रवि पौडेल ।।
तत्कालीन अखिल भारत नेपाली एकता समाजको स्थापना ७ नोभेम्बर १९७९ मा भारतको बनारसमा भएको थियो । एउटा सानो कोठामा स्थापना भएको एकता समाजले भारतमा यति ठुलो रूप लिने छ भन्ने कुरा कसैलाई थाह थिएन । खासगरी नेपालमा पञ्चायती तानाशाही व्यवस्था देशभरि जालीफटाह, गाउँमा पुलिस–प्रशासनको धरपकड निकै थियो । आफ्ना हक–अधिकारका लागि जुलुस गर्ने र न्याय माग्नेसम्म वातावरण थिएन । यस्तो अवस्थामा रोजीरोटीका लागि भारत पसेका निमुखा लाखौँ प्रवासीलाई सङ्गठित गर्नु र चेतना जगाउन निकै ठुलो चुनौतीपूर्ण काम थियो । खराब व्यसनका कारण नेपालीहरू झैझगडा गर्नेदेखि कमाएको सबै पैसासमेत खर्च गर्ने गर्दथे । हामी किन प्रवासिनुपर्याे ? त्यसबारे उनीहरूलाई कुनै हेक्का थिएन ।
अर्कोतिर, नेपालीहरू भारतमा श्रम गर्ने क्रममा हत्या, लुट, बलात्कार र अन्य अमानवीय व्यवहारको सिकार हुनुपरेको थियो । यिनै हेपिएका, दबिएका र उत्पीडनमा परेका नेपालीलाई न्याय दिलाउने, सङगठित गर्ने, साथै नेपालको वामपन्थी आन्दोलनलाई सहयोग गर्ने उद्देश्य बोकेर यो सङगठनको स्थापना भएको थियो । भारतको गल्ली गल्लीमा भौतारिँदै आफ्नो श्रम बेचिरहेका लाखौँ नेपालीलाई सामाजिक, राजनीतिक र सांस्कृतिक रूपमा सङ्गठित गर्दै मुक्ति आन्दोलनमा सहभागी बनाउन निमित्त अखिल भारतस्तरमा सामाजिक सङ्गठनको आवश्यकता थियोे भन्ने कुरा आज जसले एकता समाजको इतिहासलाई नजिकबाट हेरेको छ, पढेको छ, त्यसैलाई मात्र राम्ररी थाहा छ भन्ने कुरा स्पष्ट छ ।
तत्कालीन एकता समाजको गठन नेपालका वरिष्ठ वामपन्थी नेता, सचेतक र चिन्तकको उपस्थिति र सल्लाहमा नै स्थापना गरिएको थियोे, जसको सभापति गोविन्दसिंह थापा, उपसभापति रामचन्द्र पौडेल (पाण्डिचेरी), मन्त्री पदम राना (फरिदावाद), उपमन्त्री दण्डपाणि न्यौपाने (गोरखपुर) र सदस्यमा राजु नेपाली (नयाँदिल्ली), रतनबहादुर (कलकत्ता), दुर्गाप्रसाद शर्मा (मद्रास) यसरी सात सदस्यीय अखिल भारत नेपाली एकता समाज गठन भएको थियो ।
अखिल भारत नेपाली एकता समाज बलियो सङगठन हो । यो सङ्गठनले स्थापनाकालदेखि नै योजनाबद्ध ढङ्गले भारतका विभिन्न राज्यमा छरिएर रहेका श्रमिक नेपालीलाई सङ्गठित गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा आन्दोलन विकास गरेको छ । यहाँ सङ्गठन र आन्दोलन गर्ने क्रममा देखा पर्ने विभिन्न खाले अवसरबाद र फुटपरस्त तत्त्वलाई किनारा लगाउँदै यो सङगठन अघि बढेको छ । यो सङ्गठनले श्रमजीवी नेपालीलाई सङगठित गर्दै नेपालको वामपन्थी आन्दोलन, विस्तारवादी, राष्ट्रघाती सन्धिसम्झौता, सीमा अतिक्रमण र भारतको आसाम, मेघालयमा नेपालीमाथि हुने ज्यादती विरुद्ध आन्दोलन गर्ने, नेपाल–भारतका प्रतिक्रियावादी सासक विरुद्ध निर्मम सङ्घर्ष गर्दै आएको छ ।
यिनै आरोह–अवरोह पार गर्दै यो सङ्गठनले आफ्ना सात वटा राष्टिय सम्मेलन सानदार रूपमा सफल पारी अहिले आठाँै राष्ट्रिय सम्मेलनको सङ्घारमा उभिएको छ । नेपालमा तत्कालीन माओवादीको कथित जनयुद्ध र त्यसले भारतमा हाम्रो सङ्गठनलाई पारेको असरको मूल्याङ्कन गर्दै फेबु्रअरी १० देखि १३ (२००२) मा सम्पन्न पाँचौँ अखिल भारत सम्मेलनले एकता समाजको अगाडि ‘मूल प्रवाह’ थप्ने ऐतिहासिक निर्णय गरेको थियो ।
