कोलम्बो । श्रीलङ्काको राजधानीमा कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा कोभिड–१९ का कारण भएको दङ्गामा परी आठ व्यक्तिको मृत्यु भएको छ ।
यस दङ्गामा मारिएका सबै व्यक्ति कैदी नै भएका सिन्हवा समाचार समितिद्वारा प्रकाशित समाचारमा जनाइएको छ ।
दङ्गामा परी अन्य ४५ जना घाइते भएका छन् । घाइते भएकाहरूमा सुरक्षाकर्मी पनि रहेका छन् ।
कारागारमा कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवासुविधाको माग गर्दै प्रदर्शन गरेका थिए । राजधानी कोलोम्बोस्थित वेलिकाडा जेलका बन्दीहले छानामा चढेर आफूहरूलाई धरौटीमा छोडियोस् भन्दै प्रदर्शन गरेका हुन ।
बन्दी र कारागारमा खटिएका सुरक्षाकर्मीबिच भएको झडुपमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका बताइएको छ । श्रीलङ्काको जेलमा अहिलेसम्म करिब १,००० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
कारागारमा रहेका बन्दीले सुरु गरेको दङ्गा अनियन्त्रित भएपछि नियन्त्रणमा लिनको लागि बलप्रयोग गर्नुपरेको प्रहरी प्रवक्ता अजित रोहना बताउनुभएको छ । सो दङ्गामा घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको तथा कारागारमा सुरक्षा बढाउन विशेष तालिमप्राप्त कमान्डोहको टोली झिकाइएको पनि रोहनाले बताउनुभएको छ ।
श्रीलङ्कामा कोरोना सुरु भएयता २३ हजार ४०० भन्दा बढीमा कोभिड–१९ को सङ्क्रमण देखिएको र यस सङ्क्रमणबाट ११६ जनाको मृत्यु भइसकेको छ ।