काठमाडौँ । वरिष्ठ प्रगतिवादी स्रस्टा कृष्णप्रसाद श्रेष्ठ (बी.ए. कृष्ण) र माक्र्सवादी चिन्तक मुरारी अर्यालको निधनप्रति प्रगतिशील लेखक सङ्घले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरी र महासचिव समीर सिंहको हस्ताक्षरमा २०७७ मङ्सिर २६ गते जारी प्रेसविप्तिमा श्रद्धाञ्जली दिइएको हो ।
विज्ञप्तिमा भनिएको छ–
“प्रगतिशील लेखक सङ्घ, नेपालको २०७७ मङ्सिर २६ गते प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षतामा बसेको कार्यालय बैठकले हालसालै दिवङ्गत हुनुभएका वरिष्ठ प्रगतिवादी स्रष्टा कृष्णप्रसाद श्रेष्ठ (बी.ए. कृष्ण) तथा मार्क्सवादी चिन्तक मुरारी अर्यालको निधनमा गहिरो शोक व्यक्त गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । बैठकले उहाँहरूको निधनबाट नेपाली प्रगतिवादी एवम् प्रगतिशील साहित्यिक आन्दोलनलाई ठुलो क्षति पुगेको महसुस गर्दै उहाँहरूले आफ्ना कृति र गतिविधिबाट नेपालको सामाजिक सांस्कृतिक रूपान्तरण एवम् राजनैतिक परिवर्तनमा गरेको योगदान सदा स्मरणीय रहने निष्कर्ष निकालेको छ ।”