हरिकान्त शर्मा ।।
धेरै प्रयास गर्दागर्दैै पनि मलाई कोराना (कोभिड–१९) ले छोयो नै । अहिले म होम क्वारेन्टाइनमा छु । यसअघि मैले १४ दिनको आइसोलेसन पिरियड पूरा गरिसकेको छु । अब होम क्वारेन्टाइनको अवधि पनि पूरा हुनै थालेको छ ।
कोभिड–१९ का कतिपय लक्षण अरूका भन्दा फरक हुन्छन् भन्ने सबैलाई थाह छ । त्यस्तै, कोभिड–१९ को लक्षण नै नदेखिएर सङ्क्रमित हुनेहरूको पनि ठुलो सङ्ख्या छ । मलाई एक रात ज्वरो आएको थियो । त्यसका साथै शरीर र घाँटी दुख्नेजस्ता समस्या पनि देखा परेका थिए । पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । त्यसपछि मैले आइसोलेसन, क्वारेन्टाइनसम्बन्धी सबै प्रक्रिया पूरा गरेँ । अहिले म सामान्य अवस्थामा छु ।
कोभिड–१९ अचम्मको रोग रहेछ । यसको मृत्युदर सामान्यतः अरू रोगको भन्दा कम छ । रोग लाग्दाबित्तिकै ज्यानै जान्छ भन्ने होइन, बरु कतिपय दीर्घरोगी वा औषधिको भरमा बाँचिरहेकाहरूका लागि केही गाह्रो हुन्छ भन्ने अवश्य सत्य हो । त्यसका साथै यो रोगको विशेषता तीव्र गतिमा सङ्क्रमण फैलिनु हो ।
चिकित्सकहरूका अनुसार यो रोग सामान्यतः मुखबाट घाँटीमा प्रवेश गर्दछ; र, कतिपय व्यक्तिको फोक्सो, मुटु र मृगौलामाथि आक्रमण गर्न थाल्दछ । कोभिड–१९ का कारण मृत्यु हुनेहरूमध्ये धेरैको समस्या यही छ, उनीहरूको फोक्सो सङ्क्रमित भइसकेको हुन्छ; र, त्यसरी उनीहरूको मृत्यु भएको हुन्छ । त्यसकारण कोभिड–१९ लागेका मान्छेको फोक्सो, मुटु मृगौलाको सुरक्षा गम्भीर समस्या बनेको छ ।
मुखबाट कोरोनाका जीवाणु शरीरभित्र पस्ने भएकाले मुख्यतः नाक र मुखप्रति सजगता अपनाउनु पहिलो कर्तव्य हो भन्ने लाग्छ । त्यसका लागि गुणस्तरीय माक्स लगाइरहनु र नाक, मुखसम्म हात वा अरू कुनै पनि तरिकाबाट जीवाणु नपुगोस् भन्नका लागि अत्यन्तै सावधानी अपनाउनुपर्ने हुन्छ ।
कोभिड हावाबाट फैलिने रोग हो भनेर अहिलेसम्म घोषणा भइसकेको छैन । त्यस्तै यो रोग वंशाणुगत प्रकृतिको छ भन्ने पनि होइन । कतिपय कोरोना सङ्क्रमितबाट जन्मेका आमाका सन्तानहरूमा कोरोनाको सङ्क्रमण नभएबाट त्यो कुराको सहजै पुष्टि हुन्छ ।
त्यसैगरी, कोभिड–१९ अत्यधिक मृत्युदर भएको रोग पनि होइन । यसबाट सरदर दुई प्रतिशत सङ्क्रमितको मात्र मृत्यु हुने गरेको छ; त्यो पनि दीर्घरोगको कारणले वा सम्बन्धित व्यक्तिको रोग प्रतिरोधी क्षमता (इम्युनिटी पावर) कम रहेको कारले उसको मृत्यु हुने गरेको छ ।
