काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक भएको छ । मङ्गलबार काठमाडौँस्थित नापी विभागमा पत्रकार सम्मेलन आयोजना गरी नेपाल र चीनले एक पटक सगरमाथाको उचाइ सार्वजनिक गरेका हुन् ।
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेर ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर पुगेको घोषणा गर्नुभयो । नेपालको नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेका थिए ।
यस्तै, चीनले पनि छुट्टै मापन गरेको थियो । दुवै देशले छुट्टाछुट्टै स्रोत र साधन प्रयोग गरेर सगरमाथाको उचाइ मापन गरेको भए पनि फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्याङ्क नापी विभागले प्रशोधन गरेपछि नयाँ उचाइ पत्ता लागेको हो ।
यस अघि सन १९९४ मा सर्वे फ इन्डियाले नापेको उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको थियो । तर विवाद देखिएपछि सन २०१० मा नेपाल र चीनबिच ८ हजार ८ सय ४८ मिटरलाई नै मान्यता दिने समझदारी भएको थियो ।
यसपटक सगरमाथाको उचाइको नापिसकिएपछि यही मङ्सिर १० गतेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयाई नयाँ उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो ।