रामप्रकाश पुरी
हाम्रो कर्तव्य
नेपाल कम्युनिस्ट पार्टी (मसाल) को आठौँ महाधिवेशनभन्दा अगाडिको अराजकताको स्थितिलाई त्यो महाधिवेशनले किनारामा पु¥याएको भए पनि त्यसलाई पूर्ण रूपमा समाप्त पार्न सकेन र सक्दैनथ्यो पनि । यसको अर्थ त्यसलाई दमन गर्नु हो अर्थात् अराजकतावादलाई दमन गर्न आठौँ महाधिवेशन सफल भयो । अहिले पार्टी विरोधी कार्यमा संलग्न छद्म नामधारी तथा अनुशासनविहीनहरूले विभिन्न सामाजिक सञ्जालमा पोखिरहेको रोदन त्यही दमनको प्रतिक्रिया हो । त्यसरी थाहा हुन्छ, कम्युनिस्ट पार्टीको सिद्धान्त, सङ्गठनात्मक पद्धति र कार्यशैलीको विरुद्ध रहेका प्रवृत्तिले कसरी कम्युनिस्ट पार्टीको सामु मखुण्डो लगाएका अपराधी झैँ खडा हुनुपरेको छ । त्यस्ता अपराधीहरू, जो अनैतिक राजनीतिको फेरो समाएर केही दिन सक्रिय रहन्छन्, उनीहरूले कम्युनिस्ट पार्टीको लक्ष्यलाई कहिल्यै पनि भत्काउन सक्दैनन् ।
विश्व कम्युनिस्ट आन्दोलनको इतिहासलाई हेर्दा पार्टीका महाधिवेशनहरू सङ्घर्षका मैदान बनेका छन् र तिनीहरूको सैद्धान्तिक र राजनीतिक रूपमा व्यापक महत्त्व पनि रहेको पाइन्छ । त्यसरी हाम्रो पार्टीका महाधिवेशनहरू पनि सङ्घर्षको मैदान बन्दै आएका थिए र आठौँ महाधिवेशन पनि त्यसको अपवाद हुन सक्दैन्थ्यो । तर त्यो कारणले हाम्रो पार्टीको स्थिति लेनिनवादी सङ्गठनात्मक मूल्यबाट च्यूत भएको बुजुवा वर्गको पार्टीजस्तो हुन सक्दैन्थ्यो र हुने छैन पनि । किनभने हाम्रो पार्टीले लेनिनवादी सङ्गठनात्मक पद्धतिलाई स्वीकार नगर्ने पक्षलाई स्थान दिन सक्दैन । यदि त्यस्ता पक्षलाई स्थान दिन थालियो भने हाम्रो पार्टी कम्युनिस्ट पार्टी रहने छैन । हाम्राअगाडि यो प्रश्न छ ः पार्टीले आत्मसात गर्दै आएको लेनिनवादी सङ्गठनात्मक पद्धतिको परम्पराको आधारमा पार्टीलाई समृद्ध बनाउँदै लैजाने वा लेनिनवादी सङ्गठनात्मक पद्धतिलाई स्वीकार नगर्ने पक्षलाई पनि स्थान दिएर पार्टीलाई बुर्जुवाकरण गर्ने ? हामीले निश्चय पनि अघिल्लो बाटो रोज्ने छौँ र त्यसअनुसार काम गर्दा जुनसुकै पनि मूल्य चुकाउन तयार रहनु हाम्रो कर्तव्य हुने छ ।
मतभेदको अर्थ
जहाँसम्म मतभेदको कुरा छ, प्रष्ट छ मतभेदबिनाको कम्युनिस्ट पार्टी निश्चय पनि हुँदैन । द्वन्द्वात्मक भौतिकवादी मूल्यको स्थापना गर्ने कम्युनिस्ट जगत्मा मतभेद बिनाको कम्युनिस्ट पार्टी हुन्छ भनेर कसैले भन्छ भने त्यो दार्शनिक समझदारीमा भएको गडबडी वा समस्या हो । हाम्रो पार्टीमा त्यो गडबडी र समस्या छैन, किनभने हाम्रो पार्टीको परम्परा एकता–सङ्घर्ष–एकताको सिद्धान्तबाट अगाडि बढ्दै यहाँसम्म आइपुगेको हो । यो परम्परानुसार नै पार्टी अगाडि बढ्छ, कसैले यसको गतिलाई रोक्न सक्ने छैन ।
