद र साम्राज्यवादका विरुद्ध निर्मम संघर्ष गरे । त्यसक्रममा उनले आफ्नो अध्ययनलाई पनि बढाए । मुख्यतः उनले व्यवहार मै सिके । त्यसरी उनले दार्शनिक, राजनीतिक, संगठनात्मक तथा संघर्षको बारेमा ज्ञान र अनुभवहरु हासिल गरे । त्यसले माक्र्सवाद, लेनिनवादमा गुणात्मक विकाश ल्याएको छ र माओविचारधाराको रुपमा त्यसको अंग बनेको छ ।
८. उनले आधुनिक संशोधनवादका विरुद्ध संघर्ष गरेर माक्र्सवाद र लेनिनवादको रक्षा गरे । समाजवादी व्यवस्थामा पनि वर्गहरुको अस्तित्व हुन्छ र वर्ग संघर्षलाई निरन्तर जारी राख्नु पर्ने आवश्यकतामा जोड दिए । अर्ध सामन्ती र अर्ध औपनिवेशिक समाज भएका देशमा नयाँ जनवादी क्रान्तिको आवश्यकतालाई पुष्टि गरे । माक्र्सवादी दर्शन, समाजवाद, अर्थशास्त्र, सैन्य विज्ञान, पार्टी संगठन, पार्टीभित्र दुई लाइनको संघर्ष, सर्वहारा वर्गको अधिनायकत्व, लेनिनवादी संगठनात्मक सिद्धान्त र जनवादी केन्द्रीयताको आधारमा पार्टी संचालन र उदारतावादको विरोध आदि क्षेत्रमा माओत्सेतुङका महत्वपूर्ण योगदानहरु छन् । संशोधनवाद र चीनमा पुँजीवादको पुनस्थापनाको खतराको विरुद्ध महान सर्वहारा सांस्कृतिक क्रान्तिले त सबैभन्दा बढि महत्व राख्दछ । यसरी माओ विचारधाराले विश्वव्यापी रुपमै महत्व राख्दछ ।
९. माओत्सेतुङका उपयुक्त योगदानहरुको कारणले आजको युगको चरित्र बदलिएको देखिदैन र लेनिनवादको सीमाभन्दा अतिरिक्त पनि छैन । माओत्सेतुङका सैद्धान्तिक योगदानहरु माक्र्सवादी, लेनिनवादी सिद्धान्तहरुको विकशीत रुप हो, त्यसमा आफ्नो तर्फबाट नयाँ सिद्धान्तको प्रतिपादन गरेका छैनन् । तर, त्यसकारणले लेनिनको युगको यो चरणमा माओ विचारधाराको महत्वलाई नजरअन्दाज गर्न मिल्दैन ।
१०.“माओवाद” का पक्षधरहरुले “माओवाद” विना क्रान्ति हुन्न भनेर त्यसको विरुद्धको आलोचनाको विरोध गर्दछन् । त्यो कुरा द्वन्दात्मक पद्धति सम्मत छैन । त्यो विरोधको अर्थ माक्र्सवाद, लेनिनवादको विरोध हैन । बरु सही रुपमा माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराको क्रान्तिकारी सारतत्वलाई अगाल्दछ । माक्र्स, ऐंगेल्स, लेनिन, स्तालिन र माओत्सेतुङका योगदानहरुलाई तुलना गरेर कुन ठिक वा कुन बेठिक भन्न मिल्दैन । सबैको आ–आफ्नो क्षेत्रमा महत्व छ । ती सबै सारभूत र एकीकृत रुप आजको माक्र्सवाद हो ।
