राजनीतिक नेतृत्वको लागि विचार कि पुस्ता, कुन कुरा प्रधान हो ? भन्ने विषयमा वहस हुनुपर्दथ्यो र हुनुपर्दछ । तर विचार पक्षलाई छाडेर राजनीतिमा नेतृत्व नयाँ पुस्तालाई भन्ने बारे पछिल्लो समयमा बढी बहस हुन थालेका छन् । खासगरी नयाँ पुस्तालाई राजनीतिक सत्ता हस्तान्तरण गर्नेबारे बिभिन्न सन्दर्भबाट बहस गरेको पाइन्छ । त्यसरी बहस भएको÷गरिएको कुरालाई अन्यथा नठानिए पनि यसबारे यी प्रश्न नउठाइरहन सकिन्नः किन राजनीतिक विचारधाराको नेतृत्वको विषयलाई पुस्ताको अन्तर्यमा लिएर बहस गर्ने प्रयत्न गरिंदै छ ? के कुनै पुस्ता राम्रो र नराम्रो भन्ने कुरा थाहा पाउन पुरानो र नयाँको आधारमा निक्र्योल गर्न सकिने कुरा हो ? कुनै अर्थबाट त्यसरी निक्र्योल हुन सक्यो भने पनि के नयाँ राजनीतिक व्यवस्थाका लागि त्यो कुरा सही हुन सक्ने छ ? आदि बिभिन्न प्रश्न, शायद यस्ता प्रश्नहरुको उत्तर नपाइकन वहसलाई सही ठाउँमा अवतरण गराउन सम्भव हुन सक्ने छैन ।
माथिका प्रश्नहरुको संक्षिप्तमा उत्तर दिएर छलफललाई अगाडि बढाउनु उपयुक्त हुनेछ । राजनीतिमा जहिले पनि विचार प्रधान बन्दै आएको छ । विचार पक्षलाई उपेक्षा गरी राजनीतिक नेतृत्वको विषयलाई पुस्ताको अन्तर्यमा विलय गराउन सकिँदैन । कुनै पुस्ता राम्रो र नराम्रो भन्ने कुरा थाहा पाउनका लागि राजनीतिक नेतृत्वको हस्तान्तरण कुनै पनि अवस्थामा समाधान होइन र हुन सक्दैन । राजनीतिक नेतृत्वको हस्तान्तरण स्वतः नयाँ पुस्तामा हुँदै जान्छ, किनभने पुरानो पुस्ता सधैँ नेतृत्वमा रहेको संसारमा कतै पनि पाइएको छैन । कसैले राजनीतिमा पुस्तान्तरणलाई समस्या समाधानको उपाय ठान्दछ भने त्यो गलत सोचाइ हो । त्यसैले सही राजनीतिक संस्कार निर्माणका लागि पनि विचारको पक्षलाई केन्द्रमा राखेर बहस गर्नुपर्दछ ।
स्वयम्सिद्ध कुरा हो कि राजनीति, राजनीतिक सत्ता र शक्ति मानवजातिको संघर्षको परिणाम हो । त्यसैको कारण राज्यको उत्पत्ति भएको थियो र अबका संघर्ष राज्यको विलोपको लागि भइरहेका छन् । तर त्यो कुरा निश्चित प्रक्रियाबाट अगाडि बढेर नै सम्पन्न हुनेछ । एउटा वर्गले अर्को वर्गलाई नियन्त्रणमा राख्न वा दबाउने क्रममा राजनीतिले राज्यको रुप लिएको थियो । यो चेतनाको संघर्ष पनि थियो । त्यसरी संसारका अन्य प्राणीका लागि राजनीति जरुरी छैन, तर मानिसका लागि मन परे पनि नपरे पनि यो कुरा जीवनको केन्द्रमा रहेको छ । त्यसैले मानवजातिलाई राजनीतिक डुङ्गामा सैर गर्नुपर्ने वाध्यात्मक अवस्था छ । त्यसो भएको हुनाले शक्ति वा सत्ता प्राप्ति, न्याय, समानता, कानुनी राज्य लगायतका विषयलाई लिएर वर्गीय दाउपेच अनिवार्य हुन्छ र त्यसमा मानवजातिले भाग लिनुपर्ने हुन्छ । त्यसरी राजनीतिमा नेतृत्वको पक्षले पुरा संगठन, समाज र देशको अवस्था र भविष्यको समेत प्रतिनिधित्व गर्दछ ।