यी तथ्यहरूले बताउँछन्, कोभिड–१९ न त हावाबाट सर्ने रोग हो, न त यो रोग क्यान्सर, एड्सजस्ता एक पटक लागिसकेपछि जीवन जीवन जिउने सम्भावना कम भएको रोग हो । यो रोगलाई यसकारणले गम्भीर मानिएको छ, प्रथम– यस रोगका जीवाणुले रूप परिवर्तन गर्ने भएकाले यसको असर, लक्षणमा विविधता छन् भने द्वितीय– यसको औषधि अझैसम्म पत्ता लागिनसकेकाले उपचारको ठोस विकल्प तयार भइसकेको छैन ।
कोभिड–१९ को ग्यारेन्टीका साथ उपचार गर्नका लागि विश्वभरिका थुप्रै सरकार र कम्पनीहरूले औषधि विकास गरिरहेका छन् । जबसम्म औषधि तयार हुँदैन, तबसम्म समग्र मानव समाजको सामूहिक सजगता, सतर्कताले नै यसको जोखिम न्यूनीकरण गर्न सकिन्छ । यस तथ्यप्रति सबैको सकारात्मक भाव कायम हुनु आवश्यक छ ।
तर मैले स्वयम् आफ्नो अनुभवबाट देखिरहेको छु, कोरोनाका बारेमा मानिसमा प्रशस्त भ्रम छन् । कोरोनाको यथार्थबारे जानकारी कम भएकाले होला, मानिसले यसलाई वास्तविकताभन्दा बढी गम्भीर बनाइरहेका छन् । मानिसमा दुई थरिका अति देखा परेका छन् : एकातिर, एक थरिले कोरोना केही पनि होइन भन्ने हिसाबले लापरबाहीपूर्ण गरिरहेका छन् भने अर्कातिर, यो अहिलेसम्मकै भयङ्कर विश्वव्यापी महामारी हो भन्ने ढङ्गले प्रस्तुत भइरहेका छन् । यसले गर्दा सामाजिक रूपमा एकजुट भएर मानव समाज विरोधी कोभिड–१९ को सामना गर्नमा समस्या देखिने गरेको छ ।
एक पटक कोरोना लागिसकेपछि आइसोलेसन वा क्वारेन्टाइनमा बस्नु यसको आधारभूत उपचार हो । गम्भीर लक्षण देखिएमा होम क्वारेन्टाइनको भर पर्नुहुँदैन, अस्पतालमै भर्ना हुनुपर्ने हुन्छ । कतिपयलाई त भेन्टिलेटरमै राख्नुपर्ने हुन्छ । जसको लक्षण देखिएको छैन, तिनीहरू क्वारेन्टाइनमा नै बसेर आफ्नो उपचार गर्ने, त्यसका साथै अरूलाई कोभिड–१९ को जीवाणु सर्न नपाओस् भन्नेमा सतर्क हुनुपर्दछ । हाल कोरोना सङ्क्रमितको उपचारको सन्दर्भमा देखा परेको कुरा यत्ति हो ।
हाम्रो समाज वर्गीय समाज हो । तर रोगले वर्ग चिन्दैन, कोरोनाले पनि चिनेको छैन । कोरोना लाग्दासाथ आइसोलेसन वा क्वारेन्टाइनमा जानुपर्ने हुन्छ । जसको आफ्नो निजी घर छ, जसलाई त्यति गम्भीर लक्षण देखा परेको छैन भने उनीहरू होम क्वारेन्टाइनमा नै बस्न सक्छन् । तर जसको घर छैन अर्थात् जो बहालमा बस्छन्, तिनीहरू कसरी होम क्वारेन्टाइनमा बस्न सक्छन् ?
