माधब पौडेल
म हाल कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, चितवनमा कार्यरत छू । हाम्रो परिवारमा पनि कोभिड–१९ को संक्रमण भएको छ । हामी परिवारका ७ जनालाई नै कोरोना संक्रमण भएको थियो । मिती २०७७ श्रावण २० गते म्याडमलाई सामान्य ज्वरो आउने, टाउको दुख्ने र शरीर दुखेको अनुभव भएकोले परीक्षणका लागि भरतपुर अस्पतालमा अनुरोध गरेपछी चिकित्सकको सिफारिसमा श्रावण २१ गते बुधबार परीक्षण गराइएको थियो । त्यस प्रकारको स्वास्थ्य समस्या सामान्यतया अन्य समयमा पनि हुने गर्दछ ।
हामीले परीक्षण गर्नुपर्ने समस्या नै हो भन्ने सोचेका थिएनौँ । तरपनि म्याडम र म दुवैजना फ्रण्टलाईनमै काम गर्ने कर्मचारीहरु भएकोले संक्रमणको समस्या हुनसक्ने अनुमानका आधारमा परीक्षणका लागि अनुरोध गरेका थियौँ । हालसम्म कुन स्रोतवाट हामीलाई संक्रमण भयो भनेर थाहा पाउन सकिएको छैन र हाम्रो परिवारमा हामी दुईजना मध्ये कसलाई पहिले संक्रमण भएको थियो भन्ने हामीले अनुमान गर्न सकेका छैनौँ । अहिले हामी सवै संक्रमण मुक्त भई नियमित कार्यमा फर्किसकेका छौँ ।
कोभिडको संक्रमणमा देखिएका लक्षणहरु
संक्रमणबाट परिवारका सदस्यहरुलाई फरक फरक लक्षणहरु देखिएका छन् र उत्पन्न समस्याहरुलाई हामी सामान्य समस्याको रुपमा लिएका छौँ । प्रायः सवैलाई मिल्ने लक्षण भनेको खानाको स्वाद राम्रोसँग थाहा नपाउने वा खानामा अरुचिको रुपमा हामीले लिएका छौँ । धेरैजनालाई भएको समस्या भनेको जिउ भारी हुने, शरीर दुख्ने पनि हो । ७ मध्ये २ जनालाई १ दिन १०२ डिग्रीसम्म ज्वरो आएको, २ जनालाई सामान्य ज्वरो देखिएको र ३ जनालाई खासै कुनै लक्षण देखिएन । १ जनालाई ज्वरोको साथै एक दिन ६÷७ पटक सम्म बान्ता समेत भएको थियो ।
ब्यवस्थापनमा चुनौति
हामीलाई संक्रमणको पुष्टि हुनासाथ हामीले हाम्रो प्रत्यक्ष सम्पर्कमा आएका सवैको परीक्षणका लागि अनुरोध गरेका थियौँ । तर चितवनको कन्ट्याक्ट ट्रेसिङ हामीले सोचेजस्तो हुन सकेन र केही साथीभाईको मात्र परीक्षण हुन सक्यो । जसले गर्दा साथीहरुको अनुरोधका बीच सबैको परीक्षण हुन पाएको भए तत्कालका लागि कम दवाब हुन सक्थ्यो । हामीलाई धेरै सुभचिन्तकहरुले अस्पतालमा गएर बस्न अनुरोध गरेको भएतापनि हामी चिकित्सकसँग नियमित सम्पर्कमा रहेकोले अस्पताल नजाने अडान सहित आवासमै बस्यौँ । यसो गर्दा हामीलाई दैनिक ब्यवस्थापनमा धेरै सजिलो भयो । खाद्यान्न लगायतका आवश्यक सामग्री साथीभाईहरु र आफन्तहरुवाट कुनै कमि हुन नदिई निरन्तर आपूर्ती हुँदा कहिले कहिले त अरुलाई धेरै दुःख दिएको अनुभव हुन्थ्यो । हाम्रा धेरैजसो साथीभाइ तथा आफन्तहरुको निडरता पनि सम्मान गर्न लायक थियो । तर कोभिड पोजेटिभ देखिएको बेला मात्र होइन परीक्षणमा नेगेटिभ रिपोर्टप्राप्त भएको धेरै दिन भैसक्दा पनि कतिपय साथीभाइ र आफन्तहरु अहिलेसम्म नै हामीसँग बोल्न र नजिकिन हिम्मत गरिरहेका छैनन्, यसबाट पनि हामीले मानिसहरुको चिन्तन र स्तरअनुसार नै समाजमा प्रस्तुत हुने यथार्थतालाई बुझि सहज रुपमा नै लिएका छौँ ।