राजनीतिक नेतृत्वको विषयमा पुुस्ताको प्रसङ्ग उठ्ने बेलामा यो सित सम्बन्धित यो प्रश्न सबैभन्दा पहिले हाम्रो अगाडि खडा हुनुपर्दछ ः खोजी वा वहस कुन विषयमा हुनुपर्दछ ? राजनीतिक विचार, नेतृत्वको कार्यक्षमता र कार्यशैलीको बारेमा वा राजनीतिक नेतृत्वको लागि पुस्ताको ? राजनीतिले सामूहिक र सामाजिक नेतृत्व गर्ने भएकोले सर्वप्रथम प्रयोगमा ल्याउन खोजिएको राजनीतिक सिद्धान्त र त्यसको प्रवृत्तिबारे विचार गरिनुपर्दछ । राजनीतिमा जति बढी मानवता, समानता, न्याय र विधिको शासनलाई आत्मसात गरिएको हुन्छ, त्यति नै बढी त्यो राजनीति लोककल्याणकारी बन्न सक्दछ । मानवजातिका लागि सरोकारको विषय हो : लोकको हित हुने शासनव्यवस्थाको प्रवद्र्धन गर्नु । सबै राजनीतिक विचारधारामा लोककल्याणबारे केही न केही विषयहरु राखिएका हुन्छन् र तिनीहरुको विषयमा बिभिन्न ढङ्गले परिभाषा गरिएको हुन्छ । तर मुख्य सरोकारको विषय हो ः सबै राजनीतिक विचारधारा मध्ये कुन राजनीतिक विचारधारा सर्वश्रेष्ठ, मानवोचित र लोककल्याणकारी छ भनेर छुट्याउने क्षमता राख्नु । त्यसरी सर्वश्रेष्ठ ठानिएको राजनीतिक विचारधारालाई राजनीतिक व्यवस्था सञ्चालनको सिद्धान्तको रुपमा स्थापना गर्ने बारे खोजी र बहसको आवश्यक विषयको रुपमा लिन सकिन्छ र त्यो कुनै पनि युगको लागि सान्दर्भिक र व्यवहारिक हुन्छ ।
तर बहस कसरी भइरहेको छ ?
आजका नेका, नेकपा वा अन्य कतिपय संगठनभित्र नयाँ पुस्तामा राजनीतिक नेतृत्वको हस्तान्तरण सम्बन्धमा कुरा उठिरहेको छ । त्यस विषयमा कतिपय लेखक, वुद्धिजीविहरुले पनि आफूलाई वहसमा ल्याएका छन् । ती सबैले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणबारे विशेष चासो राख्नुको साथै नयाँ पुस्तामा नेतृत्व जानुपर्ने कुरामा जोड पनि दिएका छन् । तर त्यसो गर्ने बेलामा तिनीहरुले हस्तान्तरण हुनुपर्ने कुरा के हो र त्यो कसरी हस्तान्तरण हुन्छ भन्ने विषयलाई छोडिदिएका छन् । यसले गर्दा जुन विषयमा वहस हुनुपथ्र्यो, त्यो विषय ओझेलमा पर्न गएको छ । त्यसरी वहस विचारको नभएर शक्तिको विरासत प्राप्त गर्ने÷गराउने तर्फ नै केन्द्रित भएको छ । अन्ततः शक्ति प्राप्त गर्नका लागि मात्र आफूलाई नयाँ पुस्ताले के कुरामा योग्य सावित गर्नुपर्दछ ? त्यो प्रश्नलाई छाडेर नयाँ पुस्तालाई नेतृत्व भन्ने कुरा भट्याउन शुरु गरिएको छ ।
नयाँ युग पुरानो युग भन्दा प्रगतिशील हुन्छ । ज्ञान, विज्ञान, अनुभव र संघर्षका बिभिन्न मूल्यहरुले नयाँ युगलाई समृद्ध बनाएका हुन्छन् । राजनीतिक दाउपेचमा सामाजिक वर्गहरुमा जुन वर्गले जिते पनि नयाँ युगमा रहेका प्रगतिशील पक्ष निरन्तर गतिका परिणाम भएकाले तिनीहरुलाई इतिहासतर्फ फर्काउन सकिंदैन । जस्तै कि, आज विश्वव्यापी रुपमा साम्राज्यवादी हैकम चलिरहेको भएपनि अहिलेको युग मध्ययुगिन कालतिर फर्कन सक्दैन । साम्राज्यवादीहरुले नयाँ नयाँ योजनाका साथ आफ्ना हैकमका आधारहरु निर्माण गर्दै जान्छन् र आफूलाई सुरक्षित गर्ने उपाय खोजिरहन्छन् । ठीक त्यस्तै, साम्राज्यवादबाट मुक्ति पाउनका लागि संघर्षरत हुने वर्गले पनि मध्यकालीन युगको सहारामा आफ्नो संघर्षको योजना बनाउन सक्दैन ।
