ऋषिराम सापकोटा
शिक्षा जीवनपर्यन्त चलिरहने प्रकृया हो । समय र परिस्थितिअनुरूप शिक्षा लिने र दिने प्रक्रिया फरक–फरक हुन्छ । मानव सभ्यताको उत्पत्ति र विकाससँगसँगै ज्ञान र सिपलाई स्थानान्तरण गर्ने विधि र तौरतरिका फरक–फरक ढङ्गबाट विकसित भएको पाइन्छ । शिक्षाको विकास व्यावहारिक शिक्षाको माध्यमबाट अगाडि बढेको पाइन्छ । आदिम युग अर्थात् जङ्गली युगमा जीवन जिउनका लागि आफ्ना अग्रज बाबुआमाबाट छोराछोरीमा स्थानान्तरण हुने ज्ञान सिपशिक्षा थियो । खानाका लागि सिकार गर्न जानु, धारिलो हतियार बनाउनु, रुख चढ्न जान्नु, खान हुने÷खान नहुने कन्दमूल चिन्नु, ओखतीमुलो चिन्नु आदि कुरा व्यावहारिक जीवनोपयोगी शिक्षाको रूपमा अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई हस्तान्तरण गरेको पाइन्छ ।
मानिसले प्रकृतिले दिएका उपहारको बारेमा खोजी गर्न थाल्यो । ज्ञानको खोजी गर्ने व्यक्ति गुरु कहलिए । त्यसपछि गुरुचेलाको सम्बन्धबाट ज्ञान स्थानान्तरण गर्ने र सिप सिकाउने प्रचलन आयो, जसलाई हामी गुरुकूल शिक्षा भन्दछाँै, जुन शिक्षाले जीवन जिउने कला, युद्धकला, सिक्ने, जीवन र जगत््लाई बुझ्ने, प्राकृतिक उपहारको खोजी गर्ने आदि कुरामा निपूण हुनका लागि गुरुबाट चेलाले ज्ञान र सिप आर्जन गर्ने गर्दथे । चारदिवारीभित्र थुनेर औपचारिक शिक्षा प्रदान गर्ने प्रचलन आएपछि खोज–अनुसन्धानबाट जीवन र जगत्लाइ बुझ्ने र प्रकृतिलाइ बुझ्नेभन्दा पनि अरूले गरेका खोज–अनुसन्धानका तथ्यलाई बासी पुराणको रूपमा रट्ने अर्थात् याद गर्ने र परीक्षामा धेरै अङ्क ल्याउने होडबाजीले गर्दा हाम्रोजस्तो अविकसित मुलुकमा व्यावहारिक सिपमूलक शिक्षा ओझेलमा पर्दै गयो, जसले गर्दा अनुत्पादक शिक्षा मौलाउँदै गयो, जसको परिणामस्वरूप दुईतीन वटा डिग्रीका सर्टिफिकेटलाई झोलामा थन्क्याएर खाडी र विकसित मुलुकमा जीविकोपार्जनका लागि पलायन हुनुपर्ने परिस्थिति सिर्जना भयो ।
घरपरिवार र समाजले समेत बासी पुराण याद गरेर प्राप्त गरेको अङ्क र सर्टिफिकेटलाइ उपलब्धि मान्न थाल्यो, जसको परिणामस्वरूप मानिसले आफ्नो उत्पादनमूलक काम बिर्सियो; खोज–अनुसन्धान बिर्सियो; संस्कार र रीतिरिवाज बिर्सियो; घरको काम, खेतबारीको काम, करेसाबारीको कामलगायत जीवनोपयोगी सिप सबै बिर्सियो ।
आज विश्वभरि फैलिएको अदृश्य शक्ति कोभिड–१९ ले बिर्सिएका सबै कुरालाई सम्झाइदिएको छ । शक्ति र धनबाट सम्पन्न मुलुक, जसले प्रकृतिलाई दोहन गरी मानव सभ्यतालाई नै सङ्कटग्रस्त बनाएका थिए, तिनीहरूलाई सबक सिकाएको छ । जीवनको पर्वाह नगरी मेसिनजस्तै बनेको मानवलाई आराम गर्न सिकाएको छ ।
जीवन जिउनका लागि नभई नहुने अन्नबाली उत्पादन गर्न छाडेर आणविक बम वा हतियार बनाउने, औद्योगिक क्रान्तिको नाममा वातावरणलाई प्रदुषण गर्नेलाई खाद्यान्न के हो र प्राकृतिक शक्ति के हो भन्ने कुरा बुझाइदिएको छ । आफ्नो देश र परिवार बिर्सनेका लागि देश र परिवारको महत्त्व बुझाइदिएको छ । कृषिपेसालाई सम्मानित बनाएको छ । प्राकृतिक वातावरणलाई सन्तुलित गरिदिएको छ । तसर्थ कोरोनाले मानिसलाई नयाँ तरिकाले सोच्न बाध्य बनाएको छ । मानिसको दम्भ र घमण्डलाई तोडिदिएको छ । यो अदृश्य प्राकृतिक शक्ति मानव सभ्यताको संरक्षणका लागि आएको छभन्दा अतिसयोक्ति नहोला ।
