काठमाडौं । कोरोना संक्रमण फैलिन नदिन काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आज (बुधबार) राति १२ बजदेखि सकिँदैछ । निषेधाज्ञा थप गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिन काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सीडीओहरुको बैठक बसिरहेको छ ।
निषेधाज्ञा थप गर्ने वा हटाउने विषयमा आज निर्णय गर्नुपर्ने हुन्छ । पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको सन्दर्भमा थप कडाई गर्नुपर्ने आवश्यकता देखिएको प्रशासनले जनाएको छ ।
यद्यपी निषेधाज्ञा थप्नेबारे निर्णय नहुँदासम्म यसै भन्न नमिल्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो ।
मंगलबार उपत्यकामा अहिलेसम्मकै धेरै ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौँ ३९३, ललितपुरमा ५८ र भक्तपुर ३० जना संक्रमित थपिएका थिए ।
उपत्यकामा निषेधाज्ञा थप गर्ने विषयमा मंगलबार पनि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको भर्चुअल बैठक बसेको थियो । गृह मन्त्रालयसँग थप परामर्श गरी निषेधाज्ञा थप गर्ने वा नगर्ने बारे मंगलबारको बैठकमा छलफल भएको बताइएको छ ।
अब केही परिमार्जनसहितको निषेधाज्ञा थप हुने सम्भावना रहेको स्रोतले जनाएको छ । जसमा होम डेलिभरी र टेक वे लाई सञ्चालन गर्न दिइनेछ ।
सरकारले गत चैत ११ देखिको देशव्यापी लकडाउन साउन ६ गते अन्त्य गरेयता देशका विभिन्न जिल्लासँगै काठमाडौं उपत्यकामा पनि निषेधाज्ञामार्फत यही भदौ ३ गतेदेखि अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रमा प्रतिबन्ध लगाइएको छ ।
सुरुमा एक हप्ता अर्थात् भदौ १० सम्मका लागि जारी गरिएको निषेधाज्ञा पुनः एक हप्ता लम्ब्याएर भदौ १७ अर्थात् आज राति १२ बजेसम्म पुर्याइएको हो ।