वर्तमान साम्राज्यवादको शक्तिलाई मध्यकालीन युगको साम्राज्यवादी विशेषताबाट विश्लेषण गरियो भने साम्राज्यवादबाट मुक्ति पाउने कुरा त धेरै पर छ, मुक्तिको लागि संघर्ष गर्ने पक्षको विचार नै साम्राज्यवादको भन्दा खराब हुन पुग्दछ । त्यसैले साम्राज्यवादको विरोध गर्नु एउटा महत्वपूर्ण काम त हो नै, त्यसका साथै त्यस विरुद्धका योजना नयाँ युगसित मेल खाने हुनुपर्दछ । अर्थात, एक समयमा युद्धमा तरबार, भाला, खुकुरी, घोडचढी, हात्ती आदि साधनको प्रयोग हुन्थ्यो । तर अहिले आणविक युद्ध हुन्छ र साधनमा पनि त्यस्तै प्रकारले कैयौ गुणात्मक ढङ्गले विकास भएको छ । त्यसका साथै युद्धका सोचाइमा पनि परिवर्तन आएका छन् । युद्धका बिभिन्न किसिमलाई अगाडि सारिएको छ । आर्थिक नाकावन्दी, असहयोग, शीतयुद्ध, आर्थिक उपनिवेश, बिभिन्न क्षेत्रीय संगठन, सैनिक गुट, वित्तिय संस्था, व्यापारिक कम्पनी लगायतका औजारको वर्तमान युगमा प्रयोग हुन्छ । यो नयाँ युगको नयाँ चेतना सहितको गतिशीलता भएकोले पुरानो युग भन्दा नयाँ युग निश्चय पनि प्रगतिशील बन्दछ र हुन्छ भन्ने कुरामा कुनै शङ्का रहन्न ।
नयाँ युगको सन्दर्भलाई पुरानो युगको तुलनामा प्रगतिशील मानिए पनि नयाँ पुस्ता पुरानो पुस्ता भन्दा प्रगतिशील हुन्छ भन्ने कुरा निरपेक्ष सत्य होइन । ज्ञान, विज्ञान र अनुभवहरुले स्थापित गरेका बिभिन्न मूल्यमाथि टेकेर नयाँ पुस्ताले राजनीति वा सामाजिक भूमिकामा अग्रगामी योगदान दिन सकेमा पुरानो पुस्ता भन्दा नयाँ पुस्ता प्रगतिशील हुन सक्दछ । तर अग्रगामी मूल्यहरुका विरुद्ध गई प्रतिगामी दिशातर्फ समाजलाई लिन थाल्यो भने नयाँ पुस्तालाई कुनै पनि हालतमा प्रगतिशील भन्न सकिंदैन । नयाँ पुस्ताको नै कुरा गर्ने हो भने सोभियत सत्तासित जोडिएका केही विषयप्रति हाम्रो ध्यान जानु पर्दछ । रुसमा माक्र्सवादको प्रचार गरी संगठनात्मक आधार तयार पार्नका लागि प्लेखानोभले धेरै ठूलो भूमिका खेलेका थिए । तर उनले माक्र्सवादलाई प्रयोगात्मक साँचोमा ढालेर रुसमा समाजवादी क्रान्तिको आधार देख्न सकेनन् । त्यसको परिणाम यो भयो कि, जुन कुरा नयाँ पुस्ताले देखेको थियो र तथ्यसहित त्यसलाई व्यवहारमा उतार्न सफल समेत भयो, लेनिन अगाडि आए र उनको नेतृत्वमा रुसी मजदुरवर्गले शानदार समाजवादी क्रान्ति सम्पन्न ग¥यो ।
त्यसैगरी लेनिनपछि स्तालिनले सोभियत सत्तालाई समृद्ध बनाउनका साथै समाजवादी व्यवस्थालाई सुदृढ गरेका थिए । यहाँ नयाँ पुस्ताका प्रगतिशील वा अग्रगामी भूमिका देख्न सकिन्छ । त्यस्तै बिभिन्न स्वतन्त्रता आन्दोलन भएका देशमा पनि नयाँ पुस्ताका प्रगतिशील वा अग्रगामी भूमिकालाई देख्न सकिन्छ । भारतको नै उदाहरण हेरौँ, भारतीय स्वतन्त्रता आन्दोलनको बिभिन्न आयाम मध्ये महात्म गान्धीले