त्यस्तै अर्को प्रश्न । जोसित पर्याप्त धनसम्पत्ति छ, उनीहरूलाई गम्भीर लक्षण देखिएमा सुविधासम्पन्न अस्पतालमा गएर उपचार गर्न सक्लान्, तर जोसित धनसम्पत्ति छैन, उनीहरूले कहाँ गएर उपचार गर्ने ? यता, सरकारले विपन्न जनताको बाहेक अरूको निःशुल्क उपचार नगर्ने घोषणा गरिसकेको छ । त्यसमाथि हाम्रो राज्यव्यवस्था यतिसम्म भ्रष्ट छ, वास्तविक विपन्नले सरकारी सुविधा उपभोग गर्नै पाउँदैनन् । कोभिड–१९ को सङ्क्रमणको सुरुवातमा सरकारले राहत वितरण गर्ने भन्यो, तर वास्तविक पीडितहरूकहाँ राहत पुगेन, बरु धेरैथोरै सम्पत्ति भएकाहरूले नै त्यसको फाइदा उठाए । हामीकहाँको वास्तविकता यही हो ।
त्यसमाथि त्यतिखेर तपाईंमाथि अर्को पीडा थपिन्छ, तपाईं विपन्नतप्काको हुनुहुन्छ, तर सरकारको घोषणाले तपाईंलाई छुँदैन । यता, समाजमा भने कोरोना सङ्क्रमितप्रति यस्तो छुवाछूतजस्तो भावना विद्यमान छ, पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि सजग, सतर्क हुनु त स्वाभाविकै हो, फलानो व्यक्तिलाई परीक्षण गरिएको छ भन्ने थाह पाउनासाथ छुवाछूतसरहको व्यवहार सुरु गर्न थालिहालिन्छ । लक्षण नदेखिएका सङ्क्रमितलाई होम क्वारेन्टाइन वा सामूहिक व्यवस्थापनको क्वारेन्टाइनमा बसाल्न सहयोग गर्नुपर्नेमा तथा ती सङ्क्रमितहरू कोठाबाहिर निस्कन नमिल्ने भएकाले उनीहरूलाई सजगतापूर्वक सहयोग गर्नुपर्नेमा उल्टै कुष्ठरोगीलाई जस्तो व्यवहार गरिन्छ । मैले धेरै ठाउँमा यस खालको समस्या देखेको छु ।
जसलाई कोरोनाले छोयो, उसलाई रोगकै कारणले आइपर्ने शारीरिक, मानसिक समस्या त छँदै छ, त्यसमाथि जब समाजले समेत छुवाछूतजस्तो व्यवहार गर्दछ, विचार गर्नुहोस्, त्यतिखेर कोरोनापीडित व्यक्तिको मनोदशा कस्तो होला ? यस्तो अवस्थामा कतिपय कोरोनापीडितले आत्महत्याको बाटो नसमात्लान् भन्न सकिन्न । यसरी सरकार मात्रै हैन, वरिपरिका समाजको व्यवहार सही नहुँदा कोरोनापीडितको अवस्था छिन छिनमा मृत्युको मुखसम्मै पुगिरहेको हुन्छ ।
म आफै भुक्तभोगी भएका कारण आम जनतासित अपिल गर्न चाहन्छु, कोरोनापीडितलाई कुष्ठरोगीसरहको व्यवहार नगरौँ, बरु उसलाई आइसोलेसन वा क्वारेन्टाइनमा बस्ने वातावरण मिलाइदिन आवश्यक सहयोग गरौँ । सजगता, सतर्कता अपनाउनैपर्दछ । तर कोरोनापीडितलाई सामाजिक बहिष्कारजस्तो व्यवहार नगरौँ । यदि त्यसो गर्ने हो भने पीडित व्यक्तिको कोरोनाका कारणले मृत्यु होला÷नहोला, मानसिक, सामाजिक दबाबले उसको पहिले नै मृत्यु हुन सक्दछ । त्यसकारण जिम्मेवार बनौँ, सजग र सतर्क बनौँ । कोरोना सिङ्गै मानव समाजको दुस्मन हो । त्यसको सामूहिक–सार्वजनिक रूपले सामना गरौँ; र, तत्कालका लागि यसको जोखिम न्यूनीकरण गर्नमा सबै लागौँ ।