११. माक्र्सवादले प्रतियोगितात्मक पु“जीवादी युगको प्रतिनिधित्व गर्दथ्यो । त्यसले त्यसकालका पु“जीवादका विशेषता वा समस्या र त्यसमा क्रान्तिको रुपरेखा प्रस्तुत गर्दछ । आजको पुँजीवादले साम्राज्यवादको स्तरमा विकास गरेको छ । औद्योगिक रुपले विकसित देशमा समाजवादी क्रान्ति हुन्छ । आज कुनै पनि देशमा शुद्ध (राष्ट्रिय) पुँजीपति वर्ग र त्यसको प्रतिनिधित्व गर्ने राजनीतिक दल पनि छैनन् र त्यसप्रकारको पुँजीवादी क्रान्ति पनि हुदैन । औद्योगिक रुपले पछाडि परेका देशमा कम्युनिस्ट पार्टीले नै पुँजीवादी क्रान्ति गर्दछ, जसलाई नयाँ जनवादी क्रान्ति भनिन्छ । स्तालिनले लेनिनवादको व्याख्यागर्दै भनेका छन् कि आजको युगलाई साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग र लेनिनवादलाई साम्राज्यवाद र सर्वहारा क्रान्ति (समाजवादी क्रान्ति) को युगको माक्र्सवाद भनेका छन् । वास्तवमा लेनिनवादले यो मरणासन्न साम्राज्यवाद र यो युगमा हुने सर्वहारा क्रान्तिको मार्ग–दर्शन गरेको छ । “माओवाद” ले माक्र्सवादले प्रतियोगीतात्मक पुँजीवाद र लेनिनवादले साम्राज्यवाद र समाजवादी क्रान्तिको युगको जस्तै वस्तुगत रुपमा बेग्लै युगको प्रतिनिधित्व गर्दैन । साम्राज्यवाद र समाजवादी क्रान्तिको युग बदलिएको छैन । माओवादीहरुले “माओवाद” लाई साम्राज्यवाद र समाजवादी क्रान्तिको युगको तेस्रो चरण बताउने गर्दछन् । वास्तवमा त्यो “तेस्रो चरण” साम्राज्यवादी युगभित्रको एउटा अंश मात्र हो । लेनिनवादी युग परिवर्तन भएको छैन र लेनिनवादका मूल सिद्धान्तहरु अप्रासंगिक भएका छैनन् । लेनिनवादी संगठनात्मक सिद्धान्त, जनवादी केन्द्रीयता, रणनीति र कार्यनीतिका प्रश्न, विभिन्न खालका विचलन वा भडकावका विरुद्ध लेनिनवादले गरेको मार्ग–दर्शन आदिले कम्युनिस्ट पार्टीका नीति निरुपण गर्न र संगठनात्मक प्रश्नलाई आलोकित गरेको छ । त्यसकारण, माओ विचारधारा माक्र्सवाद, लेनिनवादको विकाशको एउटा स्थिति हो, छुट्टै चरण होइन ।
१२. “माओवाद” को अवधारणाले वस्तुगत पक्षको उपेक्षा गरेर विषयवस्तुमा आत्मगत तरिकाले विचार गर्छ । माक्र्सवादले प्रतियोगीतात्मक पुँजीवाद र लेनिनवादले साम्राज्यवादको प्रतिनिधित्व गरे झैं यदि “माओवाद”ले पुँजीवादको तेस्रो चरणको प्रतिनिधित्व गर्ने मान्ने हो भने स्तालिनका पनि महत्वपूर्ण योगदानहरु छन् । त्यसकारणले त्यसलाई एउटा चरण मान्नुपर्ने हुन्छ । वास्तवमा सोभियत संघमा समाजवादको निर्माणमा उनको अद्वितीय र ऐतिहासिक भूमिका छ । त्यस्तै गरेर केही नयाँ व्याख्या वा योगदान दिनेहरुका लागि पनि चौथो, पाँचौ आदि चरण र “माओवाद” जस्तै वादहरु थप्दै जानुपर्ने हुन्छ । यो तरिका सही हुँदैन । त्यसकारण, “तेस्रो चरण” र “माओवाद” को अवधारणा माक्र्सवाद, लेनिनवाद र स्वयं माओ विचारधाराको विरुद्ध हुन जान्छ ।