हामीले नियमित खाने खानाहरु नै खायौँ । हाम्रो परिवारमा कोदो र मकैको खाना नियमित खानामै पर्छ । जब कुनै पनि समस्याको औषधि चिकित्सकले सिफारिस गर्न सक्दैनन् त्यतिवेला समाजमा अनेकौँ सुझावहरु आउँछन् । हामीलाई पनि सोही अनुरुप सुझावहरु आए । हामीले बहकाउमा धेरै जडिबुटिहरु त खाएनौँ तर सुरुका दिनहरुमा अत्यासलाग्दो वातावरण भएकोले गुर्जो र पारिजातको रस पकाएर दिनमा १÷२ पटक जति लियौँ । बेसारपानीको पनि अलि बढी आतंक नै छ । हामीले त्यसमा पनि बढी जोड दिएनौँ । हाम्रा सवै परिकारहरुमा लसुन, प्याज, बेसार, अदुवा लगायतका वस्तुहरु नियमित नै हुने र घरमै बस्दा धेरै परिकारहरु बनाएर खाइने हुँदा यी वस्तुहरु औसतभन्दा धेरै नै खपत भएको छ ।
अहिले तातोपानीको आतंक छ । तातोपानीले जिब्रोको स्वादको क्षमता कम हुने हामीले अनुभव गर्यौं । तातोपानीले कोभिड १९ को संक्रमणबाट बचाउने वा भाइरसलाई कमजोर बनाउने वा रोग प्रतिरोधी क्षमता बृद्धि गर्ने वा पानीले पखाल्ने भन्नेवारेबारे हालसम्म कुनै प्रमाण नभएको अनुसन्धानका विषयहरु प्रकाशित छन् । हामीले पनि बिहान २÷३ ग्लास भर्खरै उमालिएको तातोपानी खाँदाको दिनमा खान मन नलागेको तर मनतातो पानी खाँदा अलि सहज भएको अनुभव गर्यौं । तसर्थ झोलकुरा धेरै तातो नखाँदा नै उचित हुने मैले ठानेको छु ।
संक्रमण, उपचार र प्लाज्मा थेरापीबारे बुझाई
संक्रमण भएको र सामान्य लक्षण देखिएका बखत हल्का ज्वरोको कारण परिवारका केही सदस्यले सामान्य सिटामोल एकपटक प्रयोग गर्नु बाहेक कुनै औषधिको प्रयोग गरिएको छैन । तर कोरोनाको उपचारमा बढी समस्या उत्पन्न भएकाहरुका लागि औषधिहरु उपयोग गर्न शुरु भएको छ । नेपालले परीक्षणका रूपमा मात्र भएपनि ईबोला भाईरसका विरुद्धको उपचारका लागि विकास गरिएको रेम्डेसिभीर नामक औषधि कोरोनाभाइरस संक्रमितहरूमा प्रयोग गर्न पाउने गरी अनुमति दिएको छ । अमेरीका लगाएतका देशहरुले औलोको विरुद्ध प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्वाईन पनि प्रयोगमा ल्याइरहेको बताएका छन् । हाल विश्वब्यापी रुपमा प्लाज्मा थेरापीबाट पनि उपचार सुरु गरिएको छ । तर कोरोना भाइरसकै विरुद्धको भरपर्दो खोप नबन्दासम्म आपतमा परेकाहरुका लागि मात्र भएपनि विकल्पहरुको प्रयोगले जीवनको आशा बढाउँछ ।
