काठमाडौं । पश्चिमी नाइजेरियास्थित ओसुँ ओशोबु नामक पवित्र जंगलमा वयस्क चलचित्रको रेकर्डिङ गरेको आरोपमा एक चलचित्र निर्मातालाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जङ्गलमा वयस्क चलचित्र खिचेको आरोपमा किङ ब्लाक होक नामले परिचित तोबिलोबा जोलाओसोलाई पक्राउ गरिएको हो ।
आदिवासी योरुबा समुदायको प्रजननकी देवी ओसुँको वासस्थान भनिने उक्त पवित्र जङ्गल संयुक्त राष्ट्रसङ्घको विश्व सम्पदा सूचीमा समेत समाविष्ट छ । घटनाबारे अहिलेसम्म न त जोलाओसोले न त उनका वकिलले नै कुनै प्रतिक्रिया दिएका छन्।
ओसुँ ओशोबु जङ्गल ओशोबु सहरको बाहिरी भेगमा पर्छ । युनेस्कोले सन् २००३ मा उक्त जङ्गललाई पवित्र भन्दै विश्व सम्पदा सूचीमा राखेको थियो । जोलाओसो नाइजेरियाका एक चर्चित वयस्क चलचित्र निर्माता हुन् जसका ठूलो सङ्ख्यामा फलोअर छन् ।
धेरै तिरबाट जाने बाटो रहेको उक्त पवित्र जंगलमा उनी कसरी छिरेका थिए र वयस्क चलचित्रको रेकर्डिङ उनले कहिले गरेका थिए भन्नेबारे स्पष्ट हुन सकेको छैन ।
प्रहरी प्रवक्ता ओपालोला येमिसीले बीबीसी योरुबा सेवालाई बताएअनुसार सार्वजनिक स्थलमा शान्ति खलबल्याएको विषयमा अनुसन्धान सकेपछि ती चलचित्र निर्मातालाई अदालतमा पेस गरिनेछ।
नाइजेरिया र अन्यत्रबाट मानिसहरू प्रार्थना गर्न तथा बलि दिन आउने गरेका उक्त पवित्रस्थलको जोलाओसोले अपमान गरेको प्रजननकी देवी ओसुँका एक भक्त येमी एलेबिउबोनले बताए ।
योरुबा पौराणिक कथाका अनुसार ओसुँ देवी शक्तिशाली देवता साङ्गोका धेरै पत्नीमध्ये एक थिइन् । रेक वर्ष हजारौँ मानिसहरू ओसुँ ओशोबु पर्वमा सहभागी हुने गर्छन् जुन पर्वको शुरूवात छ सय वर्षअघि भएको मानिन्छ ।
त्यसलाई योरुबा आदिवासी समुदायको सबैभन्दा ठूलो परम्परागत धार्मिक कार्यक्रम मानिन्छ र त्यसमा नाइजेरियाका साथै अन्य देशका मानिसहरू पनि सहभागी हुन्छन् । बीबीसी
