काठमाडौं । कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘आगामी केही दिन वास्तविक परीक्षाको घडी’ हुने बताएका छन् । शनिवार साँझ ट्विटरमा भिडिओ पोस्ट गर्दै ट्रम्पले आफ्नो स्वास्थ्यमा सुधार भएको जानकारी पनि दिएका छन् ।
चार मिनेट लामो भिडिओ सन्देशमा राष्ट्रपति ट्रम्पले वाशिङ्टनस्थित द वाल्टर रीड न्याश्नल मिलिटरी मेडिकल सेन्टरका चिकित्सक तथा नर्सहरूलाई धन्यवाद दिएका छन् ।
‘म यहाँ आउँदा मेरो स्वास्थ्य त्यति राम्रो थिएन। अहिले म पहिलाभन्दा राम्रो महसुस गरिरहेको छ,’ उनले भनेका छन्, ‘मेरो विचारमा आउँदा केही दिन वास्तविक परीक्षाको हुनेछ । अब हेरौँ के हुन्छ ।’
उनले आफू निर्वाचन प्रचारप्रसारमा फर्किन चाहेको पनि बताए। नोभेम्बर ३ मा हुने राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडनसँग ट्रम्पको प्रतिस्पर्धा हुँदैछ । राष्ट्रपतीय चुनावको जम्मा ३२ दिनअघि ट्रम्पलाई कोरोनाभाइरस पोजिटिभ देखिएको थियो ।
अमेरिकी राष्ट्रपतीय निर्वाचन प्रत्येक चार वर्षमा नोभेम्बरको पहिलो सोमवारपछि आउने मंगलवार हुनेगर्छ । त्यसरी नै यसको मिति यो वर्षको ३ नोभेम्बरलाई तय गरिएको हो ।