एकता समाजले आफ्नो प्रथम राष्ट्रिय सम्मेलन १९८२ को सेप्टेम्बर ५ देखि ७सम्म नयाँदिल्लीमा, दोस्रो राष्ट्रिय सम्मेलन १९८५ डिसेम्बर १० देखि १४ सम्म नयाँदिल्लीमा, तेस्रो राष्ट्रिय सम्मेलन १९८९ नोभेम्बर १३ देखि १७ सम्म कानपुरम, चौथो राष्ट्रिय सम्मेलन १९९५ फेब्रुअरी १५ देखि १९ सम्म नयाँदिल्लीमा, पाँचौँ राष्ट्रिय सम्मेलन २००२ फेबु्रअरी १० देखि १३ सम्म हैदराबादमा, छैटौँ राष्ट्रिय सम्मेलन २००९ सेप्टेम्बर १३ देखि १५ गतेसम्म फरिदावादमा र सातौँ राष्ट्रिय सम्मेलन सेप्टेम्बर २१ देखि २३ सम्म लखनउमा सम्पन्न भइसकेका छन् ।
यहाँसम्म आइपुग्दा यो समाजले भारतका विभिन्न राज्यमा क्षेत्रीय समिति, सयौँ नगर समिति, हजारको हाराहारीमा एरिया समिति र टोल समिति गठन गरेको छ । त्यसका साथै रक्तिम विभाग, समता विभाग, जनजाति विभाग, महिला विभाग र बाल सङ्गठन गठन गर्दै नेपालीलाई सचेत र सङ्गठित गर्दै आइरहेको छ । यसको मातहतमा खेलकुद समिति पनि गठन गरिएका छन ।
एकता समाज हजारौँ कार्यकर्ताको सहयोग, समर्थन र बलिदानबाट अघि बढेको सङ्गठन हो । १९८६ अगस्ट २७ गते सरोज शर्माको दिल्लीमा अकस्मात मृत्यु भयो । उहाँ एकता समाजको कार्यालय सहयोगी हुनुहुन्थ्यो । त्यसका साथै उहाँ नेपाली एकता मासिकको सहसम्पादक पनि हुनुहुन्थ्यो । उहाँ र अन्य सहिदको योगदान खेर जान नदिन र रहेका अपुरा सपना पूरा गर्न हामीले प्रण गर्नुपर्दछ ।
एकता समाजले १९८६ को झुट्टा मुद्दादेखि १९८९ जनवरी २ मा नोएडामा राजु तामाङको हत्या, १९९१ अगस्टमा डिबी नेपालीको हिमाचल प्रदेशको सिमलामा गिरफ्तारी, ५ मे १९९६ मा जम्मुकस्मिरको लासजन एरियामा आठ जना नेपालीको जघन्य हत्या, ६ जुन १९९७ मा दिल्लीको बसन्तकुन्जमा तनहुँकी सुमित्राको हत्या, २४ मार्च १९९८ मा कोइलाखानीमा कुमार राई र उहाँकी श्रीमतीमाथि कुटपिट र श्रीमती अपहरण, ४ मार्च १९९८ मा इँटा कारखानामा फर्सबहादुरको हत्या, ३० जुन १९९८ मा पञ्जाब सङ्गरुरमा धनबहादुरको हत्या गरी कुखुराफार्मभित्र पाँच फिट गहिरो खाल्डोमा गाडेको घटना, दिल्लीमा पंचशील पार्कमा १८ वर्षीय मीना तामाङको हत्या—यी र यस्ता अनेकौँ घटनामा कठिन सङ्घर्ष गर्दै न्यायिक हक र क्षतिपूर्ति दिलाउँदै आएको छ ।
अहिले विश्वव्यापी रूप फैलिएको कोरोनाका कारण भारतमा लामो र पटक–पटकको लकडाउनका कारण अप्ठ्यारोमा परेका लाखौँ श्रमजीवी नेपालीलाई राहत बितरण गर्नेदेखि नोकरी छुटी अलपत्र परेर नेपाल जान चाहनेलाई नेपालसम्म पुर्याउने व्यवस्थासमेत गरेको छ । साथै भारतमा हत्या भएका वा आत्महत्या गरेका नेपालीलाई समेत अप्ठ्यारो परिस्थितिमा पनि अनवरत सहयोग गर्दै आइरहेको छ ।
प्रवासी नेपालीको हक–अधिकार सुरक्षित गर्दै र नेपालको वामपन्थी आन्दोलनमा सहयोग, समर्थन गर्दै देशमा जनउत्तरदायी सरकार गठन गरेर भविष्यमा नेपालीलाई बिदेशिनबाट रोक्ने प्रयास गर्नुपर्दछ । प्रवासि नेपालीको आशाको केन्द्र बनेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजप्रति शुभकामना व्यक्त गर्दछु ।

