धनगढी । भारतीय केरा आयातमा रोक लगाउन गरिएको आन्दोलनका अगुवा राष्ट्रिय जनमोर्चाका नेता लक्षीराम आचार्य धनगढीमा सम्मानित हुनुभएको छ । शनिबार धनगढी उपमहानगरपालिका १८ ‘एफ’ गाउँमा सुरुवात गरिएको सुदूरपश्चिम सामुदायिक कृषि तथा पशु हाट बजार उद्घानका अवसरमा नेता आचार्यलाई सम्मान गरिएको हो ।
आचार्यसँगै कञ्चनपुर गुलरियाका सुरेन्द्र चौधरी, कैलालीको टीकापुरका टेकेन्द्र धामी र महेन्द्रनगरका किसान पूर्ण साउदलाई सम्मान गरिएको थियो । चौधरी र धामी आचार्यसँगै केरा खेती तथा आन्दोलनमा सहभागी हुनुहुन्छ ।
कार्यक्रममा तरकारी कृषक राजु चौधरी, टेकराज जोशी, भगीरथ भण्डारी र टेकराज ओझालाई पनि सो अवसरमा सम्मान गरियो । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले किसानहरुलाई दोसल्ला ओढाउनुका साथै प्रशंसापत्र प्रदान गर्नुभयो ।
राजमो सुदूरपश्चिम प्रदेश सदस्य आचार्यको नेतृत्वमा नेपालमा भारतीय केरा आयात रोक्नुपर्ने र नेपाली कृषकलाई सहुलियत उपलब्ध गराउनुपर्ने मागसहित कैलाली र कञ्चनपुरको सीमा क्षेत्रबाट चलेको आन्दोलनले अहिले देशैभरी प्रभाव पारेको छ ।
कैलालीको गोदावरी नगरपालिका वडा– ६ र ७ मा गरी १५ बिघामा केराखेती गरिरहेका आचार्यकै अगुवाईमा देशभरका केरा किसान संगठित भएर नेपाली किसानहरुले राज्यबाट सहुलियत पाउनुपर्ने आन्दोलन सञ्चालन गरिरहेका छन् ।
कार्यक्रममा सम्मातिन भएपछि आचार्यले किसानहरूका समस्या सम्बोधन गर्न सरकार उदासिन रहेका आरोप लगाउनुभयो । सरकारी ऐनकानून, नीति कृषकका पक्षमा छन्, भएपनि व्यवहारमा वास्तविक किसानका समस्या ज्यूँ का त्यूँ नै रहेको उहाँको भनाई थियो । कृषकहरूलाई समयमै मलखाद, आवश्यक वीऊबिजन, कृषि उपकरणहरू उपलब्ध गराउनेतर्फ सरकारले ध्यान दिन माग गर्नुभयो ।
सुदूरपश्चिम सामुदायिक कृषि तथा पशु हाट बजारले २०६५ सालमा हाट बजार सञ्चालनको तयारी गरेको थियो । विभिन्न समस्याका कारण अधुरो रहेको योजना १३ वर्ष पछि पुरा भएको हो ।