एउटा आयामबाट त्यहाँको स्वतन्त्रता आन्दोलनको नेतृत्व गरेका थिए । पछि भारतले स्वतन्त्रता हासिल गरेपछि त्यहाँको सत्ता सञ्चालनमा जवाहरलाल नेहरुले महत्वपूर्ण भूमिका खेले । उनी जस्तो योग्य नेता भारतमा भएकाले उपनिवेशबाट थलिएको भारतलाई स्वतन्त्रतापछि कुशलतापूर्वक प्रजातान्त्रिक अभ्यासमा हिडाउन सम्भव भएको थियो । यस्ता अन्य कैयौँ उदाहरण अन्य मुलुकमा पनि रहेका छन् । यसरी नयाँ पुस्ताको नेतृत्वमा प्रगतिशील गुण हुन सक्ने कुरालाई अस्वीकार गर्नुपर्ने कारण छैन ।
नयाँ पुस्ता पुरानो पुस्ता भन्दा प्रगतिशील हुनु सापेक्षिक सत्य मात्र हो । सबै अवस्थामा त्यो पुस्ता प्रगतिशील हुन्छ भनेर सोच्नु सही होइन । कुनै पुस्ता प्रगतिशील वा अग्रगामी हुने÷नहुने कुराको छिनोफानो तिघ्रामा भएको तागत र गालामा भएको जवानीको आधारमा हुँदैन । कुनै ठूलो गुट, समूह वा शक्ति भएर पनि त्यो कुराको फैसला हुँदैन । त्यो कुराको फैसला गर्नका लागि कुनै पुस्ताले बोकेको विचार के हो ? त्यो प्रगतिशील वा अग्रगामी छ वा छैन ? पहिलेका मूल्यहरुलाई समृद्ध बनाउने वा उथलपुथल बनाएर नयाँ सामाजिक व्यवस्था स्थापना गर्ने प्रगतिशील वा अग्रगामी विचार त्यो पुस्तामा छ कि छैन ? भन्ने प्रश्नले नै त्यो कुराको फैसला गर्दछ । जस्तो कि नयाँ पुस्ताको कुरा गरौँ, स्तालिनपछि नेतृत्वमा आएका खु्रश्चेभले समाजवादी व्यवस्थाको गतिलाई उल्टोतिर घुमाइदिए र उनीपछि नेतृत्वमा आएका सबै श्रृङ्खलाका नयाँ पुस्ताले खु्रश्चेभको त्यो “कार्य”लाई अगाडि बढाउँदै लगे र अन्तमा समाजवादी व्यवस्था विघटन भएको घोषणा गरेर पुँजीवादको स्थापना हुन गयो ।
त्यस्तै चीनमा माओपछि नेतृत्वमा आएका तेङस्याओपिङले माओले शुरु गरेको समाजवादी व्यवस्थाको परम्परालाई भत्काएर “विरालो कालो होस् वा सेतो होस् तर मूसा मार्नुपर्दछ” भन्ने उपभोगवादी सिद्धान्तको प्रतिपादन गरेर समाजवादी उत्पादन प्रणालीको ठाउँमा पुँजीवादी उत्पादन प्रणालीलाई अपनाउन पुगे । उत्पादन प्रणालीमा त्यसप्रकारको हेरफेर भइसकेपछि राजनीतिक रुपमा “कम्युनिस्ट नेतृत्व”ले समाजवादी व्यवस्थालाई सुदृढ गर्न सक्ने कुरै भएन । साम्यवादको त झन् परिकल्पना गर्न नसकिने कुरा हो । त्यो कुरा आजको चीनले देखाइरहेको छ । यस्ता उदाहरण पुँजीवादी मुलुकमा पनि छन् । आफैले अगाडि बढाएर नेतृत्व समेत सुम्पिएको नयाँ पुस्तामा पार्टीदेखि सत्ता सञ्चालनमा भ्रष्टाचार, अनियमितता, अक्षमता आदि देखिएका कारणले त्यसका विरुद्धमा अगाडि बढेर मलेशियामा ९२ वर्षीय नेता महाथिर मोहमद(जसले मलेशियालाई आधुनिक आर्थिक विकासका लागि अग्रगति दिएका थिए)ले पुनः प्रधानमन्त्रीमा निर्वाचित भएर काम गर्नुपर्ने निष्कर्षमा पुगेका थिए र उनी त्यसमा सफल पनि भएका थिए । यसरी यस्ता कैयौँ उदाहरण प्रस्तुत गर्न सकिन्छ, यी घटनालाई के भन्ने ? नयाँ पुस्ता पुरानो पुस्ता भन्दा प्रगतिशील हुन्छ वा प्रतिगामी ?