आज कोभिड–१९ का कारण चारदिवारभित्र दिइने औपचारिक शिक्षालाई नाकाम बनाइदिएको छ । शिक्षा निरन्तर चलिरहने प्रक्रिया भएकाले समय–परिस्थितिअनुसार शिक्षा लिने र दिने प्रक्रियामा पनि परिवर्तन गर्न जरुरी छ । नेपाल सरकारले पनि यो विषम परिस्थितिमा वैकल्पिक विधिको प्रयोग गरेर शिक्षण गर्ने कुरालाई सुधारिरहेको छ्र । कोभिडका कारण शिक्षालाई जीवनोपयोगी र व्यावहारिक बनाउने अवसर पनि प्राप्त भएको छ ।
अब हामीले बालबालिकालाई दिइने शिक्षा कोरा किताबी ज्ञान नभएर उसको जीवन जिउने सिप र सिप आर्जन गर्ने कलालाई मूल्याङ्कनसँग जोडिनुपर्दछ । अब सोधिएको उत्तरमा अङ्क दिने नभएर उसको व्यवहारमा आएको परिवर्तनलाई मूल्याङ्कन गर्नुपर्दछ । खाना खानुभन्दा अगाडि साबुनपानीले हात धुनुपर्छ भनेर लेखिएको उत्तरमा अङ्क दिने र मूल्याङ्कन गर्ने होइन, साबुनपानीले हात धोएको छ कि छैन भनी मूल्याङ्कन गर्नुपर्दछ । रमाइलोका लागि कथा पढ्न सिकाउने मात्र होइन, कथाले दिन खोजेको सन्देशलाइ व्यवहारमा उतारेको छ कि छैन भन्ने आधारमा मूल्याङ्कन गर्नुपर्छ ।
कोभिड–१९ को कारणले शैक्षिक सत्रको करिब पाँच महिना खेर गइसकेको छ । विद्यार्थीलाई विद्यालयमा भौतिक रूपमा उपस्थित गराएर शिक्षण गराउने र पेपर, पेन्सिल, टेस्टबाट मूल्याङ्कन गर्ने अवस्था छैन । यस्तो अवस्थामा शिक्षालाई विद्यार्थीका दैनिक जीवनसँग उपयोगी हुने सिकाइलाई यस वर्षको शिक्षणको मूल आधार बनाउनुपर्दछ ।
आधुनिक विधि र प्रविधिको पहुँच सबै विद्यार्थीसँग छैन र त्यो रातारात हुने कुरा पनि होइन । ज्ञान र सिप स्थानान्तरण गर्ने सबै विकल्पलाई खुल्ला राख्दै विद्यार्थीको व्यवहारमा परिवर्तन ल्याउने उत्तम विधि परियोजना कार्य नै हो । सबै विषयवस्तुलाई समेटेर परियोजना कार्य दिने, उक्त परियोजना कार्य गर्नका लागि घरपरिवार र शिक्षकले मार्गनिर्देश तथा सहजीकरण गर्ने, उक्त परियोजना कार्यबाट विद्यार्थीको व्यवहारमा आएको परिवर्तनलाई मूल्याङ्कन गर्ने गर्नुपर्दछ ।
आजको शिक्षाले हाम्रा बालबालिका परनिर्भर भइरहेका छन् । परनिर्भरबाट आत्मनिर्भर गराउने खालको व्यावहारिक शिक्षा आजको आवश्यकता हो । कोभिड–१९ ले हाम्रो शिक्षाप्रणालीलाई त्यसतर्फ अग्रसर गराइरहेको छ । तर हामी पुरानो शैलीको शिक्षा दिन र लिन नपाउँदा छट्पटाइरहेका छौँ । शैक्षिक सत्रको बाँकी रहेको अवधिलाई पूर्ण रूपमा सदुपयोग गर्दै वैकल्पिक विधिबाट हाम्रा बालबालिकालाई व्यावहारिक र जीवनोपयोगी सिप सिकाउनु आवश्यक छ । उदाहरणका लागि गणित विषयको शिक्षणलाई सेतो पाटी र मार्करमा सीमित गर्दा गणितलाई विद्यार्थीले बोझको रूपमा लिएका हुन्छन् । यसलाई व्यावहारिक जीवनसँग जोड्न सक्नुपर्दछ ।
हामीले प्रयोग गर्ने वस्तुहरू ज्यामिती आकारका हुन् । यिनीहरूको आकार, प्रकार, नापतौल, क्षेत्रफल, आयतन आदिको बारेमा परियोजना कार्य दिने, विद्यार्थीले दैनिक रूपमा बजार गएर खरिद गरिने बस्तुको मूल्यमा हुने छुट, नाफा–नोक्सान आदिको बारेमा परियोजना कार्य दिन सकिन्छ । आफ्नो घरपरिवारको आम्दानी, ऋणधन ब्याजको बारेमा परियोजना कार्य दिएर गणितका विषयवस्तुलाई व्यावहारिक ढङ्गबाट सिकाउन सकिन्छ । यसरी नै सबै विषयवस्तुलाई समेटेर परियोजना कार्यको माध्यमबाट व्यावहारिक र जीवनोपयोगी शिक्षाको जगलाई बलियो बनाउन सकिन्छ, जसको परिणामस्वरूप सिपमूलक जनशक्ति उत्पादन भई परनिर्भरता हट्ने छ भने अर्कोतर्फ, खेर जान लागिरहेको शैक्षिक सत्रलाई उपयोग गरी विद्यार्थीको भविष्य अगाडि बढाउन सकिन्छ ।