काठमाडौं । भारतमा विश्वकै अहिलेसम्मको एकैदिनको उच्च संक्रमण वृद्धि पाइएको छ । भारतमा आइतवार ७८ हजार ७८१ जना संक्रमित थपिएका छन् ।
यसअघि १७ जुलाईमा ७८ हजार २९९ संक्रमित सहित अमेरिकामा विश्वकै उच्च दैनिक संक्रमण पाइएको थियो ।
दशौँ लाखले रोजगारी गुमाएको मार्च महिनायताको पुष्ठभूमिमा सरकारले अर्थतन्त्र उकास्ने प्रयासस्वरूप प्रतिबन्धहरू क्रमशः हटाइरहँदा त्यस्तो वृद्धि देखिएको रोयटर्सले जनाएको छ ।
आइतवार विश्वमा पुष्टि भएका संक्रमितको संख्या साढे दुई करोड नाघ्दा कोभिड–१९ भएर ज्यान गुमाउनेको संख्या आठ लाख ४३ हजार पुगेको छ ।
जोन्स् हप्किन्स् विश्वविद्यालयको अनुसन्धानका अनुसार करिब ६० लाख संक्रमितहरू सहित अमेरिका सबैभन्दा उच्च प्रभावित देशको रूपमा छ ।
धेरै ग्रामिण क्षेत्रमा कोभिड–१९ वृद्धिको क्रम देखिनु यतिखेर मुख्य सरोकार बनेको छ।
कोभिड–१९ को महामारी सुरु हुँदा भारतको अवस्था ठिकठिकै थियो । त्यसबेला कडा लकडाउन गरिएको थियो ।
तर भाइरस साना सहर वा गाउँमा फैलनुअघि मुम्बई र दिल्लीजस्ता ठूला सहरमा देखिन थाले । तैपनि सरकारले प्रतिबन्ध खुकुलो पार्न चाहिरहेको देखिन्छ ।
अर्को महिनाबाट मास्क र सामाजिक दूरी कायम राख्दै एक सयजनासम्म भेला हुन पाइने सांस्कृतिक, मनोरञ्जन र खेलकुदका गतिविधि सञ्चालन हुने छन् ।