१३. आजको युगमा माक्र्सवाद लेनिनवाद भए झै वा आजको कम्युनिस्ट क्रान्तिकारी आन्दोलनलाई लेनिनवादले बढि मार्ग–दर्शन गरे झैं माओवादीहरुले “माओवाद” लाई “सर्वशक्तिमान” विचारधारा मान्दछन् । यसप्रकारको सोचाईले लेनिनवादको ठाउँ “माओवाद” ले लिनेछ र लेनिनवाद पृष्ठभागमा धकेलिने छ । त्यसको परिणाम स्वरुप आजको कम्युनिस्ट आन्दोलन गलत दिशामा भड्किने छ । आज वास्तवमा दक्षिणपन्थी तथा उग्रवामपन्थीहरुले त्यस्तै गल्ती गरेका छन् । तरबार र हसियाँ दुवै हतियार हुन् । तर, तरबारले घाँस काट्न सकिन्न । त्यस्तै, लेनिनवादको काम “माओवाद” ले गर्दैन । आजको समाजको अवस्था र कम्युनिस्ट आन्दोलनका कैयन पक्षहरुमा माओत्सेतुङले प्रकाश हालेका छन् । त्यो कुरा लेनिनवादमा पनि पाइन्छ । यो स्थितिमा लेनिनवादलाई पछि धकेल्दा माओ विचारधाराको भूमिका समेत कमजोर बन्छ । त्यसको परिणामस्वरुप सिद्धान्त, राजनीति, संगठन तथा व्यवहारमा सिद्धान्तहिन र मनोमानि प्रकारका पद्धतिहरु अपनाउन थाल्छन् । आज नेपालको कम्युनिस्ट आन्दोलन दक्षिणपन्थी, उग्रबामपन्थी र संंकीर्णतावादी दलदलमा फसेको बेला झन बढी अराजकता बढ्ने छ ।
१४. लेनिनका अनुसार वर्तमान युग पुँजीवादको चरम, अन्तरिम र मरणासन्न अवस्था साम्राज्यवाद हो । साम्राज्यवाद र समाजवादी क्रान्तिको काल लेनिनको युगभित्र पर्दछन् । यहीभित्र समाजवादी व्यवस्थामा सर्वहारा अधिनायकत्वको काल पर्दछ । यसैभित्र समाजवाद अन्तरगत चल्ने वर्ग संघर्षहरु र माओत्सेतुङको नेतृत्वमा चीनमा चलेको महान् सर्वहारा सांस्कृतिक क्रान्ति पनि पर्दछ । अर्को कुरा विश्वभरका प्रतिक्रियावादी र अवसरवादीहरुले कम्युनिस्ट आन्दोलनका विरुद्ध विजयका लागि सर्वहारा वर्गको अधिनायकत्व र अन्ततः लेनिनवादमाथि आक्रमण गर्ने गरेका छन् । यस्तो स्थितिमा लेनिनवादलाई भूतकालको विषय ठान्ने र “माओवाद”लाई अगाडि ल्याउदा हाम्रो दृष्टिकोण समेत गलत बन्न पुग्छ ।
१५. त्यसबारे एकाध पक्षमा छलफल गरौँ । सैन्य विज्ञानको क्षेत्रमा माओत्सेतुङको महत्वपूर्ण योगदान छ । तर त्यो योगदान लेनिनवादमाथि नै आधारित छ । लेनिनले सशस्त्र संघर्षलाई विज्ञान र कला दुवै बताएका छन् । ती दुवैका नियमहरुलाई उल्लंघन गरेमा कम्युनिस्ट आन्दोलन दक्षिणपन्थी वा उग्रबामपन्थी भड्कावमा जान्छ । किनकी, लेनिनले सशस्त्र संघर्षको सन्दर्भमा आत्मगत र वस्तुगत दुवै पक्षहरुको सही विश्लेषणको आवश्यकतामा जोड दिएका छन् । यसको अभावमा कुनै बेला जनसंघर्षलाई उपेक्षा गर्ने, सशस्त्र संघर्षलाई यान्त्रिक प्रकारले लिने वा सधैं सशस्त्र संघर्षलाई प्रधान बनाउने गल्तीहरु हुन सदक्छन् । त्यस्तै लेनिनले चुनावको प्रश्नलाई कार्यनैतिक प्रश्न भनेका छन् । त्यस आधारमा भिन्नाभिन्नै अवस्थामा र आन्दोलनको आवश्यकता अनुसार चुनावलाई उपयोग वा बहिस्कार गर्न सकिन्छ । तर, “माओवाद” मान्नेहरुले प्रायः चुनावको प्रश्नमा रणनीतिक बहिस्कार गर्ने गरेको