निको भएका ब्यक्तिहरुको शरीरमा भएका एण्टिवडीलाई समस्याग्रस्त संक्रमितको शरीरमा उपलब्ध गराउने बिधी प्लाज्मा थेरापी हो । १८ वर्ष उमेर माथिका संक्रमणमुक्त व्यक्तिले रगतको प्लाज्मा दिन सकिन्छ । कोरोना संक्रमणमुक्त व्यक्तिले दिने रगत पनि एक प्रकारको रक्तदान नै हो । रगतबाट रगतमा भएको सेतो रक्तकोष, रातो रक्तकोष, प्लेटलेट्स लगायतका पदार्थ हटाएर बनेको झोल पदार्थ नै प्लाज्मा हो । कोभिडको संक्रमण भई निको हुन हाम्रो शरीरमा एण्टिबडी पर्याप्त मात्रामा बन्नुपर्दछ । यसरी छुट्याइएको प्लाज्मा संक्रमितलाई दिने विधि प्लाज्माथेरापी भएकाले प्लाज्मा थेरापीका लागि रगत दिँदा र लिँदा दुवैलाई कुनै असर नपर्ने बरु उपचारमा सहयोग पुग्ने भएकाले यसमा कोही पनि डराउनु नपर्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।
एक संक्रमणमुक्त व्यक्तिबाट लिएको रगतबाट औसतमा दुई जनालाई प्लाज्माथेरापी गर्न सकिने विवरणहरु प्रकाशित भएका छन् । जुन रगत निकालेर प्लाज्मा छुट्याइन्छ र संक्रमित व्यक्तिलाई दिइन्छ । हाम्रो शरीरमा सामान्य अवस्थामा करिब ५ लिटर वा १०–१५ पिण्ट रगत हुने तथ्यांक छ । हामीले रक्तदान गर्दा करिव १ पिण्ट वा ३५० देखी ५०० मिलि लिटर जति ब्लड दिइने रहेछ । तसर्थ यस कार्यमा सामान्य अवस्थामा डराउनु नपर्ने बरु अर्कोपटक हामीले यस प्रकारको अवसर नपाउने हुनाले यो समयमा रक्तदान गर्नु बाध्यतावस सुअवसर हुन पुगेको छ । यही बुझेर मैले संक्रमण मुक्त भएको १५औं दिनमा प्लाज्माका लागि रक्तदान गरेको हुँ ।
यसको अर्थ कोरोना भाइरसवाट जोगिनु नपर्ने हुँदै होइन । सकेसम्म जोगिने उपाएहरु नै अवलम्वन गर्ने हो । यो मात्र होइन सबै प्रकारका संक्रामक रोगहरुवाट जोगिनु नै पर्छ । बरु मानिसलाई जोगिने उपायहरुबारे अधिक जनचेतनाहरुका लागि सरकार के गर्न सक्दछ ? राजनैतिक पार्टीहरु, सामाजिक संघ संगठनहरुले के भूमिका खेल्न सक्छन् भन्ने विषय सोचिनु पर्दछ । छोयो कि मर्यो भन्ने हिसाबले प्रचार भएको छ यो सही छैन । मानिसहरु रोगले भन्दा भोकले मर्न सक्छन् । पहिले राहतहरुको पनि नाटकहरु मञ्चन भए । अहिले ति नाटकहरु हराए । बरु मानिसलाई आइसोलेसन बनाएर थुन्नुको सट्टा एक घर एक आइसोलेसनका लागि किन प्रोत्साहन गरिएन ? वा तपाईंको वार्डमा घरलाई आइसोलेशनमा परिणत गर्न नसक्ने कोही भए वडा तहमा व्यवस्थापन गर्न सकिन्छ कि सकिँदैन ? यसबारे केही पनि कार्य नभएको भन्ने होइन तर काम सबै भद्रगोल रहेछ । भद्रगोल कार्यले सरकारको कार्य क्षमतालाई कमजोर बनाईरहेको छ । मानिस भोको पनि रहनुपर्ने र फेरि संक्रमित पनि हुनैपर्ने बाध्यता त हुँदैन ? भन्ने विषय पनि बहसमा रहेको छ ।