आज राजनीतिमा पुस्तान्तरको जुन बहस भइरहेको छ, त्यो नेतृत्व हत्याउने वा शक्ति प्राप्त गर्ने प्रवृत्तिको सहायक सिद्ध हुने माध्ययम हुनु हुँदैन । त्यो वहसले राजनीतिक नेतृत्वको लागि विचारलाई केन्द्रमा राखेर उत्तर दिन सक्नुपर्दछ । यदि त्यसो हुँदैन भने महत्वाकांक्षी, लोभी, पदलोलुप प्रवृत्ति बोकेर आएको “नयाँ पुस्ता”का वहस हुनु व्यर्थ छ । एउटै विचार, राजनीति, संगठनात्मक पद्धति, कार्यशैली र संस्कारभित्र विकसित भएको कुनै पुस्ताले पुरानो पुस्तालाई निकम्मा र यथास्थितिवादी भन्नु भन्दा पहिले आफूलाई प्रगतिशील र अग्रगामीको रुपमा प्रमाणित गर्नुपर्दछ । आफ्नो छुट्टै विचार, कार्ययोजना र पद्धतिलाई प्रयोगात्मक रुपमै प्रमाणित गर्न सक्नुपर्दछ । त्यस्तो विचार, कार्ययोजना र पद्धतिको विषयमा स्पष्ट पार्न सक्नुपर्दछ ।
के नेका, नेकपा वा अरु संगठनहरुले पनि कस्तो नयाँ पुस्ता चाहिएको हो भन्ने विषयमा केही चासो राख्दछन् ? के नयाँ पुस्ताको लागि अभियान चलाउनेले नयाँ पुस्ताको विचार, कार्यशैली, पद्धति र विधिको उत्कृष्ट नमुना जनताको सामू पेश गर्न सक्दछन् ? जस्तो कि हामी कुरा गरौँ, नेकाको नयाँ पुस्ताले के गर्ने छ ? मानवता, प्रजातन्त्र, विधिको शासन, राष्ट्रियता आदि राष्ट्रिय राजनीतिका मुख्य विषयका सन्दर्भमा परम्परागत काँग्रेसको सोचाइ, क्रियाकलाप, गतिविधि भन्दा बेग्लै सोचाइ सहित त्यसको नयाँ पुस्ताले आफ्नो राजनीतिक मापदण्ड बनाएको छ ? परम्परागत काँग्रेस के हो र त्यसको राजनीतिबाट मुलुकले के प्राप्त गर्दछ भन्ने कुराबारे यहाँ छलफल गरिंदैन, तैपनि त्यो कुराबारे राजनीतिको ‘र’ बुझेका सबैलाई थाहा छ । त्यो भन्दा भिन्न योजना नभएको नयाँ पुस्तालाई योग्य कसरी ठान्न सकिन्छ ? त्यसरी स्पष्ट छ कि नेकाभित्रको नयाँ पुस्ताको अभियान पुरानोलाई नेतृत्वबाट हटाएर आफूलाई नेतृत्वमा स्थापित गर्नसम्म मात्र सीमित छ । यो राजनीतिमा नहुनु पर्ने कर्म र संस्कार दुबै हो । त्यसप्रकारको कर्म गरेर खराव संस्कारलाई स्थापना गर्ने अभियान र कार्यशैलीलाई पार्टी वा आम राजनीतिमा समेत स्वीकृत गरिनु हुँदैन । त्यही कुराबारे नेकपा र अन्य संगठनहरुबारे पनि सत्य हो ।
नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण सम्बन्धी बिभिन्न प्रसङ्ग उठेको छन् । नेकपा(माले)को नेतृत्व नितान्त नयाँ पुस्ताले नै गरेको थियो । त्यो नयाँ पुस्ताले नेतृत्व गरेको आन्दोलनको राजनीतिक दिशा आज कहाँ छ ? त्यस्तै पाँचौ महाधिवेशनपछि हाम्रो पार्टीको मुख्य नेतृत्वमा नयाँ पुस्ताले नै गरेको थियो । त्यो महाधिवेशनको केही समयपछि नै हाम्रो पार्टीमा फुट भएकोले उनीहरुसित हाम्रो सम्बन्ध विच्छेद भयो । तर हामीले आज देख्न सक्दछौँ, उनीहरुको राजनीतिक दिशा कहाँ गएर पतन भएको छ ? त्यसरी इतिहासमा पुस्तान्तरको कुरा जसरी भयो र अभ्यास पनि भयो, त्यसले प्रमाणित ग¥यो कि कुनै पनि संगठन, आन्दोलन वा नेतृत्वका लागि आवश्यक कुरा होइन विचार नै हो, पुस्तान्तर होइन ।
नयाँ पुस्ता सही र उचित तरिकाबाट नेतृत्वमा आउनु राम्रै कुरा हो । तर पुरानो पुस्ता र नयाँ पुस्ताको तुलना गरी विचार पक्षलाई तिलाञ्जली दिएर राजनीतिक नेतृत्वमा पुस्तान्तर भएका कारणले समस्या समाधान हुँदैन । समस्या समाधान हुनाको लागि सही विचार, कार्यपद्धति, संगठनात्मक व्यवस्थाको उचित सम्पादन हुनुपर्दछ । यो कार्य गर्न सक्ने पुस्ता नै सक्षम पुस्ता हो । त्यो पुरानो पुस्ता वा नयाँ पुस्ता मध्ये कुनै पनि हुन सक्दछ । तर कुनै उत्सवको आयोजना वा निर्णय गरेर राजनीतिक नेतृत्व हस्तान्तरण गर्न सकिने कुरा पनि होइन । यदि त्यसो भएको छ भने पनि विचारको पक्षलाई त्यसले पुष्टि गर्न सक्दैन, किनभने त्यो कुरा कार्यमैदानमा नै पुष्टि हुन्छ । त्यसरी समय, सन्दर्भ र आवश्यकताले कुनै पनि पुस्तालाई नेतृत्वको लागि खडा गर्ने हो, न कि हामी कसैको चाहना वा महत्वाकांक्षाको कारणले त्यस्तो हुन सक्दछ ।
राजनीतिमा मौजूदा विचार, कार्यशैली र पद्धति भन्दा प्रगतिशीलताको खोजी गरिएको छ भने त्यो स्वागतयोग्य कुरा हो । त्यो हुनु पर्दछ र नयाँ युग निर्माणको लागि त्यो अनिवार्य र आवश्यक पनि छ । त्यसरी विचारको विषयलाई ध्यानमा राखेर काम गर्दा कुनै पुस्तामा राजनीतिक नेतृत्वको हस्तान्तरण सम्बन्धी विषय बनाएर वहस गर्नुपर्ने आवश्यकता पनि हुँदैन । जाहेर छ कि पुरानो पुस्ता सँधै नेतृत्वमा रहँदैन, बिभिन्न कारणले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरित हुँदै जान्छ । जति योग्य भएपनि मरेका महान् व्यक्तिहरु भौतिक रुपले राजनीतिक नेतृत्व दिन आउँदैनन् । जति अयोग्य भएपनि जिउँदाहरुले नै भौतिक रुपले राजनीतिक नेतृत्व दिनुपर्दछ । त्यसैले राजनीतिमा पुस्तान्तरण स्वतः हुन्छ, त्यसका लागि कुनै अभियान चलाइराख्नु पर्दैन ।