एक समयमा कुनै विषयमा मतभेद भएका साथीहरू अर्को समयमा अर्को विषयमा सहमत हुन सक्दछन् । त्यस्तै एक समयमा कुनै विषयमा सहमत भएका साथीहरू अर्को समयमा अर्को विषयमा मतभेद राख्न सक्दछन् । यसको अर्थ स्पष्ट छ : एउटा कम्युनिस्ट पार्टीमा केही न केही सैद्धान्तिक वा राजनीतिक मतभेद जहिले पनि कायम रहेका हुन्छन् । ती मतभेद पार्टी अन्तरसङ्घर्षमा कहिलेकाहीँ सामान्य प्रकारले अस्तित्वमा रहन्छन् भने कहिलेकाहीँ तीव्र पनि बन्न गएका हुन्छन् । तिनीहरू सामान्य अवस्थामा रहनु वा तीव्र बन्नु महत्त्वपूर्ण कुरा होइन, महत्त्वपूर्ण कुरा हो : तिनीहरूको हल लेनिनवादी सङ्गठनात्मक पद्धतिका आधारमा गर्नका लागि सबै पक्ष तयार रहनु । यसको अर्थ पनि स्पष्ट छ : लेनिनवादी सङ्गठनात्मक पद्धतिका आधारमा पार्टीको एकतालाई कायम गर्नका लागि सबै एकताबद्ध रहनु । कुरा यतिमा मात्र सीमित छैन, पार्टीलाई त्यसरी एकताबद्ध बनाइरहनका लागि पार्टीका निर्णयलाई एकताबद्ध भएर कार्यान्वयन गर्नु सबैभन्दा स्पष्ट कुरा हो । निर्णय गर्ने बेलामा फरक मत भए पनि निर्णय भएको विषयलाई कार्यान्वयन गर्ने बेलामा एकताबद्ध भएर सम्पन्न गर्ने परम्परा नै हाम्रो पार्टीको परम्परा हो, जुन परम्परा लेनिनवादी सङ्गठनात्मक पद्धतिमाथि आधारित छ ।
अराजकतावादी प्रवृत्ति
विश्व कम्युनिस्ट आन्दोलनमा अराजकतावादीले सबैभन्दा बढी उल्लङ्घन गर्ने पक्ष भनेको लेनिनवादी सङ्गठनात्मक पद्धति हो । उनीहरूले सिद्धान्तमा लेनिनवादी सङ्गठनात्मक पद्धतिको समर्थन गरिहाले पनि व्यवहारमा त्यसको व्यापक उल्लङ्घन गरेर आफ्ना कारबाही अगाडि बढाउने गर्दछन् । एकातिर, लेनिनवादी सङ्गठनात्मक पद्धतिको समर्थन गर्ने तर अर्कातिर, व्यवहारमा गुटबन्दीजन्य क्रियाकलाप गर्ने, ह्विसपरिङ गर्ने, पार्टीका गोपनीयतालाई भङ्ग गर्ने, छद्म नामबाट पार्टी वा पार्टी नेतृत्वका विरुद्ध भ्रम फैलाउने आदि गरेर पार्टीलाई ध्वस्त बनाउने क्रियाकलापमा उनीहरू संलग्न रहन्छन् । त्यसैले अराजकतावादीले पार्टी अनुशासन, पद्धति वा विधिसम्मत कार्य गर्नुपर्ने आवश्यकतालाई आफ्नो दायित्वको रूपमा बुझ्न असमर्थ हुन्छन् वा बुझे पनि त्यसलाई उल्लङ्घन गर्दछन् ।
अराजकतावादीको विशेषता हो : सामूहिक निर्णयको उलङ्घन गर्नु । अराजकतावादीले आफूलाई सबैभन्दा बढी अब्वल देख्ने गल्ती पनि गरिरहेका हुन्छन् । उनीहरूलाई लागिरहेको हुन्छ कि समूहमा आफूले मात्र राम्रो गरिरहेको छु । त्यसैले समूहभन्दा आफू राम्रो हो । तर समूहको शक्ति अराजकतावादीले सोचेभन्दा धेरै फरक हुन्छ । समूहमा विभिन्न स्वभाव, प्रवृत्ति, विचार आदि कायम रहेका हुन्छन् । तिनै विभिन्नताबाट समूहको अस्तित्वको आधार खडा भएको हुन्छ, जसलाई सबैले स्वीकार गर्दछन् । यो भनेको त्यो आधारको पद्धतिलाई सबैले मान्दछन्, जसले गर्दा आफ्ना फरक–विचार, स्वभाव, प्रवृत्तिका बाबजुद पनि उनीहरू एकताबद्ध रहन सफल हुन्छन् भन्ने हो । तर अराजकतावाद सामूहिक निर्णय र कार्यभन्दा विपरीत प्रवृत्ति हो । आफूलाई मात्र राम्रो देख्ने दृष्टिदोषर आफूलाई मात्र राम्रो बुझ्ने गलत राजनीतिक तथा दार्शनिक समझदारीका कारणले त्यो प्रवृत्तिलाई सामूहिक निर्णयका विषयलाई उल्लङ्घन गर्नका लागि कुनै हिच्किचाहट हुँदैन । त्यसैले अनुशासनको पक्षलाई उनीहरूले बेवास्ता मात्र होइन, कुनै सिद्धान्त वा विचारको आवरणमा विरोधसमेत गर्दछन् । त्यसरी उनीहरू एउटा कम्युनिस्ट पार्टी निर्माणका वाधक तत्त्व हुन् भन्ने कुरा स्पष्ट नै छ ।
