काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालय, काठमाडौँ, ललितपुर र भक्तपुरले निषेधाज्ञा जारी गरेको आज (बिहीबार) आठ दिन पुगेको छ । दोस्रो पटक जारी गरिएको निषेधाज्ञाको आठौँ दिनसम्म पुग्दा राजधानी शहरको जनजीवन थप कष्टकर बन्दै गएको छ ।
काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दै गएपछि भदौ ३ गते मध्यरातदेखि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका थिए । यस्तै, बुधबार फेरि एक साताका लागि निषेधाज्ञा थप गरी भदौ १७ गते मध्यरातसम्मका लागि कायम गरेको छ । निषेधाज्ञाका कारण उपत्यकाका मुख्य सडकसँगै भित्रि सडकहरू पनि सुनसान देखिन्छन् । अत्यावश्यक कामका लागि बाहेक मानिसहरू घरबाहिर निस्कन पाएका छैनन् । सवारी साधानको आवागमन पनि निकै न्यून छ ।
प्रहरीले मुख्य सडकको चोकचोकमा बसेर सवारी साधनको चेकजाँचलाई कडाइ गरेको छ । सडकमा एम्बुलेन्स, स्वास्थ्यकर्मी, खाद्यान्न ढुवानी, सञ्चार, बैङ्क, बिद्युत, खानेपानीलगायत अत्यावश्यक सेवाका सवारी साधनहरू मात्रै सञ्चालनमा आएको देखिन्छ । भित्री सडकमा पनि सवारी साधनको आवागमन न्यून छ ।
अत्यावश्यक खाद्यान्न, दुधलगायतका पसल विहान ९ बजेसम्म खुलेका छन् । उपत्यकाका तीन वटै जिल्लाका प्रशासनले बिहान सवा ९ बजेसम्म खाद्यान्नलगायतका पसल सञ्चालन गर्न दिने निर्णय गरेको थियो । त्यसैले बिहानको समयमा मानिसहरू आफ्नो घरनजिकको पसलसम्म पुगेर किनेमल गर्ने गरेका छन् ।
यद्यपि कतिपय स्थानमा प्रहरीले बिहानदेखि नै पैदलयात्रीलाई समेत सडकमै ‘होल्ड’ गर्ने गरेको छ । यसले गर्दा अति आवश्यक कामले बाहिर निस्किएका व्यक्तिहरूसमेत प्रहरीको होल्डमा बस्न बाध्य भएका छन् ।