नेतृत्व भनेको मालिक भई कजाउने वर्ग नभएर विचार, योग्यता, सक्रियता आदिलाई कुशलतापूर्वक काममा रुपान्तरण र सम्पादन गर्ने/गराउने कुनै संगठन वा आम राजनीतिको उच्च संयन्त्र मात्र हो । नेतृत्वका बिभिन्न तह हुन्छन्, सबै तहको उत्तिकै महत्व हुन्छ, जति मात्रामा तहको अभाव हुन्छ, त्यति मात्रामा राजनीतिको क्षेत्र पनि संकुचित हुन्छ । उच्च नेतृत्वले राजनीतिको क्षेत्र अर्थात् आफ्नो संगठनात्मक क्षेत्रलाई फराकिलो बनाउनका लागि नेतृत्वका सबै तहसित सम्मानपूर्ण, विधिसम्मत र नेतृत्वदायी व्यवहार गर्नुपर्दछ । आफू मातहतका सबै नेतृत्व तहलाई सबै किसिमले मार्गनिर्देशन गर्ने उच्च नेतृत्वको जिम्मेवारी हो । यो संगठनात्मक जिम्मेवारी भएकोले कार्यसम्पादन गर्ने एक संयन्त्रको रुपमा नै उच्च नेतृत्वलाई बुझ्नु पर्दछ र त्यसले आफूलाई पनि त्यसरी नै बुझ्नु पर्दछ । नेतृत्वले मालिकको व्यवहार गर्ने र कार्यकर्ता वा जनसमुदायले पनि नेतृत्वलाई त्यस रुपमा बुझ्ने हो भने बिभिन्न ढङ्गले समस्या पैदा हुन्छन् । नेतृत्व हत्याउने महत्वकांक्षा पनि त्यसप्रकारका दृष्टिकोणबाट उत्पन्न हुने गर्दछन् ।
जहाँ विधि, पद्धति, विचारको गतिशीलतामा कमी वा अभाव छ, त्यस्ता संगठनहरुमा पदलोलुप, महत्वाकांक्षा, षडयन्त्र जस्ता प्रवृत्तिहरु केन्द्रमा रहेका हुन्छन् । त्यहाँ बिभिन्न आवरणमा नेतृत्वमा पुग्नका लागि बिभिन्न प्रवृत्तिहरुले चलखेल गर्न थाल्दछन् । कतिपयले विचारको आवरणमा, कतिपयले पद्धतिको आवरणमा, कतिपयले पुस्तान्तरण आदि आवरणमा नेतृत्व हत्याउने महत्वकांक्षालाई पुरा गर्ने प्रयत्न वा षडयन्त्र समेत गर्दछन् । त्यसरी अहिले राजनीतिमा नयाँ पुस्ताको नेतृत्वको कुरा नेतृत्व हत्याउने क्रियाकलापसम्म सीमित एउटा पक्षको रुपमा रहेको कुरा स्पष्ट छ ।
नयाँ पुस्ता पुस्ताको रुपमा मात्र अगाडि आएर हुँदैन, त्यो अगाडि आउनुपर्दछ तर त्यसले सही विचार, कार्यपद्धति र कार्यक्षमताका पक्षलाई सँगैसँगै लिएर आउनुपर्दछ । सही विचार भनेको अग्रगामी सिद्धान्तका आधारभूत मूल्यहरुमा समृद्धि र विकास गर्ने नै हो । कार्यपद्धति भनेको विधिसम्मत ढङ्गले चल्न सक्ने र त्यस अनुसार संगठनात्मक व्यवस्था कायम गर्न सक्ने क्षमता हो । कार्यक्षमता भनेको काममा सक्रिय हुनु हो । यी तीनवटै कुरालाई नयाँ पुस्ताले बोकेर आउनुपर्दछ, नेतृत्व आफै हस्तान्तरित हुँदै जान्छ । यो विषयलाई सबै प्रकारका राजनीतिक संगठनले ध्यानमा राख्नुपर्दछ । कम्युनिस्ट पार्टीले त अझ बढी ध्यानमा राख्नुपर्दछ ।
उपर्युक्त छलफलपछि हामीले निर्णय दिन सक्दछौँ: राजनीतिक नेतृत्वमा चाहिनुपर्ने आवश्यक कुरा, प्रधान रुपले विचार हो । पुस्ता त स्वतः निर्माण हुने कुरा हो ।
रामप्रकाश पुरी rpp2029@gmail.com