अराजकतावादी प्रवृत्ति एकै पटकमा एक वा विभिन्न रूपमा व्यक्त हुन सक्दछ । कहिलेकाहीँ सिद्धान्तमा मात्र भड्काव आएर अराजकतावादी प्रवृत्ति सतहमा आउँछ भने कहिलेकाहीँ व्यवहारमा भड्काव आएर त्यो सतहमा आउँछ । कहिलेकाहीँ सङ्गठनात्मक पद्धतिको उल्लङ्घन गरेर त्यसमा भड्काव आउँछ । कहिलेकाहीँ यी सबै पक्षहरू एकै चोटि अराजकतावादीमा देखा पर्न सक्दछन् । त्यसरी एक वा विभिन्न रूपमा व्यक्त हुने उनीहरूका ती सबै प्रवृत्तिले कम्युनिस्ट पार्टी निर्माणको कार्यमा अवरोध पैदा नै गर्दछन् । त्यसैले ती सबै प्रवृत्तिका विरुद्धमा क्रान्तिकारीले निर्मम सङ्घर्ष गर्नुपर्दछ ।
दुश्मन वा पार्टी विरोधीको चलखेलको आधार अराजकतावादीको गतिविधि
मतभेदको स्थिति तीव्र बन्न गएको समयलाई दुश्मन पक्षले पार्टीमा फुट ल्याउनका लागि उपयुक्त समय सम्झिन्छन् । अन्तरविरोधमा खेलेर कम्युनिस्ट पार्टीलाई कमजोर बनाउन सकिन्छ भन्ने कम्युनिस्ट विरोधी शक्तिले पहिलेदेखि बुझेको कुरा हो ।
उदाहरणका लागि कुरा गरौँ । आठौँ महाधिवेशनको बेलामा पार्टीमा केही विषयमा मतभेद थिए । त्यो मतभेदको स्थिति बराबर, बहुमत वा अल्पमत जे पनि हुन सक्दथ्यो । तर त्यो बेला दुश्मन वा पार्टी विरोधीले हाम्रो पार्टीको मतभेदको स्थितिलाई बहुमत र अल्पमतमा विभाजित भएको पत्ता लगाए । त्यो कुरा उनीहरूले पार्टीभित्रका अनुशासनविहीन र अराजकतावादीबाट नै प्राप्त गरेका थिए । किनभने अनुशासनविहीन र अराजकतावादीले अनुशासनको पालना गरेका थिएनन् र सार्वजनिक रूपमा नै पार्टी विरोधी अभिव्यक्ति दिइरहेका थिए । त्यसबाट दुश्मन वा पार्टी विरोधीलाई हाम्रो पार्टीभित्र मतभेद भएको कुरा बुझ्न सजिलो भयो र त्यसरी उनीहरूले अराजकतावादीको गतिविधिलाई आधार बनाएर हाम्रो पार्टीका विरुद्ध पार्टीमाथि आक्रमण सुरु गरे । पार्टीभित्रका अनुशासनविहीन र अराजकतावादीलाई उपयोग गर्दै हाम्रो पार्टीलाई ध्वस्त बनाउनका लागि उनीहरूले एउटा पक्षप्रति सहानुभूति पनि दर्शाउँदै पार्टीको मुख्य भागतर्फ आक्रमणको निशाना सोझाए ।
