काठमाडौं । २३८ दिन लामो भोक हड्तालबाट निधन भएकी टर्कीकी कानुन व्यवसायी तथा मानवअधिकारवादी इब्रु तिम्तिकको अन्त्येष्टिमा हजारौंले सहभागिता जनाएका छन् । ४२ वर्षीया तिम्तिकको आइतबार भोक हड्तालका क्रममा एउटा अस्पतालमा निधन भएको हो ।
उनलाई टर्कीको एकेपी सत्ताले सेप्टेम्बर २०१७मा गिरफ्तार गरेको थियो । आफूलगायत गिरफ्तार साथीहरुको रिहाई, जेलभित्र मानवीय व्यवहार गर्न र स्वच्छ र स्वतन्त्र न्यायालयका लागि माग राखेर उनले जेलभित्रै भोक हड्ताल सुरु गरेकी थिइन् ।
लामो समयको भोक हडतालका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या पैदा भएपछि बन्दी अवस्थामा नै उनलाई जुलाई ३० मा अस्पताल भर्ना गरेको भए पनि आफ्ना माग पुरा नभएसम्म कुनै औषधी उपचार लिन तिम्तिकले इन्कार गरिन् । अन्ततः अगस्ट २७ मा २३८ दिन लामो भोक हडतालसँगै उनले शाहदत प्राप्त गरिन् ।
तिम्तिकलाई गत मार्चमा १३ वर्ष ६ महिनाको लामो काराबासको सजाय सुनाइएको थियो । कठोर कारावासमै तिम्तिकले जनवरी २ देखि स्वच्छ सुनुवाइ, स्वतन्त्र न्यायलय जस्ता न्यायपुर्ण मागहरु राखी भोक हडताल सुरु गरेकी थिइन् ।
उनलाई उनको प्रोग्रेसिभ लयर्स एशोसियसनका आफ्ना १८ जना सहकर्मीसँगै गिरफ्तार गरिएको थियो । परिवर्तन, न्याय र समानताको पक्षमा आवाज उठाउने उनीहरुलाई टर्कीको सत्ताले प्रतिबन्धित पार्टी रेभ्युलुसनरी पिपुल्स लिबरेसन फ्रन्टको सदस्य भएको आरोप लगाउँदै आतंकवादी करार गरेको थियो ।
अस्पतालमा उनलाई राखेको कोठा चिसो र अँध्यारो भएको र औषधि खुवाउन जबर्जस्ती गरेकाले उनको निधन भएको उनका समर्थकहरुले बताएका छन् ।
टर्कीमा तिम्तिक सहित राजनीतिक परिवर्तनका निम्ति भोकहडताल गर्दै यो वर्ष मात्रै टर्कीकी चर्चित जनगायिका हेलिन बेलेक लगायत चारजनाले शाहदत प्राप्त गरेका छन् ।