कोरोना भाइरसको संक्रमणको नियन्त्रणलाई बन्दाबन्दी नै औषधि हो भनेर प्रचार गरिएको छ । यसले समाजमा अनेकौँ समस्याहरु उत्पन्न गरिरहेको छ । सरकारको तलव खाने लाखौं शिक्षक तथा कर्मचारीहरुलाई मात्र उचित तरिकाले मानिसको आनिवानी परिवर्तनका लागि केही समय खटाउने र उनीहरुले मानिसको आनिबानीले सरुवा रोगको संक्रमणमा खेल्ने भूमिकाका बारेमा जनचेतना जगाउन तथा गतिविधीहरुको नियमन गर्न सक्छौं । अहिले किन तरकारी पसलहरुमा ठूलाठूला भिड हुन्छन् ? किराना पसलहरुमा किन मानिसहरु भिड गरिरहन्छन् ? किन तौलेर किन्नुपर्ने टमाटर, प्याज, आलु, लसुन आदि मानिसले छानिछानि किन्नुपर्छ ? किन कोरोना नियन्त्रणका लागि सडकमा खटिने प्रहरीहरु संक्रमित हुन्छन् ? किन विश्वका सम्पन्न मानिसहहरु समेत संक्रमित हुन्छन् ? लगायतका विषयहरु पनि हामीले सँगसँगै बुझ्दै जानुपर्दछ ।
कोरोनाका संक्रमितलाई अस्पताल वा आइसोलेशनमा राख्न नसिकिने सरकारले नै स्वीकार गरेको छ । संक्रमित आफ्नै घरमा कसरी बस्न सक्छन् र खास अपनाउनुपर्ने सावधानी केहो भन्ने सम्वन्धित जनप्रतिनिधीले पनि सम्वन्धित स्वास्थ्यकर्मी वा सल्लाह गरेर मात्र निर्णय लिनुस् । अहिले टोल सुधार र जनप्रतिनिधीहरु नै समस्या पनि र समाधान पनि बनेका छन् । स्थानीयहरु पनि आफूलाई कहिल्यै समस्या नपर्ने र संक्रमित वुहान (चीन) पुगेर कोभिड १९ को तस्करी नै गरेको ठान्छन् । हाम्रो अनुभवमा संक्रमित भएकाहरु र नभएकाहरु एउटै घरमा बस्न समेत केही फरक पर्दैन । एउटै घरमा मिल्नेजति सावधानीपुर्वक व्यवस्थापन गराएर बस्दा केही फरक नपर्ने रहेछ । जस्तो एउटा फ्लाटमा २ जना सक्रीय सदस्यहरु संक्रमित छन् र एक संक्रमण नभएका व्यक्तिका लागि सेवा आवश्यक छ भने पनि सहजै संक्रमण भएकाले पकाउने, खुवाउने लगाएतका सेवा दिँदा पनि सावधानी अपनायो भने जोगिन सकिने रहेछ ।
कोभिडका कारणहरुवाट मानिसलाई पर्ने प्रभावभन्दा यसको सामाजिक तथा आर्थिक कारणहरुबाट हुने असर बढी हुने देखिएको छ । हाम्रो सन्दर्भमा पनि यसको केहि हदसम्म प्रभाव पर्यो । हामीले संक्रामक रोगहरुवाट बच्ने उपाय पृथकता दूरी सहितको सावधानी हो तर सामाजिक तिरस्कार होइन भन्ने बुझ्नु जरुरी छ । कोरोनाको संक्रमण हुनै नदिनै तर केही गरी संक्रमण भइहालेमा पनि डराईहाल्नु पर्ने केही देखिएन । सबै तरिकाले सबै संक्रामक रोगहरुमा भन्दा बढी साबधानी कोभिड १९ को संक्रमणलाई दिँदै नियमित कार्यमा फर्किनुको विकल्प पनि नहुने रहेछ । सचेत समाजले यसलाई सावधानीपुर्वक सामाजिक एकता कायम राखेर संयुक्त रुपमा कोभिड–१९ बाट सिर्जित समस्याहरुका बारेमा जुध्नेछन् भने सामाजिक एकता खल्वलिएमा यसका असरहरु अझ बढ्नेछन् भन्ने यथार्थतालाई सबैले आत्मसाथ गरौँ ।
(माधब पौडेल, जैमिनी ९ बाग्लुङ, हाल चितवन)