पछि आठौँ महाधिवेशन सम्पन्न भएपछि पनि उनीहरूले आफ्नो त्यो कार्यलाई लगातार अगाडि बढाए । तर आठौँ महाधिवेशनपछि पार्टीमा अल्पमत वा बहुमत कायम नरहेको हुँदा उनीहरूले महाधिवेशनका बेलाको अल्पमत र बहुमतको हाउगुजी देखाएर त्यस प्रकारको कार्य गर्न दुष्प्रयास गरिरहेका छन् । त्यो दुष्प्रयासको सन्दर्भमा उनीहरूले विभिन्न छद्म नामबाट ज्यादै तल्लो स्तरका लेख सार्वजनिक गर्दै आएका छन् । उनीहरूले हाम्रो पार्टीभित्र आफ्ना एजेन्टसमेत राखेर पार्टीका गोप्य सर्कुलरका साथै अन्य विषय पनि प्राप्त गर्ने र सार्वजनिक पनि गर्दै आएका छन् । त्यसरी दुश्मनका एजेन्ट वा सिआइडी हाम्रो पार्टीभित्र लुकेर बस्न सफल रहेको कुरा प्रष्ट छ । उनीहरूको मुकुण्डो नउतार्दासम्म उनीहरूले पार्टीलाई ध्वस्त बनाउनका लागि त्यस प्रकारका अराजनीतिक र अपराधिक क्रियाकलाप लगातार गर्ने छन् । यसबाट के थाहा हुन्छ भने पार्टीलाई ध्वस्त बनाउनका लागि पार्टीभित्र नै दुश्मनले आफ्ना एजेन्टमार्फत काम गरिरहेको छ । उनीहरूका ती एजेन्ट वा सिआइडी अनुशासनविहीन वा अराजकतावादीको सुरक्षामा छन् वा उनीहरूभन्दा अलग रहेका छन् । त्यो कुरा छिट्टै पर्दाफास हुने छ ।
अब पार्टी आफ्नो गतिबाट धेरै अगाडि बढिसकेकाले उनीहरूका लागि अल्पमत वा बहुमतको ट्यागबाट काम गर्न उनीहरूका लागि मुस्किल हुने छ । किनभने अहिलेसम्मका सबै कार्य पार्टीले एक ढिक्का भएर नै सम्पन्न गर्दै आएको छ । त्यसैले हाम्रो पार्टीमाथि आक्रमण गरे पनि उनीहरूलाई केही पनि सफलता प्राप्त भएको छैन । पार्टीभित्र छिपेर बसे पनि केही पनि प्राप्त गर्न नसकेकाले उनीहरूले पार्टीले विभिन्न कारणले निष्कासन गरेका व्यक्तिलाई ‘संसारमै नभएका असल मानव’ लाई पार्टीबाट निष्काशित गरियो भनेर हास्यास्पद प्रहसन पनि गर्ने गरेका छन् । त्यसबाट त झन् उनीहरूलाई केही लाभ हुनेवाला छैन । अब यस्तो बेला पनि आउँदै छ, उनीहरूको चलखेलको समयले नेटो काट्न थालेको छ र पार्टीभित्र छिपेर बसेका उनीहरूका एजेन्ट वा सिआइडीलाई छिट्टै बेनकाव हुनुपर्ने छ ।
अराजकतावादी कार्यशैली कसको पक्षमा ?
पार्टीमाथि आक्रमण भइरहँदा अराजकतावादीले एक शब्द पनि बोल्न सक्ने क्षमता राख्न सक्दैनन् । किनभने अराजकतावादीको काम पनि पार्टीको मुख्य शक्तिलाई ध्वस्त बनाउनमा नै केन्द्रित भएको हुन्छ । उनीहरूको त्यो प्रवृत्तिलाई दुश्मन वा पार्टी विरोधीले उपयोगमा लैजानु स्वाभाविक हुन्छ । अहिले हाम्रो पार्टीलाई ध्वस्त बनाउनका लागि पार्टी विरोधीले अनुशासनविहीन वा अराजकतावादी तत्त्वलाई धेरै उपयोग गरेका छन् । पार्टी विरोधीले खुलेआम पार्टी वा पार्टी नेतृत्वमाथि हमला गर्दा अराजकतावादीले सन्तोषको सास फेर्ने काममा आफ्नो समय लगानी गर्ने भएकाले उनीहरूलाई पार्टीको पक्षमा बोल्न सक्ने हिम्मत हुँदैन । किनभने पार्टीको पक्षमा बोल्नेबित्तिकै सङ्गठनात्मक पद्धति, अनुशासनलगायतका विषयप्रति इमान्दार बन्नुपर्दछ । त्यस प्रकारको इमान्दारिता देखाउनेबित्तिकै पार्टी विरोधीसित सम्बन्ध–विच्छेद हुने भएका कारणले पार्टीलाई ध्वस्त बनाउने मुख्य उद्देश्यका आधारमा अराजकतावादी र अनुशासनविहीन प्रवृत्तिले पार्टी विरोधी वा दुश्मन पक्षसित साँठगाँठ गर्न पुग्दछन् । त्यसरी अराजकतावादीको कार्यशैली पार्टीका विरुद्ध र दुश्मनका पक्षमा रहने हुन्छ ।