पाइन्छ । यस्तै प्रकारले उनीहरुले पार्टी, संगठन, संयुक्त मोर्चा, कार्यगत एकता, जनआन्दोलन, कार्यशैली, तात्कालिक राजनीतिक लाइन आदिको प्रश्नहरुमा लेनिनवादका सिद्धान्तहरुलाई उपेक्षा गर्ने प्रवृत्तिहरु देखापरेका छन् । त्यतिमात्र होइन, तिनीहरुको असर हाम्रो चिन्तन, प्रणालीमा समेत पर्दछ । त्यसको परिणामस्वरुप हरेक क्षेत्रमा उग्रता, यान्त्रिकता वा अराजकता फैलिने छ ।
१६. आज विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । स्थापित समाजवादी व्यवस्थाहरु समाप्त भइसकेका छन् । पेरुको जनयुद्ध पनि समाप्त भएको छ । नेपालमा “माओवाद” को नाममा उग्रबामपन्थी भड्कावको पनि पतन भएको छ । नेपालमा उग्रबामपन्थी भड्काव र दक्षिणपन्थी अवसरवादले कम्युनिस्ट आन्दोलनलाई ठूलो नोक्सान पुगेको छ । यस प्रकारको स्थिति बन्नुमा माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई ठिक प्रकारले ग्रहण नगर्नु नै हो । त्यसमा “माओवाद”को अवधारणाले पनि काम गरेको छ । “माओवाद” को सार र विकशीत रुप “प्रचण्डपथ” बनाउने प्रयत्न पनि भएको थियो । त्यस्तै प्रकारले पेरुको कम्युनिस्ट पार्टीले पनि पहिला “माओवाद” अपनायो, पछि त्यसमा “गोञ्जाओ विचार” अघि सारेको थियो । अहिले त्यहाँको जनयुद्ध पनि समाप्त भएको छ । यसरी हामीले सिद्धान्त र वस्तुगत पक्षलाई राम्ररी आत्मसाथ नगरीकन मार्ग–दर्शक सिद्धान्तहरुबारे निरुपण गर्दा हुने गम्भीर गल्तीहरु व्यवहार मै देखेका छौँ । सिद्धान्त र व्यवहार जोडिएका हुन्छन् । कम्युनिस्टहरुले सधै ठोस परिस्थितिको ठोस विश्लेषणमा जोड दिन्छन् । त्यसको लागि ‘जे जस्तो छ’, त्यस्तै देख्ने र बुझ्नुपर्ने आवश्यकता हुन्छ । “माओवाद” ले माओत्सेतुङका विचार र योगदानहरुलाई ठिक प्रकारले ग्रहण गर्दैन । सिद्धान्तमा हुने गल्तीले कहिलै क्रान्ति सम्पन्न हुँदैन । त्यसैले माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराको गलत समझदारीले “माओवाद” को अवधारणा आएको हो । यसले माओ विचारधाराको तथ्यबाट विचलित पारेको छ, लेनिनवादलाई पछाडि पारेको छ र कम्युनिस्ट आन्दोलनमा क्षति पुराएको छ । माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराको मार्ग–दर्शन मै नेपाल र विश्व क्रान्तिको मार्ग प्रसस्त हुन्छ ।
मिति २०७७ पौष ११ गते (२६ डिसेम्बर २०२०) माओत्सेतुङ्को १२८ औँ जन्म जयन्तीको अवसरमा देशमा राष्ट्रियता र जनहितको पक्षमा संयुक्त संघर्ष गरिरहेका २२ वटा राजनीतिक दल तथा संगठनहरुले हेटौडामा संयुक्त रुपमा आयोजित “आजको सन्दर्भमा माओवाद कि माओ विचारधारा ?” विषयक विचारगोष्ठिमा राष्ट्रिय जनमोर्चाका कोषाध्यक्ष का. हिमलाल पुरीद्वारा प्रस्तुत कार्यपत्र

