काठमाडौं । सिन्धुपाल्चोकको लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई एसओएस बालग्रामको संरक्षणमा पठाइएको छ ।
जुगल गाउँपालिकाको लिदी पहिरोमा अभिभावक गुमाएका सात जना बालबालिकाहरूको संरक्षण र शिक्षाका लागि काभ्रेस्थित एसओएस बालग्राम काभ्रे पठाइएको हो । त्यहाँ उनीहरु पालनपोषण, हेरचाह, स्वास्थ्य, शिक्षालगायतका सबै सुविधासहित बस्नेछन् ।
यही भदौ १० गते सिन्धुपाल्चोकको बाँसखर्कमा राहतसहित पुग्नुभएका सभामुख सापकोटाले विस्थापितहरुसँगको छलफलमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि आफूले जिम्मेवारी लिने बताउनुभएको थियो ।
सभामुखको आग्रहमा एसओएस बालग्राम पनौतीका निर्देशक सुरेन्द्र अमगाईंसहितको टोलीले भदौ १६ गते जिल्लाको बाँसखर्क पुगेर वडाध्यक्ष प्रताप लामासँग समन्वय गरी बालबालिकालाई एसओएस बालग्राम ल्याउन आवश्यक प्रक्रिया थालेको थियो । सबै प्रक्रिया पूरा भएपछि बिहीबार सात बालबालिकालाई पनौतीस्थित बालग्राममा ल्याइएको निर्देशक अमगाईंले जानकारी दिनुभयो ।
पहिरोमा अभिभावक गुमाएका पाँचदेखि १२ वर्ष उमेरका उनीहरुलाई काभ्रेको पनौतीस्थित एसओएस बालग्रामका अधिकारीहरुसँग पठाइएको जुगल–२ का वडाध्यक्ष लामाले जानकारी दिनुभयो । लामाका अनुसार बालग्राम पठाइएकमा छ बालक र एक बालिका छन् ।
गत साउन ३० गते बिहान लिदीमा गएको भीषण पहिरोमा अभिभावक गुमाएका १२ बालबालिकामध्ये १२ वर्षमाथिका पाँच बालबालिकाको शिक्षा र संरक्षणका लागि बसोबासस्थलमै संरक्षकमार्फत सहयोग गरिने एसओएसका निर्देशक अमगाईँले जानकारी दिनुभयो ।
जुगल–२ को लिदी पहिरोले ३७ घर पुरिँदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको छ । दुई जना अझै बेपत्ता छन् । पहिरोले बस्ती नै जोखिममा परेपछि लिदीबासीलाई हाल बाँसखर्कमा अस्थायी बसोबासको व्यबस्था मिलाइएको छ ।