पार्टीको नीति
पार्टीको नीति जहिले पनि पार्टीलाई सशक्त र समृद्ध बनाउनमा केन्द्रित हुन्छ र हुनुपर्दछ । पार्टी क्रान्तिकारी भएर मात्र हुँदैन, कम्युनिस्ट पनि हुनुपर्दछ । कतिपय अवस्थामा बुर्जुवा पार्टी पनि क्रान्तिकारी हुन्छन् । क्रान्तिकारी प्रवृत्ति वा चरित्र हो, त्यो ठोस सिद्धान्तको रूपमा रहेको हुन्न । कम्युनिस्ट सिद्धान्त ठोस सिद्धान्त भएकाले कम्युनिस्ट पार्टीले क्रान्तिकारी चरित्रलाई आफ्नो जीवनशैलीमा मिसाएर काम गर्नुपर्दछ । त्यसैले भन्ने गरिन्छ, कम्युनिस्टहरू क्रान्तिकारी हुन्छन्, तर सबै क्रान्तिकारी कम्युनिस्ट हुँदैनन् । त्यसैले कम्युनिस्ट पार्टी आफ्नो उद्देश्यमा लगातार रूपमा अगाडि बढ्नुपर्दछ र त्यसरी अगाडि बढ्नका लागि तय गरिएका नीतिलाई दृढतापूर्वका कार्यान्वयन गर्नुपर्दछ ।
यस सन्दर्भमा हाम्रो कुरा गरौँ । जब महाधिवेशन भयो, त्यहाँ मतभेदका विषयबारे छिनाफानो भयो । महाधिवेशनले गरेको त्यो निर्णय जस्तो खालको निर्णय भए पनि कुनै पनि पार्टी सदस्य वा समितिलाई त्यसका विरुद्धमा प्रश्न उठाउने अधिकार हुँदैन । कार्यमैदानमा आइसकेपछि निर्णयलाई लागु गर्नु सबै पार्टीसदस्य र समितिको दायित्व हो । मेरो वा हाम्रो यस्तो मत थियो भनेर कुनै पनि पार्टी सदस्यले महाधिवेशनका निर्णयका विरुद्ध विचार प्रकट गर्न सक्दैन र पाउँदैन पनि । त्यसैले महाधिवेशनको निर्णयको एक मतले कार्यान्वयन गर्नका लागि सबै पार्टीसदस्य एकताबद्ध हुनुको विकल्प हुँदैन । कम्युनिस्ट पार्टीका सदस्यले अपनाउने तरिका नै यही हो र पार्टीले लिने नीति पनि यही हो । महाधिवेशनले तय गरेका नीतिका विरुद्ध व्यवहार प्रदर्शन गर्न पुगे या त कम्युनिस्ट पार्टीबाट बाहिरिनुपर्दछ या त पार्टीलाई अन्य बुर्जुवा पार्टीजस्तो बनाउनुपर्ने हुन्छ । यो विषय कम्युनिस्ट पार्टीका प्रत्येक सदस्यका लागि महत्त्वपूर्ण हुन्छ । हामीले महाधिवेशनले तय गरेका नीतिको कार्यान्वयन नै गर्ने छौँ र गर्नुपर्दछ । यसैले यो विषय हाम्रा लागि धेरै महत्त्वपूर्ण छ, पार्टीभित्र बसेर पार्टी विरोधी गतिविधि गर्ने अराजकतावादी र अनैतिक कार्यप्रति हामीले निर्मम र कडा व्यवहार अपनाउनुपर्दछ ।
अराजकतावादी र अनैतिक कार्य जारी राख्ने, त्यस प्रकारका क्रियाकलाप भएका छैनन् भन्ने, तिनीहरूको संरक्षण गर्ने र पार्टीले निर्माण गरेका योजनालाई असफल पार्न प्रयत्न गर्ने तथा पार्टीले विचार, सिद्धान्त, राजनीति र सङ्गठनात्मक क्षेत्रमा दिएको योगदान र खेलेको भूमिकाको अवमूल्यन र मानमर्दन गर्ने प्रवृत्तिप्रति उदारवादी नीति अपनाएर अराजकतावादी र अनुशासनविहीनताको नुनको सोझो गर्न कम्युनिस्ट पार्टीका सदस्यलाई कहिल्यै सम्भावना छैन अर्थात् उनीहरूले अराजकतावादका विरुद्ध सम्झौताहीन सङ्घर्ष गरेर पार्टीको रक्षा गर्नुपर्दछ, जुन कुरा पार्टीको नीति हो ।

