काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन जर्मनीमा लगाइएइको प्रतिबन्धविरुद्ध हजारौंले प्रदर्शन गरेका छन् । राजधानी बर्लिनमा भएको प्रदर्शनमा ३८ हजार भन्दा बढी सहभागरु रहेको बीबीसीले जनाएको छ ।
प्रदर्शनमा उत्रिएका ३०० जनालाई प्रहरीले गिरफ्तार गरेको छ । अधिकारीहरूले दक्षिणपन्थी प्रदर्शनकारीहरूले ढुङ्गा र बोतल प्रहार गरेको आरोप लगाए । उक्त समूहलाई सुरक्षा नियमहरूको अवज्ञा गरेको भन्दै प्रहरीले तितरबितर हुन निर्देशन दिएको थियो । तर नमानेर उल्टै आक्रमणमा उत्रिएपछि गिरफ्तार गरिएको अधिकारीहरूले जनाएका छन्।
बर्लिन प्रहरीले सबै उपाय अपनाउँदा अपनाउँदै पनि तिनले काम नगरेपछि गिरफ्तार गर्नुको विकल्प नरहेको ट्विटरमार्फत् जनाएको छ। सो क्रममा सातजना प्रहरी अधिकारीहरू घाइते भएका बताइएको छ ।
मानिसहरू विभिन्न स्थानहरूमा सँगसँगै बसेका थिए। अर्को स्थानमा करिब ३०,००० मानिसहरू भेला भएका थिए। उक्त प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।
प्रदर्शनकारीहरू लगाइएका प्रतिबन्धहरूले जर्मनीको संविधानमा सुनिश्चित गरिएका आधारभूत अधिकार र स्वतन्त्रताको उल्लंघन गरेको ठान्छन् र ती फिर्ता लिइयोस् भन्ने चाहन्छन् । जर्मनी कोरोनाभाइरस रोकथाम, उपचार, पहिचान र नियन्त्रणका उपायहरू निकै प्रभावकारी रूपमा लागु गर्ने देशहरूमध्ये पर्छ ।
जर्मनी त्यो भाइरस सङ्क्रमणबाट हुने मृत्युदर न्यून भएका देशहरूमध्ये पनि एक हो । त्यहाँ एप्रिल महिनामा भौतिक दूरीको नियम खुकुलो बनाइएको थियो । तर सङ्क्रमणको पथ पहिचान गर्ने काम जारी राखेको थियो । जुन अगस्ट महिनामा बढेको देखिन्छ ।
त्यहाँकी चान्सलर एङ्गेला मेर्कल र १६ वटा राज्यले अनिवार्य गरिएका स्थानमा मास्क नलगाउनेलाई कम्तीमा ५९ डलर जरिबाना गर्ने नियम बिहीवार जारी गरेका छन् ।
जर्मनीमा अन्य युरोपेली राष्ट्रहरूभन्दा कम दुई लाख ४२ हजार सङ्क्रमित भएका छन् र ९,२९७ जनाको मृत्यु भएको छ ।
जर्मनीमा जस्तै यूके, स्वीट्जरल्याण्ड, अस्ट्रिया र फ्रान्समा पनि कोरोनाभाइरस महामारी नियन्त्रणका निम्ति लगाइएका प्रतिबन्धहरूको विरोधमा प्रदर्शनहरू भएका छन् ।